काठमाडौँ । नागपञ्चमी सम्पूर्ण सनातन धर्मावलम्बीहरूको लागि पवित्र दिन हो । यस दिन सबै सनातन धर्मावलम्बीहरू आ–आफ्नो क्षेत्र तथा संस्कृतिमा चलिआएको चलन अनुसार नागको पुजा गर्ने गर्दछन् ।

वैदिक शास्त्रले नागलाई व्रह्माण्डको एक अनिवार्य र महत्वपूर्ण पदार्थ वा जीवनको रूपमा व्याख्या गरेको छ । वेदमा मात्रै नभई रामायण, महाभारत तथा पुराणहरूमा पनि नागको बारेमा अनेक प्रकारका व्याख्या गरिएका छन् ।

नागलाई प्रकृतिसँग निकै समीपमा रहेको जातिको रूपमा पनि बुझिएको छ भने ब्रह्माण्डमा कायम आकर्षणको शक्तिलाई पनि नागको रूपमा बुझिएको छ । त्यसकारण, ब्रह्माण्डमा रहेका पृथ्वी लगायतका खगोलीय पिण्डहरूलाई नागले बाँधेर राखेको छ वा बोकेको छ भन्ने किम्वदन्तीहरू हाम्रो समाजमा चलनमा आएका हुन् ।

शुक्लयजुर्वेदको यो मन्त्रले यही संकेत गरेको छ:

नमोsस्तु सर्पेभ्यो ये के च पृथिवीमनु
। येsअन्तरिक्षे ये दिवि तेभ्यः सर्पेभ्यो नमः ।।

अर्थ : ती सर्प र नागराजहरूलाई नमस्कार छ। जो पृथिवी, अन्तरिक्ष र स्वर्गमा व्याप्त छन्।

वैदिक मान्यता अनुसार नागका आठ कुल वा जाति छन्: अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर कर्काेटक र शंख ।

नागपञ्चमीका दिन यी आठै कुलका नागको पुजा हुन्छ । यसबाहेक, गँगटो, बिच्छी तथा सर्प आदि घर्षण गरी हिंड्ने अन्य विषधारीहरू जीवहरूको पनि आजकै दिन पुजा गरिन्छ ।

किनभने यी विषधारी जीवहरूले प्रकृतिको जीवनचक्रलाई जीवन्त राख्न ठूलो भूमिका निर्वाह गरेका छन् भने विभिन्न कारणले पर्यावरणमा कायम हुने विषतत्व आपूmले ग्रहण गरेर पर्यावरणलाई सफा र स्वस्थ राख्न मदत गरिरहेका हुन्छन् ।

यस सत्यलाई वर्तमान विज्ञानले पनि स्वीकार गरिसकेको छ । केही पन्थहरूमा नागलाई शैतानको रूपमा लिने गरिन्छ । उनीहरू नागलाई जहाँ देख्यो त्यहीँ मारिदिनुपर्छ भन्ने मान्यता राख्छन् । यस मान्यता अनुसार सर्बै जना हिँड्यौँ भने यो पृथ्वीमा रहेका सबै सर्पहरू नाश हुनेछन् ।

सबै सर्पहरू नाश गरेपछि, यो पृथ्वीको पर्यावरणमा उत्पन्न हुने विषतत्वको प्रकोपले मानिस लगायतका अन्य जीव नै लोप हुनेछन् । तसर्थ, नागलाई शैतान देख्नु मानव जातिलाई नै लोप गराउने मुर्ख काम हो ।

साथै, विद्युतीय तरङ्गको प्रभाव कम गराउन सक्ने क्षमता भएका उभयचरमा बस्ने, घर्षण गरी हिंड्ने सरिसृप प्राणीहरूमा अधिक मात्रामा तरङ्गीय क्षमतालाई रोक्न सक्ने सामर्थ्य हुन्छ। मानव जीवनमा आई पर्ने अति वर्षा, भूक्षय, चट्याङ र चट्याङ्बाट घर जोगियोस्, विषादीको दोष नलागोस् भन्नका लागि यी परोपकारी नागहरूको पूजा गरिन्छ।

कसरी हुन्छ नागपुजा ?

श्रावण शुक्ल पञ्चमीका दिन नागहरूको मन्दिर , ईनार , कुवा आदि जलाशयमा पूजा गर्नुका साथै नाग लगायत बिच्छी, गँगटो आदिको विभिन्न आकारमा चित्रहरू कोर्दै घरको ढोका माथि गाईको गोबरले टाँस्दै कपास, दूबो, पैसा टाँसी विधि पूर्वक नागहरूको पूजा गर्दै लावाका साथ दूधको धारा दिने गरिन्छ।

गाईको गोबरमा रोगलाई समन गरी निरोगिता प्रदान गर्ने औषधीय गुण भएकोले गोबरले लिपपोत गर्नु , पञ्चगव्यमा मिलाउनु, चित्रहरू टाँस्ने जस्ता कार्यहरूमा प्रयोग गरिनुले यसको आध्यात्मिकता र आरोग्यता प्रदान गर्ने वैज्ञानिक पक्षलाई उजागर गर्दछ।

तसर्थ, वैदिक सनातनीहरू प्राकृतिक सन्तुलन कायम गरी नकारात्मक ऊर्जालाई सकारात्मक ऊर्जामा परिणत गराउने यस्ता विषधारी जीवहरूको संरक्षण होस् र पृथ्वीमा जीवनले निरन्तरता पाईरहोस् भन्ने भावले नागपुजा गर्ने गर्दछन् ।

तपाईको प्रतिक्रिया