महाशिवरात्रिको अवसर पारेर चलचित्र ‘शिवांश : च्याप्टर १’ भोलि (शुक्रबार)देखि देशभर प्रदर्शनमा आउँदैछ । ‘स्पिरिचुअल एक्सन ड्रामा’ भनिएको यो चलचित्रले धर्मको खोल ओढेर अपराध कर्ममा संलग्न हुने पात्रको रहस्यमयी कथा प्रस्तुत गरेको छ । जटा राखेको अघोरीको भेषमा देखिने पात्र भित्रभित्रै कस्तो अपराध कर्ममा संलग्न हुन्छ ? यही प्रश्नको वरिपरि चलचित्रको कथावस्तु घुमेको छ । जटाधारी अघोरी पात्रमा अभिनेता प्रवीण खतिवडा प्रस्तुत भएका छन् । सार्वजनिक सामग्रीहरूले उनको चरित्र आध्यात्मिक आवरणभित्र लुकेको क्रूर र जटिल व्यक्तित्व भएको संकेत गर्छन्।
चलचित्रको कथा हिन्दु पौराणिक प्रसंग ‘समुद्र मन्थन’सँग जोडिएको छ ।

समुद्र मन्थनका क्रममा उछिट्टिएको शक्तिशाली ‘शिला’ (ढुङ्गा) को खोजी नै कथाको केन्द्रबिन्दु हो । उक्त शिला प्राप्त गर्ने होडबाजी र त्यसले निम्त्याउने द्वन्द्वले कथालाई उत्कर्षतर्फ डोर्‍याएको निर्माणपक्षको दाबी छ । प्रवीण खतिवडासँगै तेज गिरी, विमला लिम्बू र रुषा न्यौपानेको मुख्य भूमिका रहेको चलचित्रमा विकास जोशी, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौला लगायतका कलाकारको सहकार्य छ । अञ्जन सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्देशक सन्तोष कुमार आत्रेय हुन् भने कथा अञ्जान केसीले लेखेका हुन् । स्क्रिनप्ले बारत लिम्बूको छ ।

  • निर्माता अञ्जान केसी रहेको चलचित्रमा सहनिर्माताका रूपमा शोभा भण्डारी र अनिस केसी बोगटी छन् भने कार्यकारी निर्माता सम्भू थापा हुन् । विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना, न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहेको फिल्मका गीतमा राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर सुन्न सकिन्छ ।

सरद महतोको डीओपी, बनिश शाहको सम्पादन, मिलन श्रेष्ठको द्वन्द्व निर्देशन र विक्रम चोहानको कोरियोग्राफी रहेको चलचित्रमा प्रोडक्सन डिजाइन र आर्ट निर्देशन प्रतीक चौधरीले सम्हालेका छन् । मुख्य सहायक निर्देशक बारत लिम्बू हुन् भने स्क्रिप्ट डक्टरको भूमिका सुलक्षण भारतीले निर्वाह गरेका छन् ।

देशभरका प्रमुख मल्टिप्लेक्सहरू—क्यूएफएक्स, आईएनआई, वान सिनेमाज, बिग मुभिज र एफक्यूब—ले अग्रिम टिकट बुकिङ खुला गरिसकेका छन् । उपलब्ध तथ्याङ्क अनुसार ‘शिवांश’ले शुक्रबारका लागि देशभर कुल ९७ शो प्राप्त गरेको छ ।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले आफ्ना विभिन्न आउटलेटमा १३ शो उपलब्ध गराएको छ, जसमध्ये काठमाडौं उपत्यकामा ५ शो र मोफसलमा ७ शो रहेको छ । अन्य मल्टिप्लेक्स चेनहरूमा पनि सीमित शो बाँडफाँड भएको देखिन्छ, जसले चलचित्रले प्रारम्भिक रूपमा प्रदर्शकबाट न्यून साथ पाएको संकेत गर्दछ । आध्यात्मिक रहस्य, पौराणिक प्रसंग र अपराधको मनोविज्ञानलाई समेटेको ‘शिवांश : च्याप्टर १’ले दर्शकलाई कत्तिको नयाँ अनुभव दिन्छ, त्यो भने अब दर्शक प्रतिक्रियाले तय गर्नेछ ।

तपाईको प्रतिक्रिया