काठमाडौँ — नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलमा उपविजेता बन्न सफल भएका छन् । शोको उपाधि जस्ट स्यामले जितेकी छन् ।उत्कृष्ट पाँचमा पुगेका अन्य प्रतियोगीभन्दा धेरै भोट पाएपछि स्यामलाई विजेता घोषणा गरिएको हो । कोरोना भाइरसको त्रास छाइरहेका बेला दिवेशको यो उपलब्धिले नेपाली समुदायमा उत्साह छाएको छ ।

अमेरिकन आइडलको १८ औं संस्करणको अडिसन राउन्डदेखि नै दिवेशले चर्चा बटुलेका थिए । निर्णायक लियोनल रिचीले दिवेशको गायिकीलाई बब मार्लीसँग दाँजेका थिए । अर्का निर्णायक लुक ब्रायनले पहिल्यै भनिसकेका थिए– ‘मेरो विचारमा दिवेश हामीले अमेरिकन आइडलमा अहिलेसम्म पाएकामध्ये सबैभन्दा ठूलो स्टार हुन सक्छन् ।’

हाल अमेरिकाको कान्सास, विचिटामा बस्ने दिवेशको स्टेज नेम ‘आर्थर गन’ हो । यो शो एबिसी टेलिभिजनबाट प्रसारण भएको थियो । कोभिड–१९ का कारण सबै प्रतियोगीले घरबाटै प्रस्तुति दिएका थिए ।

को हुन् दिवेश ?

दिवेश काठमाडौंमै जन्मिए, हुर्किए, उनी बच्चैदेखि गुन्गुनाउँथे, गिटार बजाउन खोज्थे, जबकी उनको परिवार र आफन्त कोही संगीत क्षेत्रमा थिएनन् । उनले भनेका छन्, ‘मैले मेरो पहिलो गिटार आमाबाट पाएँ । रेडियो, टिभी जहाँ जुन गीत सुने पनि सँगै गाइहाल्थें । त्यहीँबाट गाउने सपना सुरु भयो ।’

उनको परिवार सन् २००८ मा अमेरिका बसाइँ सर्‍यो तर पढाइका कारण उनीचाहिँ सन् २०१४ तिर अमेरिका गए । जतिबेला उनले गायनलाई गम्भीर रुपमा अँगालिसकेका थिए ।

धेरैलाई थाहा नहुनसक्छ, दिवेशले पब र कफिसपमा पनि गाएका छन् । सन् २०१८ मा उनले डेब्यु एल्बम ‘ग्रहण’ सार्वजनिक गरे । यसमा आठ नेपाली गीत छन् । अर्को वर्ष ‘खोज’ एल्बम ल्याए । यसको शिर्षसहित ‘म…’ र ‘कर्णाली…’जस्ता गीतले धेरथोर चर्चा कमाए । बब डिलन, निक डार्क र बुक्का ह्‍वाइटलगाएतका संगीतकर्मी उनका आर्दश हुन् । उनले संगीतको औपचारिक शिक्षा भने लिएका छैनन् ।

दिवेशले स्टेज नेम ‘अर्थर गन’ दुई वर्षअघि आफैंले जुराएका हुन् । त्यतिबेला उनी अठारौं शताब्दीका प्रभावशाली कवि अर्थर रिमवोडका कविताहरु पढ्दै थिए । ‘मलाई अर्थरका शब्दहरु निकै आधुनिक लाग्यो र उनकै नामबाट स्टेज नेम राखें । यो नाम सजिलो पनि छ जस्तो लाग्छ,’ दिवेशले प्रस्ट्याएका छन् ।

तपाईको प्रतिक्रिया