काठमाडौं। अभिनेता राजेश हमालसँग अहिले फिल्म छैन । त्यसैले, उनी पछिल्लो समय कार्यक्रम सञ्चालन र स्टेज प्रस्तुतिमा व्यस्त रहेका छन् । अभिनेता हमाललाई अन्य कलाकारजस्तो चलचित्रको छायांकनको चटारो छैन । उनी पछिल्लो समय चलचित्र छायांकनभन्दा विभिन्न उत्सव तथा कार्यक्रममा बढी भेटिने गरेका छन् ।

शनिबार काठमाडौंमा सम्पन्न सीजी कामना फिल्म अवार्डमा पनि अभिनेता हमाल कार्यक्रम सञ्चालकका रूपमा प्रस्तुत भएका थिए । उनले कार्यक्रम सञ्चालनसँगै स्टेजमा उत्रिएका हास्य अभिनेता राजा राजेन्द्र पोखरेलसँग केही प्रहसन पनि गरे ।

चार दिनअघिमात्र अभिनेता हमाल नेपालगन्ज महोत्सवमा पुगेका थिए । महोत्सवमा कलाकारका रूपमा प्रस्तुत भएका हमालले नृत्यसमेत प्रस्तुत गरेका थिए । अभिनेता हमाल आगामी फागुनसम्म पनि विभिन्न महोत्सवका लागि अनुबन्धित भइसकेका छन् ।

पछिल्लो एक वर्ष यी अभिनेता को बन्छ ?

करोडपति कार्यक्रममा व्यस्त रहे । उनी सो कार्यक्रमको प्रस्तोता थिए । सो कार्यक्रमकै लागि भनेर यी अभिनेताले आफूलाई आएको चलचित्रको प्रस्ताव पनि स्विकारेनन् । को बन्छ ? करोडपति कार्यक्रम सकिएको करिब ६ महिना भयो । आजभोलि अभिनेता हमाल स्टेज कार्यक्रममा केन्द्रित भएका छन् ।

यो वर्षभरि अभिनेता हमालको कुनै फिल्म छैन । उनले चलचित्रमा अभिनय नगरेको पनि आधा दशक हुन लाग्यो । पछिल्लो समय उनले चलचित्र बाग्मतीमा मुख्य भूमिका निर्वाह गरेका थिए । चार वर्षअघि रिलिज भएको यो चलचित्रले त्यतिबेला व्यवसायिक सफलत हासिल गरेन । अभिनेता हमालले आधा दशकअघि चलचित्र ‘शकुन्तला’मा महिला पात्र बनेर अभिनय गरेका थिए । सो चलचित्रले चर्चा निकै पाए पनि व्यवसाय भने राम्रो गर्न सकेन । पछिल्लो यी दुई सिनेमा व्यावसायिक रूपमा सफल हुन नसकेपछि अभिनेता हमालले भनेको जस्तो चलचित्र पाएका छैनन् ।

यति बेला छायांकन भइरहेको चलचित्र ‘प्रेम गीत–३’मा अभिनेता हमाललाई अर्का अभिनेता प्रदीप खड्काको पिता तथा राजाको भूमिकामा प्रस्ताव गरिएको थियो । तर, हमालले प्रदीप खड्काले गर्न लागेको भूमिकाप्रति चासो देखाए । त्यो भूमिका प्रदीपलाई दिएको कारण निर्माण पक्षले उनलाई राजाको भूमिकामा अनुबन्धित गराउन खोजेको थियो । तर, हमाल मानेनन् । यो चलचित्र छायांकन हुने बेलामा आफ्नो अस्ट्रेलियाको टुर भएको भन्दै उनले प्र्रेम गीत ३ खेलेनन् । जसका कारण हमाललाई भनिएको भूमिका अर्का अग्रज अभिनेता शिव श्रेष्ठले निर्वाह गरे ।

चलचित्र प्रेम गीत मात्र हैन, अभिनेता हमाललाई अन्य केही फिल्मबाट पनि अभिनयमा प्रस्ताव आएको थियो । तर, दोस्रो भूमिका भएका कारण उनले अभिनय गरेनन् । अभिनेता हमाल अहिले पनि चलचित्रमा मुख्य नायकको भूमिकाको प्रतिक्षामा छन् । तर, निर्माता निर्देशकले उनलाई मुख्य नायकका रूपमा सिनेमा लिन सकेका छैनन् । जसका कारण यी अभिनेताले भनेको जस्तो फिल्म नपाएको आधा दशक हुन लाग्यो ।

चलचित्र नपाए पनि अभिनेता हमाल खाली छैनन् । उनी देश विदेशमा हुने विभिन्न मेला, महोत्सव, कन्सर्ट र अन्य कार्यक्रममा व्यस्त हुने गरेका छन् । पछिल्लो समय अभिनेता हमालको कमाइ चलचित्रमा अभिनय गर्दाको भन्दा धेरै छ । नेपालमै हुने महोत्सवहरूमा उनी एक लाखदेखि डेढ लाखसम्म पारिश्रमिक लिएर सहभागी हुने गर्छन् । यस्तो, कार्यक्रममा उनले एक दुई ओटा नृत्यसँग केही संवादयुक्त अभिनय प्रस्तुत गर्छन् । महोत्सवमा अभिनेता हमाललाई हेर्ने दर्शकको भीड लाग्ने भएका कारण पनि उनको माग महोत्सवमा बढेको हो ।

तपाईको प्रतिक्रिया