काठमाडौं । कोरोनाको त्राश र लकडाउन झेल्दै अमेरिकाको प्रख्यात गायन रियालिटी शो ‘अमेरिकन आइडल’ को भिडन्त क्लाइमेक्समा पुगेको छ । जारी १८औं संस्करणमा नेपाली युवा दिवेश पोखरेल (आर्थर गन) ले पनि उपाधिको दावेदारी प्रस्तुत गरिरहेका छन् ।

क्यालिफोर्नियाको समयअनुसार आइतबार बेलुकी ८ बजे (नेपालमा सोमबार बिहान) टप ७ को प्रतिस्पर्धा सुरु हुनेछ । सुरुमा अघिल्लो साता भएको भोटिङका आधारमा टप ५ को घोषणा गरिनेछ र दुईजना प्रतिस्पर्धाबाट बाहिरिने छन् । त्यसपछि लगत्तै पाँच जनाका लागि भोटिङ खुल्ला हुनेछ । फाइनल राउण्डमा टप ५ प्रतियोगीले दुई-दुईवटा प्रस्तुति दिने छन् । तीन निर्णायकहरु र पूर्व अमेरिकन आइडलहरुले पनि प्रस्तुति दिने भनिएको छ ।

गत १६ फेब्रुअरीबाट एबीसी टेलिभिजनमा प्रिमियर भएको अमेरिकन आइडल यसपालिको फर्म्याटअनुसार सुस्त थियो । टप २० सम्म आइपुग्न २ महिनाभन्दा बढी लाग्यो । तर, त्यसपछि भ्यागुतो उफ्रझैं तीन साताभित्रै फाइनल राउण्डमा पुगेको हो ।

लकडाउनका कारण पछिल्ला दुई एपिसोडहरुमा प्रतियोगीले आ-आफ्नै घरबाट प्रस्तुति दिने व्यवस्था मिलाइएको थियो ।

फाइनलमा पनि यही तरिका अपनाइने छ । टप ५ प्रतिस्पर्धीले दर्शकको भिडमाझ गाउन पाउने छैनन् । उनीहरुले घरबाटै गाउने र जजहरुले पनि घरबाटै हेर्ने गर्नेछन् । टिभी स्टुडियोमा प्रस्तोता मात्रै हुन्छन् । भिडियो कन्फ्रेसमार्फत १८ औं अमेरिकन आइडलको घोषणा हुने हुने छ ।

अमेरिकन आइडलमा दिवेशको सम्भावनाको बारेमा चर्चा गर्नुअघि टप ७ मा पुगेका अन्य ६ प्रतिस्पर्धीहरुलाई नियालौं ।

यस्ता छन् प्रतिस्पर्धी

टप ७ मा पुगेकामध्ये दिवेशसहित ४ जना विदेशी मूलका हुन् । उमेरको हिसाबमा उनीहरु १९ देखि २६ वर्षसम्मका छन् ।

यस्ता छन् टप ७ का प्रतिस्पर्धी :

जस्ट साम

२१ वर्षीया समन्था डियाजनकेा स्टेज नाम जस्ट साम हो । न्यूयोर्क निवासी लाइबेरियन मूलकी अश्वेत गायिका सामले मिडल स्कुलदेखि नै न्यूयोर्कका सव वे र ट्रेनहरुमा गाउने गर्थिन् । उनी सानो छँदा आमा जेल परेकाले उनलाई हजुरआमाले हुर्काएकी हुन् ।

उनले पहिलो अडिसनबाटै निर्णायकहरुलाई प्रभावित तुल्याउँदै आएकी छिन् । सामलाई जिताउनका लागि लाइबेरियामा अभियान नै चलिरहेको छ । यसपटक अमेरिकन आइडलको दावेदारका रुपमा उनलाई हेरिएको छ । उनी टप ७ मा पुग्ने एक मात्र महिला हुन् ।

जोनी वेस्ट

जोनी वेस्टलाई उनकी गर्लफ्रेन्ड मार्गी मेजले अमेरिकन आइडलमा भाग लिन लगाएकी थिइन् । मार्गीले पनि अडिसन दिएकी थिइन् तर छनोट हुन सकिनन् ।

जोनीको आफ्नै ब्याण्ड छ । ‘जोनी वेस्ट ब्याण्ड’ मार्फत उनले स्थानीय कार्यक्रमहरुमा प्रस्तुति दिँदै आएका छन् । उनले ‘आइ विल सी’ बोलको गीत रेकर्ड गराएका छन् जसको म्युजिक भिडियो यूट्यूवमा छ । क्यालिफोर्नियामा बस्ने २३ वर्षीय जोनी एक पियानो टिचर पनि हुन् ।

फ्रान्सिस्को मार्टिन

सान फ्रान्सिस्कोका बासिन्दा फ्रान्सिस्को मार्टिन अमेरिकन आइडलका अर्का लोकप्रिय प्रतियोगी हुन् । १९ वर्षीय मार्टिनलाई पहिलो अडिसनबाटै जजहरुले फाइनलको दावेदारका रुपमा हेरेका थिए ।

