१. गजल
क्षितिज बाट उज्यालो छिप्नै लाग्दा भेटियौ,
मेरो विश्वासको दियो निभ्नै लाग्दा भेटियौ।

लिलामिमा राखेकोथ्यो समयले खुसी,
कोहि आएर पहिलै किन्नै लाग्दा भेटियौ।

न त अघि बढ्न सक्छु न पछि फर्कनै,
बाध्यताको पैह्रोले थिच्नै लाग्दा भेटियौ।

हार खाएकि मान्छे म केही आशा छैन,
एक मुठी सास यो रित्तिनै लाग्दा भेटियौ।

उकाली ओरालि सँग सँगै गर्नु हुन्थ्यो,
यात्रा जिन्दगीको सक्किनै लाग्दा भेटियौ।

शारदा खड्का
रामेछाप

२.गजल
समय घर्के पछि आउनुको के अर्थ,
तिमिलाई आफ्नो बनाउनुको के अर्थ।

दिलको भित्ताभरि अनगिन्ति चित्र छन्,
भरिएको ठाउँमा अटाउनुको के अर्थ।

केही छैन बचाएकि मैले तिम्रो लागि,
रित्तो रित्तो जिन्दगीमा धाउनुको के अर्थ।

सुख दुख सँगै बाँड्ने रहर मेरो पनि,
अधुरा रहरहरु सजाउनुको के अर्थ।

तन,मन,जीवन जम्मै बन्दकिमा छन,
बेनामि साइनो लगाउनुको के अर्थ।

शारदा खड्का
रामेछाप

३.गजल
समयले यहि पल फेरि बनाउला,
कसैलाई अघि कसैलाई पछि बनाउला।

रोबर्ट बनायो विज्ञानले सजिलै,
मेरो जस्तै दिल त्यसमा कसरी बनाउला।

यो घाम पनि कति साह्रो बेईमानि,
उसै त काली म भरे कस्ति बनाउला।

बा भन्नुहुन्छ कसैको विश्वास नगर्नु,
स्वार्थि छ दुनियाँ अपराधी बनाउला।

प्रियको खुसिमै आफ्नो खुसि देखेकिछु,
सके घर नसके जिन्दगी बनाउला।

शारदा खड्का
रामेछाप

तपाईको प्रतिक्रिया