काठमाडौं – कोरोना भाइरसका नेपालमा गरिएको लकडाउनका कारण फिल्म उद्योग ठप्प छ । फिल्मका शूटिङ रोकिएका छन् भने हल पूरै बन्द छन् । कलाकारहरु कामविहीन भएका छन् ।
कतिले पुस्तक पढिरहेका छन् भने कति कलाकारले फिल्म हेरिरहेका छन् । कोही घरको काममा रमाइरहेका छन् । अभिनेता दयाहाङ राई पनि यतिबेला फुर्सदको समयमा घरमा समय दिइरहेका छन् । त्यसो त दयाहाङ साहित्यमा पनि उत्तिकै रुचि राख्छन् । उनी यो समयमा आफैले आफैलाई समीक्षा गरेको बताउँछन् ।
‘अरुबेला यसरी आफैलाई समीक्षा गर्ने फुर्सद हुँदनथ्यो, अहिले आफैले आफैलाई समीक्षा गर्न पाएको छु,’ दयाहाङ भनछन्, ‘भोलिको हाम्रो पुस्तालाई कोरोना महामारी कस्तो थियो भन्ने सुनाउने हामी पुस्ता त हो, एक हिसाबले यो अनुभव पनि हो ।’
उनले अहिलेसम्म गरेको काम र भोगेको समयको समीक्षा गरेको बताउँछन् । कोरोनाका बेला उनले एकअर्कालाई बुझ्नुपर्ने र कोरोनाबारे सचेत हुने तर डराउन नहुने उनको धारणा छ । ‘कोरोना महामारीलाई लिएर चिन्तित हुन आवश्यक छ तर त्रसित हुनु हुँदैन,’ उनी भन्छन् ।