फ्रान्सिस्को फिलिपिनो नागरिक हुन् । उनी अहिले कलेज पनि पढिरहेका छन् । अमेरिकन आइडलका जज लुक ब्रायनले अडिसनपछि उनलाई कलेजको पढाइ छोडेर पूर्णरुपमा संगीतमा लाग्नसमेत सुझाव दिएका थिए ।

डिल्लोन जेम्स

क्यालिफोर्नियाका बासिन्दा डिल्लोन जेम्स अहिले एउटा कम्पनीमा काम गर्दै आफ्नो संगीत करिअरलाई अघि बढाइरहेका छन् । उनलाई परिवारको ठूलो सपोर्ट छ ।

२६ वर्षीय डिल्लोनले गत अप्रिलमा मात्रै ‘अनस्टेबल प्राइड’ नामको एल्बम रिलिज गरेका थिए । त्यसो त उनले सन् २०१२ मा नै न्यूयोर्कमा एउटा अन्तर्राष्ट्रिय गीत लेखन प्रतियोगितामा भाग लिएर उपाधि नै जितेका हुन् । तर, लागु औषधको दुर्व्यसनमा लागेर उनले आफ्नो संगीत करिअरलाई झण्डै बर्बाद पारेका थिए ।

जुलिया गर्गानो

२१ वर्षीया जुलिया गर्गानो न्यूयोर्कमा बस्छिन् । कलेजकी विद्यार्थी उनी गीत गाउनुका साथै लेख्ने पनि गर्छिन् । उनले न्यूयोर्कका हट स्पटहरुमा गाउँदै आएकी छन् ।

जुलियाको आफ्नै ब्याण्ड पनि छ । अमेरिकन आइडलको अडिसनमा उनले आफैंले लेखेको गीत गाएकी थिइन् । उनले १३ वर्षको उमेरदेखि नै व्यवसायिकरुपमा गीत गाउन थालेकी हुन् ।

लुइस नाइट

अमेरिकन आइडलको टप ७ मा पुग्ने लुइस राइट ब्रिटिश मुलका हुन् । उनी वासिङ्टन डीसीमा बसोबास गर्छन् ।

लुइ उपनामले चिनिने १९ वर्षीय लुइस कुशल पियानोवादक हुन् । गत वर्षको जुलाईमा उनले आफ्नो पहिलो गीत रिलिज गरेका थिए, जुन हिट भएको थियो । उनी एउटा पिज्जा हाउसमा डेलिभरी पर्सनका रुपमा पार्ट टाइम काम गर्छन् ।

दिवेशको सम्भावना कति ?

यसपालि अमेरिकन आइडलमा अहिले दिवेश नै सबैभन्दा चर्चित प्रतियोगी हुन् । उनको फ्यान फलोइङ नेपालीमाझ मात्र नभए अमेरिकीहरुमा पनि उत्तिकै देखिएको छ । गायकीले मात्र नभएर विनम्र स्वभावका कारण पनि दिवेशलाई धेरैले मन पराएका छन् ।

विभिन्न अनलाइन सर्भेक्षणहरुले पनि उनलाई प्रबल दावेदार मानेका छन् । सामाजिक सञ्जालमा सबैभन्दा बढी फ्यान फलोइङ उनको छ । तर, अन्य प्रतिस्पर्धि कमजोर छन् भन्ने होइन । गायिकाको हिसाबले सातै जना अब्बल छन् । सबैको फरक-फरक स्टाइल छ । दिवेशचाहिँ ‘रफ’ आवाजका लागि चिनिएका छन् । रक जनराका गीतमा जम्दै आएका उनले गत एपीसोडमा भने मेलोडियस गीत पनि सुन्दर तरिकाले गाएका थिए ।

अन्तर्राष्ट्रिय मञ्चमा कुनै नेपाली पुग्यो भने संसारभरका नेपालीहरु एकजुट भएर उसलाई जित्न सघाउने परम्परा नै बनिसकेको छ । भोटिङका आधारमा फैसला हुने धेरै उपाधि नेपालीहरुले घर ल्याएका पनि छन् । त्यसैले भोलिको नतिजा पनि दिवेशको पक्षमा आयो भने आश्चर्य हुने छैन ।

नेपाली समुदाय उत्साहित

कोभिड १९ को सबैभन्दा बढी चपेटामा परेको देश हो अमेरिका । महामारीका कारण त्यहाँको जनजीवन अस्तव्यस्त नै छ । अमेरिकाको नेपाली समुदायमा पनि महामारीको असर नपर्ने कुरा भएन ।

कोरोनाको त्राश र निराशाका बीच पनि दिवेशलाई अमेरिकन आइडल बनाउन नेपालीहरुमा राम्रै उत्साह छ । अरुबेला फलानो जात र ढिस्कानो जातका भनेर छुट्टिने नेपाली समुदायलाई दिवेसले एक ठाउँमा ल्याएका छन् । उनले आइडल जितेमा ‘अमेरिकीहरुले नेपाल चिन्ने’ लोभ पनि नेपालीहरुलाई छ ।

कोलोराडोमा बस्ने तारा नेपाल भन्छन्, ‘दिवेश अमेरिकन आइडल भए भने डोनाल्ड ट्रम्पले पनि नेपाल चिन्थे कि ?’

