अलका मल्ल /काठमाडौं, नेपाल |

आमा !
संसारकै रुपमती गुणकारी
“आमा” जति वर्णन गरेपनि कमै
सेतो पहिरनमा परिवर्तन हुन पुगेकी
सन्ततिको मुहारनै जिन्दगी ठानेर​​​
जीवन संघर्षमा तल्लिन आमा ।

जतिसुकै हुन् खाली पानाहरु
वर्णनले टुङ्गयाउन कठिनै हुन्छ
ममतामयी मेरी आमा
आमाको महिमा म लेखौं कसरी ?

कति थामिरहिन् होला इच्छा
अनि अनगिन्ति सपनाहरु
देवीजस्ती मेरी आमा
सँधै सन्तुष्ट र सहनशील
स्वभाव धारण गरिरहेकी
मेरी आमाको वर्णन
जत्ति लेख्न खोज्यो कमै लाग्छ ।

“आमा”अनमोल शब्द
लेखिरहन मनलाग्छ
साहस र उत्साह लाग्छ आमाको स्पर्श
आमा बिना सुरक्षित हुने भए
किन रुन्छन् र आमा भनी सन्ततिहरु ?!

भन्छन् आमाले सन्तति हुर्काउँछे
अनि बुढेशकालमा आमा
बालक बन्छे र सन्तानको भरोसामा
बाँकी जीवन बिताउँछे ।

तर मेरी आमाले
अझै हुर्काइरहेको बोध हुन्छ
हर निद्रा आमाको झ-झल्को
अनि स्पर्श दिन सक्ने
कति महान व्यक्तित्व ।

कसैको कुभलो नचिताउने
सप्रेम सबैलाई बोलाइरहने आमा
हरेक नसा नसामा आमा
ट्याटु खोपिदिन मन लाग्छ ।

आमा लाग्छ भगवान्
बुद्घको रुप धारणमा हुन्छिन्
त कहिले लक्ष्मी बास गरिरहेकी
हरेक मानव भगवान् दर्शनले
अहमता बोध गरिरहन्छन्
तर मेरी आमाको अंगालो
म हरपल कुर्दै बसेकी हुन्छु ।

कति बन्धनमा राखिहोलिन्
चाहना र खुसीहरु
कति भोगेकी होलिन् एकल यात्रा
मात्र हामी सन्ततिको निम्ति ।

“मेरी आमा मेरो जिन्दगी”
सन्तानको घाउममा सँधै
मलम लगाइरहने
जीवनका अप्ठ्यारा उताव चढावमा
सन्ततिको खुसी कल्पना गरिरहने ।

मेरी आमा धर्ती माताभन्दा उच्च
आमाको लामो आयुको कामनासँगै
म सँधै स्वास फेरिरहेकी हुन्छु ।

आमा हुन् त तिमीजस्ती
हरेक धड्कन
अद्भु्त् माया आभाष हुने
युद्घ जित्ने परिभाषा सिकाउने ।

सत्यतामा हिंड्न सिकाउने
शक्तिको स्वरुप हौ तिमी
खुट्टामा ठोक्किने ढुंगाहरु पनि
देवता मानेर पुज्न सिकाउने ।

निस्सासिएको घडीमा
फूल फुलेझैं दीप ल्याउन सक्ने
मृदु भाषा बोल्न सिकाउने ।

जाडोमा आकाश ओढाउँछिन्
अप्ठेरोमा धर्ती बिछ्याउँछिन्
अन्यायका बिरुद्घ लड्ने
मेरी आमा ।

तपाईको प्रतिक्रिया