आदरणिय दाजुभाई, दिदी बहिनीहरु,
नमस्कार,
म कलाकार तैयब शाह, हाल महामारीको रुपमा बिश्वभर फैलिई रहेको कोरोना भाईरस र सो सँग हाल हाम्रो देशमा पनि उब्जेका केहि सवालहरुका सम्बन्धमा यहाँहरु माझ केहि कुराहरु राख्न चाहान्छु ।

जीवनमा कतिपय घटनाहरु हामीले कल्पना सम्म गरेका हुदैनौ तर सामना गर्नु पर्ने स्थिति उत्पन्न भएर आउने गर्दछ । त्यसैमध्ये हामीले यस्ता धेरै घटना, दुर्घटनाहरु आफैले खुद भोग्यौ भने कति घटनाहरु पूर्बजको भोगाईलाई कथा जस्तै सुन्यौ र मनन् पनि गर्दै आएका छौ । ईतिहासलाई फर्केर हेर्ने हो भने हामीलाई छर्लङ्ग हुन्छ कि समय समयमा देशमा बिभिन्न खालको साह्रो गाह्रो परिस्थिती हुदै आएको छ । त्यस्ता परिस्थितीहरु संग हामी डटेर अगाडि बढ्दै आएका छौ ।

कुरा अहिलेको कोरोना कहर संग जोडौ । जुन भाईरस हामीले फिल्मको पर्दामा हेर्न पनि मुश्किल परेको थियो । त्यो आज हाम्रो जीवनमा ज्वलन्त भएर घुमिरहेको छ । सिंगो पृथ्वीलाई कब्जा गरिरहेको छ, बिज्ञानलाई चुनौती दिईरहेको छ । यसले को ठूलो, को सानु, धनी, गरीब, यो जात, उ जात, बालक, बृद, केहि नभनि समानरुपले सर्बत्र आक्रमण गरिरहेकोछ । यस्ले यो धर्म, त्यो धर्म पनि नभनि सारा जगतलाई सुनसान हुने गरि लकडाउन गरेर आफू मृत्युको नाङ्गो नाच नाचिरहेकोछ ।

हिन्दु, इसाई, मुस्लिम, बुद्दीष्ट आदी ईत्यादी, जो जुन धर्म संग सम्बन्धित राष्ट्र भए पनि COVID – 19 ले आफ्नो बसमा पार्न सफल भैरहेको छ । हाम्रो देश नेपाल अनि हामी नेपाली, परापुर्वकाल देखिनै सबै जनजाती, धर्म धर्मालम्बीहरु एक आपसमा मिलेर बसेका छौ, हाम्रो देशलाई चार जात छत्तिस बर्णको साझा फूलवारी भनेर दुनियालाई चिनाएका पनि छौ । हामी जुन धर्ममा आस्था राखे पनि भगवान सिर्फ एक रुप अनेक भन्ने गर्दछाैं । जीन्दगीमा आईपरेको अप्ठ्यारो अनी अन्धकारबाट बाहिर आउनको लागि हामी सबै नै आ-आफ्नो आस्था र बिश्वास राख्ने भगवान सँग प्राथना गर्दछौ । यो कुनै नौलो कुरा हैन, आस्था राख्नु पर्छ, म स्वयं अल्लाहमा आस्था राख्ने मान्छे हुँ । तर आस्था राख्नु पर्छ भन्दैमा अन्धबिश्वास नै गर्नु पर्छ भन्ने हैन । अहिले आएर मुस्लिम समूदायलाई नै असर पर्ने गरी बिदेशी मुस्लिमहरुलाई नेपालमा आवत जावतमा रोक नलगाई धर्मस्थलमा बास बस्न दिएकै कारणले उदयपुर गाईघाटमा धेरैजना मुस्लिममा COVID – 19 पोजेटिभ देखिएको खबरले म अत्यन्तै दुखित भएको छु ।
म एक मुसलमान मात्र नभएर सच्चा नेपाली भएकाे नाताले हाम्राे नेपाली मुसलमान समुदायकाे सम्पूर्णलाई के भन्न चाहन्छु भने “अतिथी देवाे भव ” लाई केहि दिनकाे लागि मनबाट टाडै राखाैं । याे COVID – 19 ले तपाईं र मलाई मात्र मार्ने हैन यदि हामिले अब पनि साेच्न ढिला गर्याै भने हामिले हाम्रो परिवार, छाेराछाेरी, दाजुभाईका साथै टाेल छिमेकमा रहेका सबै साथी भाईलाई सार्न र मार्न पनि सक्छाैं । यसमा कुनै दुईमत नै छैन । त्यसैले म सबैमा याे अपिल गर्दछु कि ! हामी आफु पनि बचाैं र अरूलाई पनि बचाअाैं भन्दै मेराे छाेटाे कविता पनि जोड्न चाहान्छु ।

यो हो बिपदको बेला धैर्यता गर मानव,
विश्वमा औषधि यसको तुरुन्तै छैन सम्भव,
एक आपसमा हामी टाढा सुरक्षित भर्ई बसौ,
मान्छेको दुखमा मान्छे, सबैले केहि न केहि गरौ ।

याे युद्ध भनेकाे कुनै राजनिती दल, कुनै धर्म सँगकाे हैन । याे युद्व भनेकाे COVID-19 सँगकाे हाे । त्यसैले हामिले सरकारकाे आज्ञा पालना गरि लकडाउनमा बसेर मात्र जीत हाँसिल गर्न सकिन्छ भन्ने कुरा सबैले बुझ्न जरूरी छ ।

मेराे मतलव भगवानमा आस्था नराखाै भन्ने पटक्कै हैन आस्था राखाैं राख्नुपर्छ । पूजा पाठ जे जे गर्नु छ आफ्नो घर भित्रै गराै । बाहिर चटक देखाउन जरूरी छैन अहिले ।मनलाई जे गर्दा शान्ति मिल्छ गराैं तर लकडाउन भित्र बसेर गराैं । अहिलेकाे समयमा रिस र बलले केही हुने वाला छैन त्यसैले संयमता अपनाऔं । घरमा सुरक्षित बसेर COVID- 19 सँगकाे याे हाम्रो लडाईमा जीत हाँसिल गराै । भाेली फेरि पहिले कै अवस्थामा फर्किन सकाैं भन्दै फेरि एक पटक सबैलाई हात जाेडेर याे भन्न चाहन्छु कि हाम्रो नियमित ध्यान हुने मस्जिदहरू बन्द गरि मानव कल्याणकाे लागि काेराेना भाईरस बिरुद्ध लड्न नेपाली मुस्लिम समाजलाई अनुरोध गर्दै म तपाईहरुको प्यारो कलाकार तैयव शाह, सदैब राष्ट्र , र समाज प्रति समर्पित रहनेछु भन्दै अन्तमा महाकवि लक्ष्मी प्रसाद देबकोटाको एक पङ्ती स्मरण गर्न चाहान्छु ।

“मानिस ठूलो दिलले हुन्छ जातले हुदैन”
धन्यवाद,

तपाईको प्रतिक्रिया