काठमाण्डाै – शताब्दी पुरुष सत्यमोहन जोशीले साँस्कृतिक ज्ञान पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नु आवश्यक रहेको बताउनुभएकाे छ ।

काठमाण्डौको नैकापमा कमला कार्की स्मृति प्रतिष्ठानले शनिबार आयोजना गरेकाे कार्यक्रममा उहाँले नयाँ र पुराना पुस्ताबीच साँस्कृतिक आदान प्रदानमा जोड दिनुभयाे ।

पछिल्लो समय नयाँ पुस्तामा मुलुकको कला संस्कृति तथा ऐतिहासिक धरोहरहरुबारे पर्याप्त अध्ययन अनुसन्धान हुन नसकेको जोशीले गुनासाे गर्नुभयाे ।

कार्यक्रममा प्रतिष्ठानले आ–आफ्नो क्षेत्रमा योगदान पुर्‍याउने पत्रकार आरती लम्साल, गायिका सृजना केसी एवं भलिबल खेलाडी सलिना श्रेष्ठलाई जनही दश हजार नगदसहित सम्मान गरेकाे थियो ।

श्रेष्ठ राष्ट्रिय भलिबल खेलाडी हुन् भने लम्साल न्युयोर्क सिटी पोष्टका नेपाल सम्पादक हुन् ।

प्रतिष्ठानले लामो समयदेखि असहाय महिलाहरूको संरक्षणमा योगदान पुर्याउँदै आएको निसहाय सहारा केन्द्रकी अध्यक्ष सगुन शाहलाई असी हजार रुपैँयासहित सम्मान गरेको थियो ।

सम्मानित हुने अन्यमा चन्द्रागिरी नगरपालिका-१४ र १५ का जेष्ठ महिला धनमाया महर्जन र मिठु केसी हुनुहुन्थ्याे । उहाँहरु पनि जनही दश दश हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष मोहन कार्कीले सम्मान र पुरस्कारलाई निरन्तरता दिँदै राष्ट्रिय स्तरमा समेत प्रतिभाहरूको प्रोत्साहन गर्ने बताउनुभयाे । कार्यक्रममा संघीय सांसद कृष्ण गोपाल श्रेष्ठ तथा उमेश श्रेष्ठलगायतको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया