उदाहरण १
एक स्थापित अभिनेत्री आफू अभिनय गर्ने चलचित्रका लागि निर्देशकको इसारामा लगानीकर्ताको खोजीमा जुटिन् । त्यसै क्रममा भारतमा बसोबास गर्ने नेपालीभाषी फेला पारिन् र लगानीका लागि तयार पारिन् । भारतमै चलचित्रको छायांकन गरियो । प्रदर्शनमा पनि आयो तर व्यावसायिक असफलता बेहो¥यो । उनले लगानी गर्दा कुनै कागजात पनि बनाएका थिएनन् । त्यसैले पैसा फिर्ता पाउने त कुरै भएन । कुनै कानुनी आधार नभएपछि उनी सधैंका लागि यो क्षेत्रबाटै टाढिनुको विकल्प थिएन ।
उदाहरण २
एक निर्माताले छोरीलाई एमबीबीएस पढाउन जम्मा गरेको रकम चलचित्रमा लगानी गरे । लाखौं कमाउने आशामा उनले एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गरिसकेकी छोरीलाई नर्सिङ भर्ना गरिदिए । फिल्मी पार्टी र ग्ल्यामर भेटघाटमा लोभिँदै निर्देशकको आश्वासनमा उनले गरेको लगानी डुब्यो । न लगानी फिर्ता भयो, न छोरीले एमबीबीएस पढ्न पाइन् । कपनमा निर्माणाधीन घरको तला थप्ने योजना पनि रोकियो । उनकी श्रीमती निकै चिन्तित छिन् । यसै कारण उनी अहिले चलचित्र क्षेत्रबाट टाढिएकी छिन् ।
उदाहरण ३
एक निर्माताले चार वर्षअघि ठूलै धनराशि खर्चिएर चलचित्र निर्माण गरे, जुन आजसम्म प्रदर्शन हुन सकेको छैन । प्रदर्शन गर्न अझै १५ लाख रुपैयाँ लाग्ने रहेछ । ‘चलचित्र क्षेत्रका केही अग्रजलाई देखाउँदा उहाँहरूले थप ५ लाख घाटा नखानु भन्ने सुझाव दिनुभएको छ,’ १० लाखको व्यवसाय गर्न पनि गा¥हो हुने आँकलन सुनेका उनी भन्छन्, ‘चलचित्र निर्माण गर्दा नै मैले घर बेचिसकेको छु । डेराको बसाइ छ । आफ्नो डुबेको रकम फिर्ता हुने १ प्रतिशत पनि सम्भावना देख्दिनँ ।’
उदाहरण ४
एक कलाकारलाई निर्देशकले ४ लाख रुपैयाँ दिन्छु भन्दै सम्झौतापत्रमा हस्ताक्षर गराउँछन् । १५ प्रतिशतका दरले ६० हजार करसमेत काट्छन् । त्यसको रसिदसहित निर्देशकले विदेशमा बस्ने निर्मातालाई सम्झौताको जानकारी गराउँछन् । निर्माताले रकम पठाइदिन्छन् । सञ्चारमाध्यममा कलाकारले ४ लाख पारिश्रमिक लिएको समाचार आउँछ, तर कलाकारले २ लाख रुपैयाँ मात्र पाउँछन्, १ लाख ४० हजार निर्देशकले नै खल्तीमा हाल्छन् । चलचित्रमा यसरी कमिसन खाने प्रवृत्ति अभिनय क्षेत्रमा मात्र होइन, यातायात, इन्धन, मेकअप, डे«सदेखि पोस्ट प्रोडक्सनसम्म हुन्छ । फलस्वरूप, निर्माताको करिब ४० लाख सम्बन्धित विभागको संयोजन गर्ने व्यक्तिले नै हजम गरिदिन्छन् ।
उदाहरण ५
चलचित्र ‘के यो माया हो’ को छायांकन पोखरामा भएको थियो । पोखराकै केही व्यवसायीले चलचित्रमा लगानी गरेका थिए । ६ वर्षअघि नै प्रदर्शन भएको उक्त चलचित्रमा करिब १ करोड लगानी भएको थियो । छायांकनका क्रममा नै चलचित्रका कलाकार नीर शाहले भनेका थिए, ‘पोखरामा भएजति अन्डा र खसी सबै सकिए । यति विलासी शैलीको सुटिङ कहिल्यै भएको थाहा छैन ।’ चलचित्रले लगानी नै उठाउन सकेन । सुदर्शन थापाले निर्देशन गरेको चलचित्रका निर्माता त्यसपछि यो क्षेत्रमा देखिएनन् । प्रचार–प्रसारमा मात्र करिब १५ लाख खर्चेका निर्माताले लगानी सुरक्षित गर्न नसक्नु स्वाभाविकै थियो ।
उदाहरण ६
एक निर्माताले मेरो चलचित्रको सेल्स कति भयो भनेर वितरकलाई सोधे । उनको चलचित्रले देशभरिबाट ३६ लाख ५० हजार ग्रस कलेक्सन गरेको सुनाए । दुई दिनपछि निर्माता वितरकलाई भेट्न पुगे । निर्माताले ३५ लाख माग्दै भने– बा“की हिसाब–किताब गर्दै गरौंला । वितरकले तपाईंको ग्रस कलेक्सन त्यति हो, कसरी सबै दिन सक्छु भने । त्यस क्रममा भएको विवादले उनीहरूको सम्बन्ध बिग्रियो ।
० ० ०
यी उदाहरणले नेपाली चलचित्रमा निर्मार्ता–निर्देशकको सम्बन्ध र लफडा कस्तो छ भन्ने स्पष्ट पार्छ । त्यसमध्ये पछिल्लो कथा चलचित्रकर्मी निर्मल शर्मालाई एक वितरकले सुनाएका थिए । उनी चलचित्र क्षेत्रका यस्ता धेरै कथाका श्रोता र साक्षी हुन् । २३ वर्षदेखि चलचित्र क्षेत्रमा सक्रिय उनले धेरै निर्माताको आँसु देखेका छन् । परिवार बिग्रिएको र महलबाट सडकमा पुगेको देखेका छन् । उनी भन्छन्, ‘तर उनीहरूमध्ये अधिकांश डुबिसकेपछि, सिद्धिसकेपछि सम्पर्कमा आइपुग्छन् । त्यतिबेला मसँग पनि केही विकल्प हुँदैन । त्यसैले उनीहरूका गुनासाहरू फेसबुकमा लेखिरहन्छु ।’
उनी नेपाली चलचित्रमा अधिकांश निर्देशक निर्मातालाई ‘बटर’ लगाइरहेका पाउँछन् । ‘छक्कापन्जा’ जस्तो बनाउँछु, ‘शत्रुगते’ जस्तो बनाउँछु, ‘कबड्डी–कबड्डी’ जस्तो बनाउँछु, ‘जात्रै–जात्रा’ जस्तो बनाउँछु भनेर निर्मातालाई फुरुङ्ग बनाइदिन्छन् । एउटै चलचित्रबाट १५–१६ करोड रुपैयाँको व्यवसाय गर्ने चलचित्र बनाइदिन्छु भन्ने गुलियो कुरा सुनेपछि नयाँ निर्माता गालामा हात राखेर पैसा कमाउने बारेमा सोच्न बाध्य हुन्छ । सोच्न थाल्छ कि त्यसो हुँदा ३–४ करोड रुपैयाँ त कमाइ हालिन्छ । त्यसरी नयाँ निर्माता ५०–६० लाख रुपैयाँ लगानी गर्न पनि सजिलै तयार हुन्छ । उनी भन्छन्, ‘निर्माता फसाउने यो अत्यन्तै खतरनाक परिपाटी हो, जसले गर्दा केही नबुझेको मान्छे पनि त्यत्रो लगानी गर्न तयार हुन्छन् ।’
अर्को कुरा, चलचित्रमा लगानी गर्न लालायित हुने अधिकांश निर्मातालाई लाग्छ– यहाँको रंगीन संसारमा रमाइलो तथा मोजमस्ती गर्न पाइन्छ । सञ्चारमाध्यममा नाम आउँछ र सेलिब्रेटीको ट्याग मिल्छ । मुनाफा पनि मिल्यो भने झनै गज्जब !
