काठमान्डौ , दक्षिण कोरियाकी एक ६ वर्षीया बालिकाले हालै साढे नौ अर्ब कोरियाली वनमा घर किनेपछि उनी चर्चामा छाएकी छन्। बोरम नामक यी बालिकाका संसारभर तीन करोडभन्दा बढी फलोअर छन्। उनले कोरियाली राजधानी सिओलको पाँच तले सो घर खरिद गरेकी हुन्। यी बालाका दुई वटा युट्युब च्यानल छन्। यी दुई च्यानलबाट मासिक रुपमा कम्तीमा अढाई लाख डलर कमाई हुने गरेको छ। यी दुई च्यानललाई यी बालिका आफैँले व्यवस्थापन गर्ने भने होइन। यिनका बाबुआमा दुवै मिलेर व्यवस्थापन गरिरहेका हुन्छन्।
यतिबेला चर्चामा आएको यो बिल्डिङ भने सन् १९७५ मा बनेको हो। २५८.३ स्क्वायर फिट क्षेत्रफलमा फैलिएको यो भवन किनेपछि उनी चर्चामा आएकी हुन्। कोरियामा सबैभन्दा बढी पछ्याइएकी बालिकामध्येमा पर्ने उनले आफूजस्तै बालबालिकाका लागि मनोरञ्जन दिलाउन खेलौनाको रिभ्यु गर्ने गर्छिन्। अर्को च्यानलमार्फत् भने खानेकुराका बारेमा बताउने गर्छिन्। कहिलेकाहीँ आफैँ पकाउने र चाख्ने गर्छिन्। त्यसो त उनको भिडियोमाथि चर्को विरोध पनि नहुने होइन। यति सानी बालिकाको श्रमको शोषण भइरहेको केहीको धारणा छ। सन् २०१७ मा सेभ दि चिल्ड्रेन कोरियालाई कसैले पोल लगाइदिएको थियो।
खासगरी बाउआमाको पैसा चोरेको, सानै उमेरमा गाडी चलाएकोजस्ता भिडियो प्रमाणका रुपमा राखिएको थियो। पछि उनका बाबुआमाले माफी माग्दै भिडियो हटाएका थिए। युट्युबमा भिडियो हालेर कमाउने धेरै बालबालिका छन्। अन्य युट्युबरजस्तै उनले पनि भिडियोमा आउने विज्ञापनबाट पैसा कमाउने गर्छिन् भने कतिपय उत्पादनले मोडलिङका लागि सम्झौता गर्ने गर्छन्। बोरमले यति सानै उमेरमा गरेको कमाइका कारण बाउआमा मख्ख नपर्न केहीको सुझाव छ। उमेर बढ्दै जाँदा यस किसिमको प्रसिद्धिका कारण उनीहरुमा तनाव, अवशादजस्ता अनेकौँ समस्याले गाँज्न सक्नेतर्फ विज्ञहरु सचेत गराउँछन्। सुक्रबार बाट




































