नायक राजेश हमाललाई अधिकांश निर्देशकले एउटै शैलीमा प्रस्तुत गरिरहेका थिए । राजेश हमाल पनि जसोतसो ४ वटा गीत, ४ वटा फाइट भएका चलचित्रमै रमाइरहेका थिए । सोही समयमा उनको गेटअप एक निर्देशकले चलचित्र ‘दि यूगदेखि यूगसम्म’बाट परिवर्तन गरे । राजेश हमालको कपाल फरक बनाए, गेटअप परिवर्तन गरिदिए । ती, निर्देशक थिए दीपेन्द्र के खनाल ।

पहिलो चलचित्रमा नै केही फरक गर्न खोजेका दीपेन्द्रले दोश्रो चलचित्र ‘धर्मा’मा नायिका मनिषा कोइरालालाई अभिनय गराए । ‘फेरि भेटौला’ चलचित्रमा काम गरेपछि बलिउड हानिएकी मनिषाले यसपछि नेपाली चलचित्रमा काम गरेकी थिइनन् । दीपेन्द्रले मनिषालाई नेपाली चलचित्रमा फर्काए ।

उनै, दीपेन्द्रले अर्को चलचित्र ‘भिजिलान्ते’लाई थ्रीडी प्रविधिमा निर्माण गरे । हरेक चलचित्रमा फरक गर्न रुचाउने दीपेन्द्रले दर्शकको सर्वाधिक तारिफ चलचित्र ‘पशुपति प्रसाद’बाट पाए । ४ सय मिटरको वरिपरीमै खिचिएकी यो चलचित्रको कथावस्तुले दीपेन्द्रको उचाई बढायो ।

उनै, दीपेन्द्र यतिबेला चलचित्र ‘आमा’ मार्फत दर्शकमाझ आउँदैछन् । फागुणको ९ गतेबाट रिलिज हुन लागेको यो चलचित्र दीपेन्द्रका लागि अर्को परिक्षा हो । नेपालको पहिलो चलचित्र ‘आमा’कै नाम सापटी लिएर उनले जुन खालको जोखिम मोलेका छन्, यसमा असफल हुने छुट उनीलाई छैन । किनकी, ‘आमा’को मर्म र वजनले उनलाई थिच्नेछ । उनै, दीपेन्द्रसँग हामीले उनको सोच, ‘आमा’को जन्म र चलचित्र यात्राको बिषयमा कुराकानी गरेका छौः

१. तपाइले ‘आमा’को जन्म कसरी गराउनुभयो ?
यो एकदमै गाह्रो प्रश्न हो यो । म धेरै कम बोल्छु तर दिमागमा धेरै कुरा खेलाउँछु । मेरो दिमागमा के कुरा खेलिरहेको छ भन्ने कुरा म कसैलाई पनि भन्दिनँ । म जे जे कुरा सोच्छु, त्यसलाई जोड्दै लैजान्छु । म समाचार र किताव खुबै पढ्छु । त्यसमा भेटिएका साना साना कथा जोड्दै लैजान्छु । जब, यी सबै कुरा बटुल्दा बटुल्दा एउटा कथा बन्छ अनी म लेख्न थाल्छु । ‘आमा’ यसरी नै बुनिएको कथा हो । यो हाम्रो घरको, समाजको कुरा हो ।

२. यो ‘आमा’को कथा हो कि ‘आमाहरु’को कथा हो ?
हो, यो चलचित्रको केन्द्रमा मिथिला शर्मा पनि हुनुहुन्छ । सुरक्षा पन्त, सरिता गिरीजी पनि हुनुहुन्छ । यो आमाको कथा होइन, आमाहरुको कथा हो । सुरक्षा पन्त आमा बन्नको लागि संघर्ष गरिरहनुभएको छ, मिथिला दिदीको कथा अर्कै छ । चलचित्र हेरिसकेपछि दर्शकले यो कुरा वुझ्नुहुन्छ ।

