काठमाडौं । अमेरिकाभन्दा तुलनात्मक रूपमा नेपाल कोरोनाभाइरसको कम जोखिममा छ । अमेरिकामा बुधबार मात्रै करिब १८ सयको मृत्यु भएको थियो । अहिलेसम्म त्यहाँ साढे चार लाख संक्रमित भइसकेका छन् । मृत्यु हुनेको संख्या झन्डै १५ हजार पुगिसकेको छ ।

यस्तो अवस्थामा पनि अभिनेता सरोज खनाल अमेरिका फर्केपछि उनको मिडिया र सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ । अमेरिकी सरकारले आफ्ना नागरिकलाई विमान चार्टर गरेर आफ्नो देश लैजाने क्रममा सरोज खनाल पनि गएका थिए ।

सरोज खनाल अमेरिकी ग्रिनकार्डधारी हुन् । त्यसैले उनी अमेरिकी नागरिक हुन् । उनको पूरै परिवार अमेरिकामै छ । जेठो छोरा अमेरिकी आर्मीमा कार्यरत छन् भने कान्छो छोरा अध्ययनरत छन् । श्रीमती सूर्यमाला खनालसमेत उतै रहेकाले कोरोनाको जोखिमकै बीच सरोज अमेरिका गएका हुन् ।

अमेरिका पुगेलगत्तै सरोज खनालले श्रीमती र दुई नातिसँग तस्बिर खिचाउँदै सामाजिक सञ्जालमा राखेका छन् । उनले यस्तो विपतको समयमा परिवारसँग बिताउन चाहेर अमेरिका आएको प्रतिक्रिया दिएका छन् । उनले आफूविरुद्ध भइरहेको आलोचनालाई सहर्ष स्वीकार गर्दै लेखेका छन्, ‘सर्वे भवन्तु सुखिनः सर्वे संतु निरामयः । जसले जे भने पनि यो समय परिवारसँग बिताउन उचित सम्झिएँ । जे पर्ला त्यही टर्ला ।’

तपाईको प्रतिक्रिया