नेपाली चलचित्र क्षेत्रका २० वर्षभन्दा लामो समयदेखि निरन्तर योगदान पुर्‍याउँदै आएका १७८ जना अनुभवी फिल्मकर्मीहरूलाई चलचित्र विकास बोर्डले शुक्रबार विशेष समारोहबीच ‘चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ।

बोर्ड परिसरमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार, निर्देशक, निर्माता र प्राविधिकहरूलाई सम्मानपूर्वक परिचयपत्र वितरण गरियो। यस कदमले नेपाली फिल्मकर्मीहरूको पेशागत पहिचानलाई औपचारिक मान्यता दिएको भन्दै सबै पक्षबाट प्रशंसा गरिएको छ।

साथै, बोर्डले परिचयपत्रसँगै फिल्मकर्मीहरूको सामाजिक सुरक्षा र स्वास्थ्य बीमा योजना पनि प्रारम्भ गरेको छ।विशिष्ट फिल्मकर्मीहरूका लागि वार्षिक रु. १ लाख ५० हजार बराबरको स्वास्थ्य बीमा सुविधा भने सामान्य फिल्मकर्मीहरूका लागि वार्षिक रु. ७५ हजार बराबरको बीमा सुविधा उपलब्ध गराइने भएको छ।

कार्यक्रममा सहभागी फिल्मकर्मीहरूले यो पहलले आफूहरूको व्यावसायिक पहिचान, सम्मान र सुरक्षामा ठुलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।
चलचित्र विकास बोर्डका अध्यक्षले भने,“चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम नेपाली फिल्म क्षेत्रका श्रमिकहरूको पहिचान र सुरक्षातर्फको ऐतिहासिक कदम हो।”

तपाईको प्रतिक्रिया