३. तपाई ‘आमा’को प्रचारमा हुनुहुन्छ ? तर आफ्नो अघिल्लो चलचित्र ‘पशुपति प्रसाद’को क्रेडिट नै किन बेचिरहनुभएको छ ?
मैले ‘पशुपति प्रसाद’को क्रेडि बेचेकै छैन । जब, दर्शक र मिडियाकर्मीले ‘पशुपति प्रसाद’ जस्तो छ त चलचित्र भनेर सोध्नुहुन्छ, यसपछि मैले भन्नैपर्छ । ‘पशुपति प्रसाद’ पनि समाजको एउटा अध्यारो पाटोको कथा थियो, ‘आमा’ले पनि यस्तै एउटा कथा उठान गरेको छ । तर, मैले ‘पशुपति प्रसाद’को क्रेडिट बेचेको भन्ने कुरामा सत्यता छैन ।

४. यो चलचित्र अहिले उच्च अपेक्षामा हुनुको मुख्यकारण, तपाई हो । आम दर्शकले तपाइमाथि यत्ती धेरै भरोसा राख्दा दबाब कत्तीको भैरहेको छ ?
जतिबेला चलचित्रको ट्रेलर सार्वजनिक भएको थिएन, म थोरै दबाब महशुश गरिरहेको थिएँ । चलचित्रको महत्वपूर्ण विधा लेखन, छायांकन र निर्देशन नै मैले गरेको छु । यसैले मलाई थाहा छ कि, म चुके भने दर्शक र चलचित्र क्षेत्रप्रति नै ठूलो घात हुनेछ ।

तर, जब चलचित्रको ट्रेलर आयो, जुन खालको हाइप बन्यो यसपछि भने ममा वेचैनी आजसम्म पनि छ । म यत्ती धेरै वेचैन यसअघि कहिले भएको थिइनँ । तर, यसले मलाई फाइदा पनि दिएको छ । मैले चलचित्र भित्र धेरै कुराहरु परिवर्तन गर्न पाएँ । २–३ मिनेट दृश्य काटेर फाले । केही जोडेँ । पुरै व्याक ग्राउण्ड स्कोर नै परिवर्तन गरेँ । अहिले हेर्दा दर्शकले राख्नुभएको अपेक्षा पूर्ण रुपमा पुरा हुन्छ भन्ने लागेको छ ।

५. पछिल्लो समय कमेडी, एक्सन चलचित्र बढी चलेका छन् । तपाइले सिमित कोठाभित्र केही पात्रमा सिंगो चलचित्र बनाउनु भएको छ ? दर्शकले करिब २ घन्टा चलचित्रसँग जोडिराख्न सहज होला त ?
दर्शक लोकेशनका कारण रमाउने भन्ने नै हुँदैन । मुख्यकुरा भनेको, चलचित्र दर्शकसँग कसरी जोडिएको छ भन्ने हो । दर्शकसँग चलचित्र जोडियो भने एउटा कोठामा मात्र खिच्दा पनि उत्कृष्ट हुन्छ । मेरो एउटै मान्यता छ, चलचित्रले दर्शकलाई आफूसँग जोड्न सक्नुपर्छ । म यसैलाई आधार बनाएर चलचित्र बनाउँछु । मलाई थाहा छ, फर्मुलामा बसेर चलचित्र बनाउन सजिलो नै हुन्छ ।

तर, ‘पशुपति प्रसाद’ ४ सय मिटरको वरिपरीमा रहेर बनाइएको चलचित्र हो । चलचित्र हेर्दा दर्शकले लोकेशन याद गर्नुभएन । यसरी चलचित्र बनाउँदा सानो सानो कुरा याद गर्न पाइन्छ । गर्न सकियो भने यो शैलीमा जस्तो आनन्द कही पनि हुँदैन ।

