काठमाडौँ — ‘बुलबुल’ निर्देशन गरेर चर्चा बटुलेका निर्देशक बिनोद पौडेलको लकडान दैनिकी अहिले फिल्म सम्बन्धि पुस्तक पढेरै बितिरहेको छ । फिल्महरु पनि हेर्छन् । दोहोर्‍याएर फिल्म हेर्न रुचाउँछन् उनी । त्यसैले पूराना फिल्महरु दोहोर्‍याएर हेरिरहेका छन् ।

घरका काम फिटिक्कै छुँदैन थिए पहिला। अहिले घरको काममा सहयोग गर्न थालेका छन्। कहिले भाँडा माझिदिन्छन्। परिवारसँग समय बिताइरहेका छन्। छतमा गएर सूर्य उदाएको अस्ताएको हेर्न छुटाउँदैनन्। किनकि व्यस्त जिन्दगीले ती सबै कुरालाई बेवास्ता गरिएको अहिले उनलाई आभास भएको छ। त्यसैले घर छेउको रुखहरु, अनि चरा उडेको दृश्य उनी आनन्द मानेर हेर्छन्। योगा गर्छन्। प्रकृतिसँग नजिक हुन पाएका छन्। सामाजिक सञ्जाल चलाउन छोडेका छन्। समाचारहरु भने हेरिरहन्छन्। लकडाउनमा प्रकृतिको सुन्दरतामा रमाइरहेका बिनोदले आज उनलाई मनपर्ने ६ फिल्म यहाँ सिफारिस गरेका छन्।

एण्ड लाइफ गोज अन

यो फिल्मलाई इरानी निर्देशक अब्बास किरुस्तामीले निर्देशन गरेका हुन्। यो रोड मुभी हो। यसमा एक फिल्म निर्देशक छोरासँग अघिल्लो फिल्ममा अभिनय गरेको बाल कलाकारलाई भेट्न जाँदै हुन्छन्। ईरानमा आएको भूकम्पमा पचास हजारले ज्गान गुमाएका छन्। बालकलाकार बस्ने ठाउँमा पनि भूकम्पले धेरैको ज्यान लिएको छ। त्यसबारे खबर लिन जाँदै गरेका बाबु र छोराको यात्रामा भेटिने धेरै मानिसको दृष्टिकोणलाई फिल्ममा दुरुस्तै देखाइएको छ।

त्यति ठूलो घट्नामा हजारौं मानिसको ज्यान गएको छ। हजरौं घरविहिन भएका छन्। तर, त्यसबीच पनि जीवन चलिरहन्छ। जीवनका अनेका पाटाहरु सकिएका छैनन्। मानिसको जीवन रोकिएको छैन। भूकम्पलाई लिएर आ-आफ्नै दृष्टिकोण छ। निर्देशकले सबैको भावनाले बढाइचढाइ नगरि देखाएका छन्। यो फिल्मलाई उनले फिक्सन र नन-फिक्सनबीचमा बसेर न्यारेटिभी डिजाइन गरेका छन्।

अहिले कोरोनाले संसार हल्लाईरहेको अवस्थामा मलाई यो फिल्म सान्दर्भिक लाग्छ। जीवन जोखिममा छ तर रोकिएको छैन। यो फिल्ममा निर्देशकले कुनै एक धारणा देखाउन खोजेका छैनन्। जीवनको सत्यलाई देखाएका छन्। फिल्ममा वास्तविक भूकम्प पीडितहरु नै कलाकार छन्।

अ साइलेन्ट लाइट

यस फिल्मलाई मेक्सिकन निर्देशक कार्लोस रेगादसले निर्देशन गरेका हुन्। पचास कटेका विवाहित व्यक्ति जसले आफू अर्कै महिलासँग सम्बन्धमा रहेको कुरा श्रीमतीसँग स्वीकारेबाट फिल्मको प्लट सुरु हुन्छ। एकदम कवितात्मक न्यारेटिभ छ फिल्ममा। फिल्ममा ‘र’ एक्टरहरुको अभिनय छ। शब्दले होइन, दृष्य भाषाले, प्रकाशले, साउन्डले क्यामेराले धेरै बोल्छ फिल्ममा। फिल्ममा लामा सटहरुको प्रयोग छ। ती सटहरुमा धेरै कुराहरुको तह हेर्न सकिन्छ। फिल्मको अन्त्य ‘सरियल’ (अतियथार्थ) छ। फिल्मको शीर्षक आफैंमा सरियल छ। यसको कथाभन्दा पनि यो फिल्मको कथा भन्ने शैलीले मलाई छोएको हो। मलाई मनपर्ने फिल्ममध्यको एक हो यो। म निर्देशक कार्लोसको ठूलो फ्यान हुँ।

सम्बन्धको असमानतालाई यति मज्जाले भनेको छ कि अहिलेको अवस्थामा एक्लै बसेर आनन्दले यो फिल्म हेर्दा, सुन्दा ध्यान गरेको अनुभव हुन्छ मलाई।

