बलिउड सुरस्टार अमिताभ बच्चनले बेला-बेला गरिब, दिनदु:खीलाई सहयोग गर्दै आएका छन्। यतिबेला अमिताभले बिहारका बाढीपीडितका लागि सहयोग गरेका छन्। उनले राहतस्वरुप बाढीपीडितका लागि ५१ लाख सहयोग गरेका हुन्।
बिहारमा केही समय पहिले बाढीले बितन्डा मच्चाएको थियो। सरकारले पीडितलाई राहत प्रदान गरिरहेको छ। उता अमिताभले पनि बाढीपीडितको सहयोगका लागि मुख्यमन्त्री आपत कोषमा ५१ लाख जम्मा गरिदिएका छन्।
यसका साथै अमिताभले बिहारका मुख्यमन्त्री नितीश कुमारलाई अक्टुबर ४ मा एक पत्र पनि लेखेका छन्। पत्रमा उनले उक्त विपदप्रति दु:ख व्यक्त गरेका छन्। उनले पीडितप्रति सहानुभूतिसमेत प्रकट गरेका छन्। उनले पीडितका लागि आफूले सकेकाे सहयोग गरेको पत्रमा उल्लेख गरेका छन्।
बाढीले बिहारको जनजीवन प्रभावित पारेको थियो भने १ सय ६० जनाले ज्यान गुमाएका थिए। बिरामीको संख्या पनि बिहारमा यतिबेला बढिरहेको बताइएको छ। बिहारमा डेंगु प्रभावितको संख्या ९ सय नाघिसकेको छ।







































