यसो हुँदा राम्रो स्क्रिप्ट, विषयवस्तु र तयारीबिना नै चलचित्रहरू निर्माण भइरहे । त्यसो हुँदा वर्षमा औसत सय चलचित्र प्रदर्शन हुँदा तीनवटाले मुनाफा गरेको देखिन्छ । पाँचवटाले लगानी सुरक्षित गर्छन् भने ९० प्रतिशतभन्दा बढी चलचित्र प्रदर्शन खर्चसमेत उठाउन सक्दैनन् अनि घाटाको व्यापारपछि हरेक नयाँ चलचित्र निर्माण हुँदा नयाँ निर्माता देखिन्छन् । उनीहरूमध्ये अधिकांश पलायन हुन्छन् ।
चलचित्र ‘प्रेम गीत’ मार्फत निर्माता बनेका सन्तोष सेनसँग आफू ‘मुर्गा’ बनेको अनुभव छ । प्रेमगीत निर्माण गर्नुअघि नै निर्देशकसहितको समूहले २० लाखजति डुबाइदिएको उनी सुनाउँछन् ।
निर्देशकसहितको समूहको चिप्ला कुरामा बहकिएर चलचित्र निर्माण गर्न तयार भएको सुनाउँदै उनी भन्छन्, ‘छायांकनमा जानुअघिको तयारीमै झन्डै २० लाख खर्च भयो । तर, त्यसै क्रममा युनिटबारे नराम्रा कमेन्ट सुनिए । विभिन्न चलखेल थाहा पाएपछि योजना ड्रप गरेँ ।’ त्यसबेला आफ्नो लगानी बालुवामा पानीसरह भएछि निकै अनुसन्धान गरेर ‘प्रेमगीत’मा लगानी गरेको उनको दाबी छ ।
‘प्रेमगीत’ सिनेमा हलमा ५१ औं दिन पूरा गर्ने र व्यावसायिक रूपमा सफल मानिने चलचित्र मानिन्छ । तर, त्यसबाट पनि आफ्नो लगानी नउठेको सेन बताउँछन् । ‘प्रेमगीतले त लगानी उठाउन सकेन भने कुनै निर्देशकको आश्वासनमा परेर लाखौं रुपैयाँ आँखा चिम्लिएर लगानी किन गर्नुहुन्छ ?’ उनी नयाँ निर्मातालाई भन्न थालेका छन् । सेनले प्रेमगीत–२ बाट भने लगानी सुरक्षित मात्र गरेनन्, मुनाफासमेत आर्जन गरे । ३ करोड लगानी दाबी गरिएको ‘प्रेमगीत–३’ मा पनि त्यही आशामा छन् । भन्छन्, ‘सबै कुरा बुझेर निर्माण गरियो भनेचाहिँ लगानी सुरक्षित गर्न गा¥हो छैन ।’
डुबिरहेको डेढ अर्ब
चलचित्रकर्मी शर्माका अनुसार सामान्य चलचित्रमा लगानी गर्दा पनि ५० लाख खर्च हुन्छ । अझ राम्रो बनाउँदा डेढ करोडसम्म पुग्छ । हरेक साता दुईदेखि तीन चलचित्रले घाटा बेहोरिरहेका हुन्छन् । त्यस हिसाबले वर्षको झन्डै डेढ अर्ब डुबिरहेको छ ।
‘पछिल्ला वर्षमा एका–दुई चलचित्रले मात्र राम्रो व्यवसाय गरेको छ । झन्डै ९७ प्रतिशत चलचित्र निर्माता घाटामा छन्’ उनी भन्छन्– ‘कसैको घर गएको छ, कसैको खेत । कसैको सेयर गएको छ, कसैको गरगहना । कसैले बैंकबाट लिएको ऋण तिर्न सकेका छैनन् ।’ उनले बैंकबाट ऋण लिएर चलचित्र बनाएका निर्माताले तिर्न नसकेर हनुमानढोका थुनामा पुगेको देखेका छन् । कति दम्पती ऋण तिर्न रोइकराइ गरेर हिँडिरहेको पनि देखेका छन् ।
