काठमाडौं। २०६४ सालमा प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘पर्खि बसें’को नयाँ सिरिज बन्ने भएको छ।

गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोसंगको सहकार्यमा ‘पर्खि बसें २’ निर्माण गर्ने भएको हो। राजबल्लभ कोइराला, युनाउप्रेती, निखिल उप्रेती स्टारर ‘पर्खि बसें’ गोपीकृष्ण मुभिजकै व्यानरमा निर्माण भएको थियो।

बिहीबार गोपीकृष्ण मुभिजका तर्फबाट निकिता पौडेल र हिमालयन मुभी स्टुडियोका बिनोद सापकोटाबीच सहमती भएको हो। ‘पर्खि बसें २’मा निकिता र बिनोद निर्माता रहनेछन् भने प्रदीप दाहाल र तिर्थ प्रसाद पौडेल सहनिर्माताको रुपमा रहनेछन्।

‘पर्खि बसें’लाई दीपक श्रेष्ठले निर्देशन गरेका थिए भने यसको दोस्रो सिरिजलाई ‘लभ डायरिज’ निर्देशक सौरभ चौधरीले निर्देशन गर्ने भएका छन्। फिल्ममा कथा पनि उनकै रहनेछ। पहिलो सिरिजझैँ दोस्रोमा पनि सांगीतिक प्रेम कथा देखाइने सौरभले बताए।

फिल्म अल नेपाल वितरणको जिम्मा करण श्रेष्ठ अर्थात रीच इन्टरटेनमेन्टले पाएको छ। फिल्ममा रहने कलाकार र प्राविधिक औपचारिक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गर्ने तयारीमा निर्माण टिम रहेको छ। यसको रिलिज २०७७ सालमा हुनेछ। ‘पर्खि बसें’ रिलिज भएको १३ वर्षपछि यसको दोस्रो सिरिज दर्शकमाँझ आउने भएको हो।

तपाईको प्रतिक्रिया