काठमाडौं । सुनसरी धरानकी मोडल सुष्मा राई दुई वर्षदेखि मोडलिङ र मेकअप आर्टिस्टका रूपमा क्रियाशील छिन् । आधा दर्जन फेसन सोमा सहभागिता जनाइसकेकी सुष्मा यतिबेला अंग्रेजी नयाँ वर्ष २०२० को फेसन सोको र्‍याम्प अभ्यासमा व्यस्त छिन् । यसै साता ‘निफ क्रिसमस फेसन सो’मा क्याटवाक गरेकी उनी कुशल डान्सरसमेत हुन् । धरानमा दुई दशकअघि मानबहादुर राई र लक्ष्मी राईकी छोरीका रूपमा जन्मिएकी सुष्माले म्युजिक भिडियोमा पनि काम गरिरहेकी छन् । उनै मोडल सुष्मासँग डब्बु क्षत्रीले गरेको सटकट संवाद आजको राजधानी दैनिकमा छापिएको छ ।

सुष्मालाई मोडल भन्ने कि मेकअप आर्टिस्ट ?
पेसा मेकअप आर्टिस्ट हो । मोडलिङ सोख । अरूभन्दा फरक छु । मोडलको मेकअप पनि गर्छु र आफैं मेकअप गरेर र्‍याम्पमा समेत उत्रन्छु ।

मोडलिङ र मेकअपमध्ये कुन मन पर्छ ?
मेकअप आर्टिस्टबाट दाम कमाएकी छु । मोडल बनेर नाम कमाएकी छु । आफूलाई ‘मोडल’ भनेर चिनाउन पाउँदा खुसी लाग्छ । पैसाका रूपमा म मेकअप आर्टिस्टबाट सन्तुष्ट छु ।

हरेक मोडलको लक्ष्य फिल्ममा आउने हुन्छ नि ?
हो, मलाई पनि एउटा स्थानीय फिल्मबाट प्रस्ताव आएको थियो । तर, फिल्ममा नायिका बन्ने सपना देखेकी छैन । म्युजिक भिडियोसम्ममा जम्ने योजनामा छु । ¥याम्प सोलाई निरन्तरता दिँदै छु । तर, डान्स आर्टिस्टका रूपमा भने म अघि बढ्छु ।

प्रेम, क्लब, चुरोट र रक्सीमा कतिको रुचि छ ?
कुरा सही हो । म पनि कहिलेकहीँ क्लब जान्छु । ‘अकेजन’मा हल्का पिउँछु पनि । तर, चुरोट तान्दिनँ । मलाई चुरोट मन पर्दैन । मेरो ‘ब्वाइफ्रेन्ड’ पनि छैन । किनकि गम्भीर रूपमा प्रेम गर्ने केटा पाएकी छैन ।

कस्तो केटासँग प्रेम गर्ने चाहना हो त ?
साधारण, गम्भीर र जिम्मेवारपूर्ण केटाको खोजीमा छु ।

यस्तो केटा पाइन्छ र ?
नपाएर त अहिलेसम्म सिंगल छु । पाए प्रेम गरूँला । नपाए एक्लो जीवन नै राम्रो छ । टेन्सन त छैन ।

तपाईको प्रतिक्रिया