काठमाडौं । सिङगिङ रियालिटी–सो ‘नेपाल आइडल’ सिजन–३ केही समयका लागि स्थगित हुने भएको छ । कोरोना भाइरसको जोखिम न्यूनिकरणलाई ध्यान दिँदै नेपाल आइडल केही समय प्रशारण नहुने भएको हो ।

नेपाल आइडलका निर्देशक सुरेश पौडेलले कोरोना भाइरससँग जुध्ने सरकारको प्रयासमा साथ दिन केही समयको लागि नेपाल आईडल स्थगित गर्ने निर्णय भएको बताए । उनले आउँदो बिहीबारको श्रृंखलामा निर्णायकको केही सन्देश र प्रतिस्पर्धीलाई शुुभकामना दिएपछि अवस्था सामान्य नभएसम्मका लागि कार्यक्रम स्थगित गरिने जानकारी दिए ।

प्रतिस्पर्धीलाई सोमबार साँझै आआफ्नै घर पुर्याइसकीएको छ ।

गत हप्ता उत्कृष्ठ दशबाट बाहिरिएका प्रतिस्पर्धीले वाइल्ड कार्ड इन्ट्रीका लागि प्रतिस्पर्धा गरेका थिए । वाइल्ड कार्ड इन्ट्रीका लागि मेघा श्रेष्ठ, किरण भुजेल, ममता गुरुङ, रचना रिमाल र मिङ्मा लामाले आआफ्नो प्रस्तुती दिएका थिए । मुस्कान रानाभाट भने परीक्षाको तयारी भन्दै वाइल्ड कार्ड इन्ट्रीमा सहभागी भइनन् ।

केभिन ग्लान तामाङ, प्रवीण बेडुवाल, नेसन पुन मगर र सज्जा चौलागाईं भने उत्कृष्ट चारमा प्रवेश गरिसकेका छन् ।

वाइल्ड कार्ड इन्ट्रीबाट एक जना पुनः प्रवेश गरेपछि पाँच जनाबीच प्रतिस्पर्धा हुने छ ।

नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक छन् ।

तपाईको प्रतिक्रिया