न्यूयोर्कमा बस्ने सरगम भट्टराईले फेसबुकमा लेखेका छन्, ‘नेपाली बाबु दिवेश (आर्थर गन) ले अमेरिकन आइडलमा बाजी मार्ने देखिँदै छ है । नेपालीहरु विदेशमा जतिसुकै दल र समुह बनाउन्, परेको बेलाचाहिँ एकै ठाउँ आउँछन् । यो अति सुन्दर पक्ष हो । आइतबार मज्जाले भोट गर्नुपर्छ है त ।’

त्यसो त विश्वकै सबैभन्दा चर्चित गायन रियालिटी शो दिवेशले जितेको खण्डमा त्यो अमेरिका मात्र नभएर विश्वभरकै नेपालीका लागि गर्वको कुरा हुने छ ।

भोट कसरी ?

विगतमा नेपाली मूलका प्रशान्त तामाङले इन्डियन आइडलमा प्रतिस्पर्धा गर्दा नेपालमा ठूलै उमंग थियो । त्यसबेला नेपालीहरुले पैसा उठाएर भोट गर्ने अभियान नै चलाएका थिए ।

यसपटक कोभिड-१९ को त्राश र लकडाउनका कारणले पनि दिवेशका पक्षमा नेपालभित्र ठूलो भोटिङ अभियान देखिएको छैन । दिवेशलाई अमेरिका बाहिरबाट भोट दिन पाइन्छ वा पाइँदैन भन्नेमा शंसय समेत छ । अमेरिकन आइडलमा आधिकारिकरुपले अमेरिकाबाट मात्रै भोट गर्न सकिन्छ ।

अमेरिकाबाट भोट गर्नका लागि तीन तरिका छन् । पहिलो idolvote.abc.com मा गएर भोट गर्न सकिन्छ । दोस्रो, अमेरिकन आइडलको एप डाउन गरेर र तेस्रो, एसएमएसबाट । अमेरिकामा एसएमएसमार्फत भोट गर्नका लागि प्रतियोगीको कोड नम्बर टाइप गरेर २१५२३ मा पठाउनुपर्छ । दिवेशको नम्बर १६ हो ।

माथि उल्लेखित विधिहरुबाट तोकिएको समयभित्र अमेरिकामा एकजनाले १० वटासम्म भोट गर्न सक्छन् । नेपालसहित अन्य देशहरुबाट भोट गर्न मिल्ने औपचारिक व्यवस्था छैन । यद्यपि, भीपीएन एप्लिकेसन प्रयोग गरी अन्य देशबाट पनि अमेरिकन आइडलमा भोट हाल्ने गरिएको छ । डिभाइसमा भीपीएन डाउनलोड गरेर त्यसमा आफू अमेरिकामा रहेको जनाई माथिको प्रक्रियाबाट भोट हाल्ने गरिन्छ ।

के छ पुरस्कार ?

अमेरिकन आइडलको बिजेताले ६ वटासम्म एल्बमका लागि एउटा चर्चित कम्पनीबाट महँगो रकममा सम्झौता प्राप्त गर्ने छ । यसैगरी अमेरिकन आइडलसँग आवद्ध १९ म्यानेजमेन्टसँग व्यवस्थापन सम्झौता हुनेछ ।

अघिल्लो वर्ष विजेताले हलिउड रेकर्ड्ससँग एल्बमका लागि सम्झौताका साथमा एक लाख २० हजार डलर नगद पुरस्कार पाएका थिए । साथै, उनलाई एल्बमको काम सकिएपछि अतिरिक्त एक लाख २० हजार डलर पनि दिइएको थियो ।

यसैगरि, एल्बम रेकर्डिङका क्रममा प्रत्येक हप्ता एक हजार डलर र एल्बमको रोयल्टीबापत एक हजार डलरका दरले दिइएको थियो । बिजेता भएको चार महिनाभित्रमा पहिलो एल्बमको काम सक्नुपर्ने हुन्छ । कम्पनीले एल्बमका लागि गरिएको मार्केटिङ खर्चको ५० प्रतिशत विजेताले व्यहोर्नुपर्ने प्रावधान छ ।

दशौं एपिसोडसम्म दोस्रो हुनेहरुले पनि एल्बमका लागि सम्झौता प्राप्त गर्थे । तर, ११ औं एपिसोडदेखि फर्स्ट रनरअपले एउटा गीतका लागि मात्रै सम्झौता गर्न सक्छन् । टप १०मा पुगेका सबैले वर्ल्ड टुरको अवसर पाउनुका साथै ६ अंकमा पारिश्रमिक प्राप्त गर्ने गर्थे । तर कोरोनको महामारीका कारण यसपालि त्यो अनिश्चित बनेको छ ।

तपाईको प्रतिक्रिया