पाकिस्तानी चलचित्र निर्देशक जमशेद महमूदले गत अक्टुबरमा एक मिडिया घरानाका मालिकले १३ वर्षअघि आफूमाथि बलात्कार गरेको आरोप लगाएका थिए । जमशेदको आरोपपछि त्यतिबेला निकै खलबली मच्चिएको थियो ।
सो समय उनले बलात्कारका आरोपीको नाम खुलाएका थिएनन् । सोमबार भने उनले आफूलाई बलात्कार गर्ने पाकिस्तानको चर्चित अङ्ग्रेजी पत्रिका डनका सिइओ हामीद हारुन रहेको खुलासा गरेका छन् ।

जमी भनेर चिनिने जमशेदले शनिबार राति एक नयाँ ट्वीटर अकाउन्ट खोलेका थिए । त्यही अकाउन्टबाट उनले यो आरोप लगाएका हुन् । उनले आफ्नो पुरानो ट्वीटर अकाउन्ट ह्याक भएको कारण नयाँ अकाउन्ट बनाउनु परेको बताएका छन् । उनले आफ्नो ट्वीटलाई फेसबुक पेजमा पनि सेयर गरेका छन् ।

उनले डनलाई आफ्नो पोष्टमा ट्याग गर्दै समाचार प्रकाशित गर्न चुनौतिसमेत दिएका छन् । ‘हो, हामिद हारुनले मेरो बलात्कार गरेको थियो । म अब तयार छु । डन, के तिमी यसलाई प्रकाशित गर्न तयार छौ ?’

तपाईको प्रतिक्रिया