निर्माताको अनभिज्ञता
चलचित्रमा लगानी गर्ने निर्माताहरूमध्ये अधिकांशले चलचित्र कारोबारबारे अध्ययन गरेको पाइँदैन । वितरकले निर्मातालाई प्रदर्शनपछिको हिसाब–किताब बुझाउन सकिरहेका छैनन् । चलचित्रकर्मी निर्मल शर्मा भन्छन्, ‘ग्रस कलेक्सनबाट १३ प्रतिशत भ्याट काटिन्छ । ५० प्रतिशत सिनेमा हलले लैजान्छ । वितरकले १० देखि १५ प्रतिशत कमिसन काट्छ । सबै हिसाबकिताब गर्दा निर्माताले पाउने भनेको २८–२९ प्रतिशत मात्र हो ।’ तर, यो हिसाबबारे अधिकांश निर्माता अनभिज्ञ हुन्छन् र ग्रस कलेक्सन हेरेर लगानी गर्छन् ।
पछिल्लो समय ‘छक्कापन्जा’, ‘कबड्डी कबड्डी’, ‘जात्रैजात्रा’ जस्ता सीमित चलचित्रले मात्र मुनाफा कमाएका छन् । त्यसको पनि ग्रस कलेक्सन हेरेर आफू पनि कसो नकमाइएला भन्ने निर्माताहरू डुबिरहेका छन् । चार चलचित्र निर्देशनपछि आफैं लगानी गर्न लागेका दिवाकर भट्टराई भन्छन्, ‘सीमित चलचित्रले पैसा कमाएको देखाएर यस क्षेत्रबारे रत्तिभर जानकारी नभएकालाई लगानी गर्न उत्साहित गर्ने समूह नै छ । एउटा चलचित्रमा लगानी गरेर घरबार नै गुमाउने निर्माताको संख्या बढ्दैछ । यस्तै अवस्था रहने हो भने दुई वर्षपछि चलचित्र क्षेत्रमा अझ भयावह स्थिति आउँछ ।’
सेनले पनि त्यस्तो उदाहरण देखेका छन् । कतिपय निर्माता बक्स अफिस रिपोर्टलाई आधार मानेर निर्माणमा आउँदा फसेका छन् । उनी भन्छन्, ‘उनीहरूलाई १५ करोड, १८ करोड कमाउने चलचित्रको उदाहरण दिइन्छ । जबकि १८ करोड रुपैयाँ ग्रस कलेक्सन गर्ने चलचित्र निर्माताको हातमा समेत ५–६ करोडभन्दा बढी परेको हुँदैन । जब ८० लाख लगानी गर्नेले १० लाख रुपैयाँसमेत फिर्ता पाउँदैनन्, तब गुमनाम जीवन बिताउनुको विकल्प हुँदैन ।’
चलचित्रबारेमा केही अध्ययन नगरी लगानी गर्न तम्सिने निर्माताकै कारण यो क्षेत्रले समस्या बेहोर्नुपरिरहेको चलचित्र वितरक गोविन्द शाहीको गुनासो छ । ‘कुन निर्देशकले राम्रो चलचित्र बनाउँछ ? कुन लेखकको स्क्रिप्ट उपयुक्त छ ? त्यसअनुसार कुन–कुन कलाकारलाई अभिनय गराउँदा चलचित्र राम्रो बन्छ ? कति लगानी गर्दा सुरक्षित हुन्छ ? यी प्रश्नको उत्तर नखोजी लगानी गर्दा असफल हुनु स्वाभाविक हो’– निर्मातासमेत बनिसकेका शाहीको निष्कर्ष छ । निर्माता सेनको बुझाइ पनि त्यही हो । उनी भन्छन्– ‘बजार नबुझी लगानी भइरहेको देखिन्छ । यसमा लगानीकर्ता सचेत हुनुपर्छ ।’
