काठमाडौं – हरेक शुक्रवार नेपाली फिल्म जुधेर निर्माता मारमा पर्ने गर्थे । तर, यतिबेला भने नेपाली फिल्म हलमा कुनै फिल्म रिलिज भएका छैनन् ।

गत हप्ता पनि नेपालमा कुनै नेपाली फिल्म रिलिज नहुँदा हिन्दी फिल्मकै पकड देखियो । यो शुक्रवार पनि नेपालमा हिन्दी फिल्मकै दबदबा रहने पक्काजस्तै भएको छ ।

सलमान खानको फिल्म ‘दबंग ३’ पछि नेपालमा एकपछि अर्को गर्दै हिन्दी फिल्म हिट भएका छन् । अक्षय कुमारको ‘गुड न्यूज’ ले पनि नेपालबाट राम्रो कमाइ गर्‍यो ।

पछिल्लो समय रिलिज भएका ‘पोइ पर्‍यो काले’, ‘सरौतो’ लगायत आधा दर्जन रिलिज भएका फिल्मले दर्शकको साथ पाउन सकेनन् । हिन्दी फिल्मले भने मल्टिप्लेक्स हलमा राम्रो कमाइ गरिरहेका छन् ।

आज शुक्रवारदेखि हलमा कुनै नेपाली फिल्म रिलिज नभए पनि बलिउड फिल्म ‘छपाक’ र ‘तान्हाजी’ ले पर्याप्त शो पाएका छन् । हलमा हिन्दी फिल्मकै दबदबा छ ।

यस्तै केही हलिउड फिल्म पनि मल्टिप्लेक्स हलमा रिलिज भएका छन् ।

यद्यपि केही नेपाली हलमा भने प्रेम संसार, दम, जंगभूमि लगायत प्रदर्शनरत छन् । यी फिल्मको रिलिजअघि कुनै चर्चा छैन । बरु दर्शकमाझ हिन्दी र अङ्ग्रेजी फिल्मले छाप छोडेका छन् ।

तपाईको प्रतिक्रिया