चलचित्र ‘हिजो आजका कुरा’को पहिलो गीत ‘माया जदौ’लाई युट्युबमा एक करोड भन्दा बढी पटक हेरिएको छ । साढे २ महिना अगाडि युट्युबमा सार्वजनिक भएको यो गीतलाई एक करोड भन्दा बढी पटक हेरिएको छ ।

९४ हजार लाइक यो गीत दर्शकहरुले मन पराएका छन् । गीत सार्वजनिक भएपछि यसको दृश्य बलिउड चलचित्र ‘ओम शान्ती ओम’को शिर्ष गीतसँग मिल्न गएको भनेर पनि चर्चा भएको थियो । तर, लोक शैलीको यो गीतले दर्शकको मनमा भने राज गरेको छ ।

चलचित्र ‘हिजो आजका कुरा’ वैशाखको १२ गतेबाट रिलिज हुनुपर्ने हो । तर, कोरोना भाइरसका कारण जारी लक डाउनका कारण चलचित्र रिलिज हुन पाएन । चलचित्र रिलिज नहुँदा यो गीतले दर्शकको माया त पायो, तर चलचित्रलाई भने फाइदा कम हुने देखिएको छ ।

किनकी, गीतलाई दर्शकले निकै मन पराएको समयमा चलचित्र रिलिज हुँदा त्यसले फाइदा गर्छ । तर, चलचित्र रिलिज हुनका लागि अझै केही महिना कुर्नुपर्ने निश्चित छ ।

गीतमा चलचित्रका मुख्य कलाकार सन्तोष पन्त, रमा थपलिया, रीमा विश्वकर्मा लगायतलाई देख्न सकिन्छ । गीतमा दीपाश्री निरौला, केदार घिमिरे, जीतु नेपाल, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, मिथिला शर्मा लगायतका अतिथी कलाकारले पनि अभिनय गरेका छन् ।

दीपक शर्माको संगीतमा तयार यो गीतमा आनन्द अधिकारीको शब्द, रामकृष्ण ढकाल र मेलिना राइको स्वर छ ।

साकार पन्तको निर्देशनमा तयार भएको यस चलचित्र अब कहिले रिलिज हुने हो भन्ने पत्तो छैन ।

तपाईको प्रतिक्रिया