केही दिनयता डेक्सामेथासोन नामक औषधिले यूकेमा कोरोनाभाइरस सङ्क्रमणबाट गम्भीर बिरामीहरूको उपचारमा प्रभावकारी भूमिका खेलेको दाबी गरिएसँगै मानिसहरूमा केही आशा जागेको छ ।

उक्त औषधिले कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान जोगाउन सक्ने देखाएपछि यूकेको स्वास्थ्यसम्बन्धी निकाय न्याश्नल हेल्थ सर्भिस (एनएचएस) ले तुरुन्तै प्रयोग गर्न सकिने बताएपनि विभिन्न अवस्थामा हानिकारक हुन सक्ने हुँदा यसको प्रयोगबारे सचेत हुनुपर्ने चिकित्सकहरूले चेतावनी दिएका छन् ।

डेक्सामेथासोन एक स्टेरोइड हो जसले शरीरमा दुखाइ कम गर्ने हर्मोनले जस्तै काम गर्छ । शरीरले कोरोना भाइरससँग लड्ने क्रममा सङ्क्रमणका कारण जलन उत्पन्न हुन्छ ।

कहिलेकाहिँ प्रतीरक्षा प्रणाली अत्यधिक सक्रिय भएर सङ्क्रमणसँग जुझ्नका लागि बनेका प्रतीरक्षाले नै शरीरका कोषलाई आक्रमण गरिदिन्छ र प्रतिक्रिया घातक सिद्ध हुन सक्छ ।

डेक्सामेथासोनले शरीरको प्रतिरक्षा प्रणालीलाई ओसिलो बनाएर यसको प्रभावलाई न्यूनीकरण गर्छ ।

अस्पतालमा भर्ना गरेर अक्सीजन तथा भेन्टीलेटरको सहायता लिइरहेकाहरूका लागि मात्रै उपयुक्त हुने डेक्सामेथासोनले सामान्य लक्षण देखिएका व्यक्तिमा काम गर्दैन ।

अक्सफोर्ड विश्वविद्यालयले गरेको परीक्षणका क्रममा करिब २१ सय बिरामीहरूले १० दिनसम्म छ मिलिग्राम डेक्सामेथासोन दिइएको थियो ।

उनीहरूको अवस्थालाई थप उपचार नगरिएका ४३ सय जनाबाट सङ्कलन गरिएको नमुनासँग तुलना गरिएको थियो ।

परीक्षणमा संलग्न वैज्ञानिकहरूले डेक्सामेथासोनले औसतमा भेन्टीलेटरमा उपचार गराएका २५ जनामध्ये एक र अक्सिजन दिइएका आठ जनामा एक जनाको मृत्यु हुनबाट जोगाउन सकिने देखाएको बताएका छन् ।

श्वासप्रश्वासमा समस्या नदेखिएका बिरामीहरूमा भने डेक्सामेथासोनको फाइदा देखिएको छैन ।

सस्तो र राम्रै स्तरमा उत्पादन भइरहेको डेक्सामेथासोन शरीर सुन्निनेदेखि दम र जोर्नीको दुखाइ कम गर्न यसको प्रयोग हुँदै आएको छ ।

कोरोना भाइरस सङ्क्रमितहरूले डेक्सामेथासोनको कम मात्रा सेवन गर्नु पर्ने हुँदा साइड इफेक्ट कम हुन्छ ।

तर, डेक्सामेथासोनका निन्द्रा लाग्न गाह्रो हुने, तौल बढ्ने, शरीरमा तरल पदार्थ कम नहुने, आँखामा समस्या देखिने, दृष्टि कमजोर हुने, रक्तस्राव हुन सक्ने जस्ता साइड इफेक्टहरू छन् ।

डेक्सामेथासोन वयस्कहरूका लागि पनि सिफारिस गरिएपनि गर्भवती वा स्तनपान गराइरहेका आमाहरूले भने यसको प्रयोग गर्न नहुने बताइएको छ

तपाईको प्रतिक्रिया