विराटनगर ÷ साहित्यकार तारानाथ पोखरेलद्वारा लिखित ‘विविधावली’ नामक पुस्तकको लोकार्पण गरिएको छ ।
विराट साहित्य संगम विराटनगरले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा पोखरेलको चौथो कृृतिका रुपमा प्रकाशित ‘विविधावली’को लोकार्पण गरिएको हो । आयोजक विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार बलराम पोखरेल, वरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्ती, अग्रज साहित्यकार खेम नेपाली, साहित्यकार भूषण ढुंगेल, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका महाप्रबन्धक विजयहरि शर्मालगायतले संयुक्त रुपमा कृति लोकार्पण गरे । ‘विविधावली’का विषयमा समालोचक हरि कट्टेलले समीक्षा गरेका थिए । उनले ‘विविधावली’भित्र राष्ट्रप्रेम, नारीवादी, प्रकृति प्रेम, जातीय विभेद, वर्तमान राजनीति, आर्थिक, धार्मिक र सांस्कृतिक विकृतिलगायतलाई समेट्ने प्रयास गरेको बताए । संग्रहभित्रका हरेक सिर्जनामा राष्ट्रप्रेम र प्रकृति प्रेम प्राप्त हुने उनको भनाइ थियो । त्यस्तै संग्रहका सिर्जनामा शृंगारिता उत्कृष्ट रुपमा आएको समालोचक कट्टेलले उल्लेख गरे । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका साहित्यकार बलराम पोखरेल, वरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्ती, अग्रज साहित्यकार खेम नेपाली, साहित्यकार भूषण ढुंगेल, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका महाप्रबन्धक विजयहरि शर्मा, साहित्यकार रामबाबु दाहाल, भवानीशंकर पोखरेल, गोपाल निर्भीकलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । ८५ वर्षको उमेरमा पनि लेखक पोखरेलभित्र साहित्य सिर्जनामा युवा जोश भेटिनु प्रशंसनीय भएको कवि एवं पत्रकार मीनकुमार नवोदितले बताए ।
८० पृष्ठको ‘विविधावली’भित्र कविता, मुक्तक, गजल र लघुकथा समेटिएको छ । साहित्यकार पोखरेलको यसअघि ‘सितारा’ गजलसंग्रह (२०७१), ‘तिम्रो यादमा’ गजलसंग्रह (२०७६) र ‘खेल रहेछ जिन्दगी मुक्तकसंग्रह (२०७९) प्रकाशित भइसकेका छन् । आधा दर्जनभन्दा बढी संस्थामा आबद्ध पोखरेल विभिन्न पुरस्कार र सम्मानबाट समेत सम्मानित भइसकेका छन् ।
तारानाथ पोखरेलको चौथो कृति ‘विविधावली’को लोकार्पण