६. फरक प्रसंगको एउटा प्रश्न सोधे । अहिले चलचित्र क्षेत्रमा सिनेमा कला र व्यापार मध्ये के हो भन्ने बहस छ ? तपाइलाई सिनेमा के हो भन्ने लाग्छ ?
मैले वुझेको कुरा के हो भने, चलचित्र भनेको कलाको व्यापार हो । फेरि एउटा प्रश्न छ के, कला केलाई भन्ने हो ? जुन चलचित्र दर्शकले मन पराउनुहुन्छ, त्यो उत्कृष्ट हो । जब, हलमा टिकट काटेर चलचित्र हेरिन्छ, त्यो कमर्सियल हो । चलचित्रमा कमर्सियल भ्यालु भएन भने त्यो चल्दैन । यो बहस ठूलो छ र यो चलिरहन्छ ।

७. हुनत, एउटा निर्देशक तृप्त कहिले पनि नहोला । तर, ‘आमा’सम्म आइपुग्दा तपाइ आफै आफ्नो कामबाट कती तृत्त हुुनुहुन्छ ?
तृत्त त म कुनै चलचित्रबाट पनि हुदिनँ । मेरो चलचित्र निर्देशनको ग्राफ ओरालो लागेको छैन । म अझै पनि चलचित्र सिकिरहेको छु, वुझिरहेको छु । एउटा चलचित्र बनाएर तृत्त बन्ने हो भने त, सन्यास लिए भैहाल्छ । हामीमा अहिले पनि प्रोडक्शन भ्यालु नै छैन । मागेर, हात फैलाएर, चोरेर, चिट गरेर चलचित्र बनाउनु पर्छ ।

मलाई प्रोडक्शनमा बसेर चलचित्र बनाउन मन लागेको छ । ‘आमा’कै कुरा गर्नुहुन्छ भने पनि, यसमा पूर्ण प्रोडक्शनमा बसेर काम गर्न पाएको भए मैले अर्कै चलचित्र बनाउथ्य होला । तृप्त हुन अझै समय लाग्छ । तर, मलाई हिजोआज डर भने लाग्न थालेको छ । पहिले मलाई यस्तो डर लाग्दैनथ्यो । चलचित्र निर्देशक भनेको के हो भनेर कसैले मलाई सोध्यो भने मैले बल्ल वुझ्न थालेको छु । यो बाटो त लामो छ ।

८. तपाइको डर के त ?
मैले सुरुवाती दिनमा चलचित्र भनेको चल्ने चित्र हो भनेर मात्र वुझेको थिएँ । निर्देशकले एक्सन र कट मात्र भन्ने हो भन्ने लाग्थ्यो । तर, विस्तारै वुझ्दै जाँदा थाहा भयो कि, निर्देशक भन्ने व्यक्ति त अर्कै रहेछ । धेरै ज्ञान र धेरै त्याग गर्नुपर्ने रहेछ । समाज, विश्व, राजनीतिलाई हेर्ने शक्ति राख्नुपर्ने रहेछ । चल्ने चलचित्र बनाउन सजिलो होला, तर चलचित्र बनाउन गाह्रो छ । यसैले मलाई डर लाग्छ ।

९. ‘पशुपति प्रसाद’ बनाएपछि तपाइले यो विचमा बनाउनुभएको केही चलचित्रमा तपाई भड्किनुभयो ? त्यो वाध्यता थियो या दबाब ?
व्यापारिक रुपमा त मेरा चलचित्र सुपरहिट भैसकेका छन् । ‘पशुपति प्रसाद, चपली हाइट, झोले’ सबै हिट छन् । तर, मेरो चलचित्र बाहेक अरु कुनै पनि पेशा छैन । म जती पनि समय दिन्छु, यही क्षेत्रमा नै दिन्छु । मेरो पनि परिवारलाई लिएर कर्तव्य छन् । मैले आफ्नो जिन्दगी पनि चलाउनुपर्यो । तर, ‘आमा’ निर्देशन गरेपछि मैले के कुरामा अडान लिएको छु भने, मलाई मनपर्ने चलचित्र मात्रै बनाउँछु । अरु चलचित्रमा बहक्किन्न ।