एक जना निर्माताले केही महिनाअघि ‘मेरो चलचित्र देशभरिका १ सय १९ वटा सिनेमा हलमा प्रदर्शन हुँदैछ’ भनेर फेसबुकमा लेखे । चलचित्रकर्मी शर्मा भन्छन्, ‘आजको मितिमा देशभरिमा १ सय १९ वटा चलचित्र प्रदर्शन हुनका लागि असम्भव नै छ । ‘छक्कापन्जा’ जस्तो चलचित्रले पनि एकैपटक त्यति हल पाएको रेकर्ड छैन ।’ निर्माता यस क्षेत्रबारे कति अनभिज्ञ छन् भन्ने यो अर्को उदाहरण हो ।
निर्माता खोज्न प्रेमिकाको प्रयोग
कतिपय निर्माता अभिनेत्रीहरूसँग नजिकिने लोभमा लगानी गरिरहेका पाइन्छन् । त्यसलाई बुझेका केही निर्देशकले आफ्नी अभिनेत्री प्रेमिकालाई प्रयोग गरेर नयाँ निर्माता खोज्छन् । निर्माता तथा निर्देशक सेनले पनि यस्ता केही अभिनेत्री र निर्देशक भेटेका छन् । उनी सुनाउँछन्, ‘चलचित्र छायांकन अवधिभर अभिनेत्री र निर्माताको अफेयर चल्छ । चलचित्र प्रदर्शनसँगै उनीहरूको अफेयर सकिन्छ । चलचित्र घाटामा जान्छ । अभिनेत्री पुनः अर्को चलचित्रका लागि नयाँ लगानीकर्ता खोज्न थाल्छिन्, त्यो पनि प्रेमी निर्देशककै सल्लाहमा ।’
प्रतिभा नभए पनि काम पाउनका लागि जे पनि गर्ने केही महिला कलाकार र उनीहरूलाई निर्मातासँग घुम्न पठाएर लगानी जुटाउने निर्देशकका कारण यस्तो विकृति पैदा भएको उनको बुझाइ छ । चलचित्र क्षेत्रमा चलिरहेको यो चक्रलाई उनी नैतिक पतनको यात्रा ठान्छन् ।
एनआरएन रहर
बजार ऋणात्मक देखिए पनि अमेरिका, क्यानडा, बेलायत, जापान, कोरिया, हङकङलगायतका देशमा नेपाली चलचित्रको एवार्ड कार्यक्रम भइरहेकै छन् । त्यस्ता कार्यक्रमबाट प्रभावित भएर विदेशमा बस्ने नेपालीहरू लगानीमा उत्साहित भइरहेको पाइन्छ । त्यस्ता धेरै निर्माता डुबेका कलाकार शर्माले देखेका छन् । त्यसैले उनले झन्डै दर्जनभन्दा बढी निर्मातालाई चलचित्रमा लगानी गर्नबाट रोकेका छन् ।
उनी भन्छन्, ‘नामका लागि विदेशबाटै पैसा पठाएर कसैले चलचित्र नबनाओस् । यदि एनआरएनका साथीहरूलाई लगानी गर्न मन छ भने नेपालमै आई समग्र अध्ययन गरेर मात्र लगानी गरून् ।’
चलचित्र क्षेत्रमा स्टारहरूले जुन प्रकारको पारिश्रमिक पाएको घोषणा हुन्छ । चलहपहल देखिन्छ र अन्तर्वार्ताहरू अनलाइनहरूमा आइरहेका हुन्छन् ।
त्यसले पनि निर्मातालाई प्रभाव पारिरहेको हुन्छ । त्यसलाई शर्मा ‘खुबसुरत धोका’ को संज्ञा दिन्छन् । त्यसलाई मात्र आधार नमान्न उनी लगानीकर्तालाई सुझाउँछन् ।
निर्माता सुरक्षित भएमात्रै चलचित्र जीवन्त हुन्छ
साभार कृष्ण भट्टराई साप्ताहिक