काठमाडौं – मित्र राष्ट्र भारतमा लडाउनको अवधि थप गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीको नाममा सम्बोधन गर्दै लकडाउन अवधि मे ३ (वैशाख २१) सम्म थप गरिएको जानकारी दिए। उनले कोरोना भाइरसको महामारीविरुद्ध लड्न लकडाउनको विकल्प नभएको बताए।
उनले अबको एक हप्ता कोरोना संक्रमित व्यक्तिको पहिचानको लागि तीव्र अभियान सञ्चालन गर्ने जानकारी दिए। उनले अप्रिल २० सम्म भारतका सबै राज्यमा तीव्ररुपमा अभियान सञ्चालन गरी कोरोना संक्रमितको पहिचान गरिने बताए।
उनले गरिब तथा विपन्न परिवारका लागि सरकारले छुट्टै निर्देशिका जारी गर्न लागेको बताए। निरन्तर लकडाउनले त्यस्ता परिवारहरुको हालत सरकारले महसुस गरेको भन्दै उनले निर्देशिका जारी गरी समस्याको समाधान गर्न बताए।
उनले भारतमा खाद्यान्नको भण्डार भरिपूर्ण रहेको हुँदा संयमित अपनाउन आफ्ना नागरिकहरुलाई आग्रह गरे। उनले लकडाउनको पालना गरिदिन सबैसँग आग्रहसमेत गरे।