रेन कोट

यस फिल्मका निर्देशक रितुपर्नो घोस हुन्। फिल्मको कथा ओ हेनरीको कथाबाट एडप्ट गरिएको हो। बलिउडको फर्मुलाभन्दा केहिमाथि, रोमान्टिक ड्रामालाई सुक्ष्म तरिकाले बुनिएको फिल्म हो यो। अजय देवगन र ऐश्वर्य राय बच्चनलाई लिएर मिठो कला सृजना गरिएको छ। हेर्दा मिठो अनुभुति दिएर जान्छ फिल्मले। दुई पात्र, एउटै कोठा अनि वर्षालाई लिएर मिठो संयोजन गरिएको न्यारेटिभ छ। यसमा पानी अर्को पात्रजस्तो लाग्छ। अजय र ऐश्वर्यको केमेस्ट्री एकदम नेचुरल लाग्छ। कम बजेटमा, सानो सेटिङमा यति बाँधिरहने र कलात्मक फिल्म छ यो। मैले धेरै पटक हेरेको छु यो फिल्म। मेरो फिल्मप्रतिको अन्तरदृष्टि फेरेको फिल्म हो यो।

द्‍याट अब्स्क्योर अब्जेक्ट अफ डिजायर

यो कमेडी ड्रामा फिल्मलाई लुइस बनेल्सले निर्देशन गरेका हुन्। यो फ्रेन्च भाषाको फिल्म हो। खासगरि लुइस ‘सरियल’ न्यारेटिभको एकदम विचारशील निर्देशक मानिन्छन्। आफू ८० वर्षको हुँदा उनले यो फिल्म बनाएका थिए। आफ्नो उमेर अनुसारको पात्रको मनोविज्ञानको फिल्मबाट देखाएका छन्, मलाई यो फिल्म मन पर्ने कारण पनि यही हो। एक ६० वर्षको केटाको १९ वर्षकी केटीसँग शारीरिक सम्बन्धको इच्छासँगै फिल्म बडो रोचक तरिकाले सुरु हुन्छ। ट्रेनमा म्याथिउ गइरहेका हुन्छन्। अचानक एकजना १९ वर्षको युवती पनि उनको पछि दौडेर आइरहेकी हुन्छे। म्याथ्युले ट्रेनभित्रको शौचालयबाट बाल्टीमा पानी भरेर त्यो युवतनीमाथि खनाइदिन्छन्। युवती ढल्छिन्। ट्रेनमा यात्रा गरिरहेका सबैजना अचम्ममा पर्छन्। फिल्म यहींबाट सुरु हुन्छ। बीचमा फ्ल्यासब्याकको पनि प्रयोग हुन्छ।

मलाई मनपरेको कुरा, शारीरिक इच्छालाई, पुरुष मनोविज्ञान र महिलाको मनोविज्ञानबाट सुक्ष्म ढंगले फिल्ममा केलाइएको छ। फिल्मको अन्तिम दृष्य एकदम ‘सर्रियल’ छ। ओपन इन्डिङ छ।

यो अन्तिम दृश्यले पूरा फिल्मको यात्रा नै अति यथार्थ ढंगले जोडेको छ। फिल्मको प्रमुख पात्रभित्र भवगान र राक्षसको गुण मिसिएको छ। यो फिल्मले कमर्सियल फिल्मले जसरी बाँधेर राख्छ। सन् १९७७ मा बनेको यो मास्टरपिस हेर्दा हाम्रा फिल्म कत्ति पनि छेउ नपुगेको देख्दा दु:ख लाग्छ।

एट एण्ड हाफ

फेडेरिको फेलिनीले निर्देशन गरेको यो फिल्म मास्टर पिस हो। एकजना चर्चित इटालियन निर्देशकले साइन्स फिक्सन फिल्म बनाउँदै हुन्छन्। यही दौरान उनी अचानक ‘डिरेक्टर्स ब्लक’को सिकार हुन्छन्। उनले एउटा समीक्षक हायर गर्छन् तर उसको बुझाई र निर्देशकको बुझाई मिल्दैन। फेलिनीले आफ्नो वास्तविक जीवनमाथि यो फिल्म बनाएको पनि भनिन्छ। फिल्मको न्यारेटिभ सर्रियल छ। भूत र वर्तमानलाई सरियल डिजाइन गरिएको छ। फिल्मको सुरुवात एकदम गजब्बको सर्रियल डिजाइनबाट सुरु हुन्छ। निर्देशक ट्राफिक जाममा फँसेको छ। अचानक त्यो भीडमा उ उड्न थाल्छ। उड्दै गर्दा उसको खुट्टामा धागोले बाँधेर तल खसालिन्छ। यो दृश्यले धेरै अर्थ राख्छ। यो फिल्म हेरेपछि फिल्मलाई हेर्ने मेरो दृष्टिकोण फरक भएको थियो। म त्योबेलासम्म फिल्मलाई एउटै दृष्टिले हेर्थें। त्यसैले हरेक फिल्ममेकरले फेलिनीको फिल्म हेर्नुपर्छ भन्छु म।

मिरर

आन्द्रेई तारकोवस्की मास्टर निर्देशक हुन् जसले फिल्मको सबै दृष्टिकोण नै बदलिदिए। उनले फिल्मले लिट्रेचरको साहयता लिनुपर्दैन, फिल्म आफैंमा ठूलो सम्भावना हो भनेर घोषणा गरेका थिए। उनले फिल्म पनि लिट्रेचर हो भन्ने कुराको विरोध गरे। उनले फिल्मलाई आत्मिक कुरासँग जोडेर हेर्छन्। उनको फिल्मको संरचना पूरै नन-लियर हुन्छ। ‘मिरर’ले तारकोवस्कीको बाल्यकालको सम्झनाहरुलाई देखाएको छ। फिल्मले प्रि-वार, वार-टाइम र पोस्टको यात्रा भन्छ। मुख्य पात्र वरिपरि नै फिल्मको कथा घुमेको छ।

तपाईको प्रतिक्रिया