-____________अशोक घिमिरे थाइल्याण्ड___

कोरोनाको उत्पात
विश्वलाई चुनौति भएको छ
जाबो सानो कीटाणु संग
विश्वमानव समाज संत्रस्तछ
शक्तिशाली मानव सामर्थ्य प्रति
विश्वास डगमगाएकोछ
विश्वख्याति कोभीट नाइन्टिनले
चक्रवर्ती मानवराज्यमा
भुमीगत युद्ध मच्चाएको छ
साम्राज्य विस्तारमा होमिएकोछ
मानवमाथि चुनौति हाॅकेर
विज्ञान खिज्ज्याएकोछ

मान्छेको एकछत्रे साम्राज्यमा
वरदानप्राप्त कीट राक्षस
रक्तबीजकै उत्पात फैलाएकोछ
भस्मासुरको चालामा मान्छे सोत्तर पार्दै
विना रोकटोक द्रुतचालमा
छपछप्ति भूव्याप्त हुॅदै
नरभक्षी जीबाणु
प्रतिशोधका दाह्रा किटदैछ

वुहानको मुहानमा नरसंहार अवतारी
अमृत मन्थनमा उत्पन्न कालकूटवंशज
विज्ञानमन्थनमा प्रकट विषाणु
निशस्र आत्मघाती जीबाणु
सुस्त शासबाट प्रवेश हुॅदै
मुटु र फोक्सो चपाईचपाई
लाश ढलाईढलाई गिज्याइ रहेछ
चोखो धरती विटुलाएर
चिहान बनाउॅदैछ

जन्मेकाले मर्नुपर्ने मर्त्यलोक नहो
जन्म र मृत्यु बीचको जिन्दगी भित्र
हजारौं त्रासका गौंडाहरू
सयौं शोकका गल्छेंडाहरू छन
सल्किदो डढेलाको लपेटोमा
बाॅच्न चाहने विचल्ली मानवको
अकालमा शास थुतिदैछ
अर्थी विनाका पलास्टिकका कात्रो लपेटिएका
मूर्धाका टाउका गिनिदैछन्

कालले खाता खोतल्दैछ
मान्छेको उत्पातमा बलि र सहीद भएका
निरीह प्राणीका हिसाब किताब खोइ?
ती जीबजन्तु वनजङ्गल
जमीन र जल माथि भए गरेका
अत्याचारका वहीखाता खोइ?
बधशालामा रेटी काटी टुक्र्याइ बिलो लाएका
कालाखाता खोइ?
कालबनेर कोरोनाले चुक्ता वसूल्दैछ

प्रकृति विरुद्ध चल्दाको परीणाम
भुक्तभोगी मानवसमाजले भुक्ताउनु प-याछ
नाथे सूक्ष्मजीबाणुले
मानवशक्ति झुकाएकै होत?
घुॅडाटेकाऐकै होत?
विश्वलाई खरो चुनौति खडा भएको छ

तपाईको प्रतिक्रिया