काठमाडौँ — नयाँ संस्करणका लागि मिस नेपालको खोजी सुरु भएको छ । दि हिडन ट्रेजरले मिस नेपालमार्फत बर्सेनि देशको प्रतिनिधित्व गराउँदै मिस वर्ल्ड, मिस युनिभर्स, मिस अर्थ, मिस इन्टरनेसनल र मिस सुप्रानेसनलमा प्रतिस्पर्धी तयार पार्दै आएको छ । सन् २०२० को मिस नेपालका लागि सहभागीले चैत १४ भित्र आवेदन दिइसक्नुपर्ने आयोजकले जनाएको छ ।

नयाँ मिस नेपालको आवेदन घोषणा कार्यक्रममा मिस नेपाल २०१९ का विजेताहरू ।

राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा गरिएको पत्रकार सम्मेलनमा हिडन ट्रेजरले अफिसियल वेबसाइटमार्फत पनि नि:शुल्क आवेदन भर्न सक्ने व्यवस्था मिलाएको यसका अध्यक्ष दिवाकर राजकर्णिकारले जनाए । पछिल्लो तीन वर्षदेखि लगातार सहभागिता जनाइरहेको मिस युनिभर्समा भने यस वर्ष मिस नेपालका सुन्दरीले सहभागिता नजनाउने बताइएको छ । यस वर्ष मिस युनिभर्सको लाइसेन्स प्राप्त नभएको हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेत्रीले जनाए । खास कारण नबताए पनि आगामी वर्ष सहकार्यका लागि लाइसेन्स प्राप्त गर्न सक्ने ढोका खुला रहेको क्षेत्रीले बताए ।

हिडन ट्रेजरले स्थानीय र प्रदेशमा रहेका युवतीलाई पनि सहभागी गराउने उद्देश्यले फागुन २५ देखि चैत ११ सम्म धनगढी, नेपालगन्ज, बुटवल, पोखरा, चितवन, वीरगन्ज, धरान र बिर्तामोडमा विभिन्न उत्प्रेणात्मक कार्यक्रमसहित अडिसन सञ्चालन गरिने बताइएको छ । अन्तिम अडिसनका लागि भने होटल अन्नपूर्णमा चैत १५ मा हुने राजकर्णिकारले बताए । युवतीका बाहिर तथा भित्री सौन्दर्य प्राथमिकतामा राखेर गरिँदै आएको मिस नेपाल यो वर्ष नौलो र सुधारात्मक हिसाबले अघि बढ्ने बताइएको छ । लुकेका प्रतिभा मिस नेपालमार्फत प्रस्फुटन गर्न सफल भइरहेको र यसलाई निरन्तरता दिँदै जाने अध्यक्ष राजकर्णिकारले जनाए ।

पत्रकार सम्मेलनमा मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठ, मिस नेपाल युनिभर्स प्रदिप्ता अधिकारी, मिस नेपाल अर्थ रिया बस्नेत, मिस नेपाल इन्टरनेसनल मीरा कक्षपती र मिस नेपाल सुप्रानेसनल रोज लामा पनि थिए । उनीहरूले मिस नेपालजस्तो सुन्दरी प्रतियोगिता गरेर हिडन ट्रेजरले नेपाली कला, संस्कृति र पहिचान अन्तर्राष्ट्रिय स्तरमा लैजान योगदान दिएको दाबी गरे ।

यस वर्षका विजेताले २ लाख ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । कान्तिपुर टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हुने मिस नेपाल २०२० को ग्रान्ड फिनाले जेठ २ मा हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया