काठमाण्डौ – अध्यापनसँगै सङ्गीत र चित्र कोर्न रमाउने ज्योतिप्रकाशले हिजोआज आफ्नो कलालाई अझ निखार्न पाउनुभएको छ । कोरोना भाइरसको जोखिमका कारण सरकारले लकडाउन घोषणा गरेपछि धेरै जनाले दिन कटाउनै मुस्किल भयो भनिरहँदा कलाकार ज्योतिप्रकाश भने यथार्थपरक चित्र कोर्न व्यस्त हुनुहुन्छ ।

हुन त उहाँ सानैदेखि चित्र काेर्नमा रमाउनु हुन्थ्यो । विद्यालय पढ्दादेखि नै चित्रकलामा रुचि देखेपछि उहाँलाई शिक्षकले ललितकला पढ्न सिफारिस गर्नुभयो ।

नवलपरासीमा माध्यमिक तहको शिक्षा सकेपछि ललितकला क्याम्पसमा भर्ना हुन काठमाण्डौ आउनुभएका उहाँले अहिले त्रिभुवन विश्वविद्यालय अन्तर्गत ललितकला केन्द्रीय विभागमा कला विषय अध्यापन गराउँदै आउनुभएको छ । समय अनुसार सन्देशमूलक चित्र बनाउनु उहाँको विशेष रुचि हो । लकडाउनले सिर्जनशील मानिसलाई अवसर दिएको उहाँको बुझाइ छ ।

कोलाहलबाट एकान्तवासमा समयसँगै आफैलाई पनि चिन्ने उत्तम अवसर भएको कलाकार ज्योतिप्रकाश बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हरेक विपद्ले केही न केही पाठ सिकाउँछ ।’

तपाईको प्रतिक्रिया