काठमाडौं । हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । गायिका आस्था राउत प्रहरीको फरार सूचीमा परेको घटनाले बहस पाइरहेका बेला अर्का कलाकार माग्ने बुढा ट्राफिक प्रहरीको कारबाहीमा परेका हुन् । तर गायिका आस्थाको पक्ष र विपक्षमा बहस भइरहे पनि माग्ने बुढाले आफूले गल्ती गरेकै कारण कारबाहीमा परेका बताएका छन् ।

बुधबार बिहान सिट बेल्ट नलगाइ कार चलाएपछि उनलाई ट्राफिक प्रहरीले चिट काटेको हो । यसपछि दिउँसो उनी महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखाना पुगेका छन् । त्यसक्रममा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले आफूले गल्ती गरेकै कारण कारबाहीमा परेका जानकारी दिए । यातायात व्यवस्था ऐनको प्रावधानअनुसार उनलाई ५ सय रुपैयाँ जरिवाना गरिएको छ ।

चिट काटेका ट्राफिक प्रहरी जवानले आफूसँग मिठो बोली, वचन गर्दै ‘तपाइँले सिट बेल्ट लाउनु भएको रहेनछ कारबाही गर्छु है’ भनेको उनले बताए । त्यसपछि आफूले कारबाही गर्न मञ्जुरी जनाएको बताए ।

महाशाखाका पुगेका माग्ने बुढाले ट्राफिक प्रमुख एसएसपी भिमप्रसाद ढकाललाई धन्यवाद दिँदै चिट काट्ने जवानलाई भेट्ने इच्छा जनाए । उनको इच्छाअनुसार चिट काट्ने ट्राफिक प्रहरी जवान सन्तोष चौधरीलाई माग्ने बुढाले भेटेर उनले राम्रो व्यवहार र वचन गरेको भन्दै आभार व्यक्त गरे ।

तपाईको प्रतिक्रिया