१०. नेपालमा थोरै मात्र निर्देशक छन्, जो सेलिब्रिटी छन् । उनीहरुकै नाममा चलचित्र हेर्न दर्शक हलसम्म आउँछन् । एउटा निर्देशक सेलिब्रिटी बन्न कत्ती गाह्रो रहेछ ?
मलाई सेलिब्रिटी शब्दमै अप्ठ्यारो लाग्छ । चलचित्र २ प्रकारका हुन्छन् । एउटामा निर्देशक र अर्कोमा स्टार झल्कन्छ । स्टार झल्किने चलचित्रमा निर्देशकको कुनै पनि महत्व हुँदैन । मैले, निर्देशक झल्किने चलचित्रमा काम गरेर नै दर्शकले मलाई माया दिनुभएको हो । मलाई यही कुरामा बढी दबाब हुन्छ । जब म चलचित्र चल्दा भीडमा जान्छु, दर्शकले कलाकार छाडेर मलाई खोज्नुहुन्छ । सायद, यही कुराले नै मलाई खुशी दिएको छ र म कामप्रति अझै गम्भिर भएर लागेको छु ।

११. ‘आमा’ रिलिज भएपछि यसले समाजमा कस्तो प्रभाव पार्ला भन्ने लाग्छ ?
मलाई धेरै नै ठूलो परिवर्तन ल्याउँछ भन्ने लाग्छ । चलचित्रको ट्रेलर सार्वजनिक भएपछि नै यसले समाजमा परिवर्तन ल्याउन थालिसकेको छ । ट्रेलरले नै परिवारमा आत्मियता बढाउन थालेको छ । चलचित्रमा छोरीले क्रिया गरेको कुरा छ, छोरा मान्छेको मनोभावनाको कुरा छ ।

यो चलचित्र रिलिजपछि समाजले सोच्ने कुरामा परिवर्तन हुन्छ । हामीले, ‘आमा’सँग एकदिन विताउनुहोस् भनेका छौ । एकचोटी चलचित्र हेर्दा आमासँग बसेर हेर्नुहोस्, जीवनको सुन्दर पल भेट्नुहुन्छ । मलाई चलचित्र रिलिजपछि धेरै आमाहरु वृद्धाश्रमबाट फर्किनुहुन्छ भन्ने लाग्छ ।

१२. तपाइलाई ‘आमा’ शिर्षकको इज्जत राख्नुपर्ने दबाब छ नी ?
मैले जतिबेला चलचित्रको नाम ‘आमा’ राख्ने निर्णय गरेँ, यो नामले थिचेर म मरेँ भने मलाई जसले पनि थुक्छ भन्ने थाहा थियो । मैले ‘आमा’को मर्म र यसको महत्वलाई वुझेको छु । ट्रेलरबाट दर्शकले जुन खालको अपेक्षा राख्नुभएको छ, त्यो अपेक्षा पुरा हुन्छ । मैले चलचित्रमा कथा भन्ने शैलीलाई परिमार्जित गरेको छु । हामीमा चलचित्र हेर्ने शैली बल्ल विकसित हुँदैछ । ‘आमा’ले यसमा पनि सार्थकता दिन्छ भन्ने लागेको छ ।

१३. ‘आमा’ले पार्ने दिर्घकालिन प्रभाव के होला ?
अहिले चलचित्र चलिरहेका छैनन् । यसैले, यो चलचित्र चल्यो भने चलचित्र क्षेत्रले तुरुन्तै राहतको श्वास पाउला । तर, त्यो भन्दा पनि यो चलचित्रले अब आउने चलचित्र मेकरलाई बाटो देखाउँछ । हामीले चलचित्र यसरी पनि बनाउन सक्छौ भन्ने बाटो देखाउँछ । सामाजिक परिवर्तनमा पनि यसले ठूलो असर राख्छ ।

Sorce Onlinekhabar.com

तपाईको प्रतिक्रिया