अहिले भारतीय संचारमाध्यमले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका विरुद्ध जुन खालको आक्रमण गरिरहेका छन् ,त्यसका पछाडि मुलतः पाँच कारण देखिन्छन् । प्रधानमन्त्री ओलीमाथि भारतीय संस्थापन नाकाबन्दीदेखि खुशी देखिदैन । त्यहाँ देखिनै नेपालले सार्बभौमसत्ता र स्वभिमानको झण्डालाई गर्विलो र दरिलो ढ्ङ्गले उचालेको हो । त्यससङ्गै भारत ओली विरुद्ध लागेको कसैले नजर अन्दाज गर्न कठिन छैन ।

खासगरी नाकाबन्दीका बेला ओलीले लिएको अडान, नेपालको नयाँ नक्सा जारी , सत्ताच्युत गर्न गरेको भगिरथ असफल प्रयास, चीन घेर्ने भारतीय योजनाका कारण अहिले पनि ओलीलाई निशामा पारिएको देखिन्छ । त्यो भन्दा अर्को लुप्त कारण पनि छ त्यो भनेको गोकुल बास्कोटा संचारमन्त्री हुँदा ल्याएको बिज्ञापन ऐनमा भारतीय च्यानललाई नेपालमा क्लिन फिड ब्यबस्था हुनु पनि हो ।

प्रधानमन्त्री केपी ओलीले राष्ट्रियताको पक्षमा आफुले चट्टानी अडान लिदा भारत र आफ्नै पार्टीका केही नेता आफुलाई सरकारबाट हटाउन लागी परेको पटक पटक सार्वजनिकरुपमा भन्दै आईरहेका बेला प्रधानमन्त्री ओलीले भने जसरी नै पछिल्ला दिनमा भारतीय केही संचारमाध्यम ओली विरुद्ध बीस बमन गर्दै उत्रेका छन । उनीहरु लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नेपालको नयाँ राजनीतिक नक्शा जारी गरेदेखि नै प्रधानमन्त्री ओली विरुद्ध उत्रदै आएका छन ।

भारतीय संचारमाध्यम खासगरी भारतले नेपाल विरुद्ध नाकाबन्दी लगाएका बेलाओली पहिलो पटक प्रधानमन्त्री बनेपछि जुन ढङ्गले राष्ट्रियताका पक्षमा जुन अडान लिनुभयो त्यसपछि ओली विरुद्ध प्रहार सुरु गरेका हुन् । पछिल्लो पटक नेपालको नयाँ नक्सा जारी गरेपछि ओली विरुद्ध भारतीय संचारमाध्यम अनर्गल र स्तरहीन रुपमा प्रस्तुत भैरहेका छन् । अहिले हेर्दा हाम्रा प्रधानमन्त्री माथी प्रहार गरेजस्तो देखिए पनि अन्तर्य चाहिँ नेपाल र नेपालीको राष्ट्रिय स्वाभिमान माथिको आक्रमण हो ।

यो मात्रै होईन भारतीय सञ्चारमाध्यमले बारम्बार नेपालको बेइज्जत र अपमान गर्दै आएको लामो श्रृखला छ । अहिले प्रधानमन्त्री ओलीको चरित्र हत्या गर्नेगरी निरन्तर अभियान नै चलाएका छन् । कहिले चीनले उचाल्यो भनेर त कहिले नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीसङ्ग जोडेर त कहिले के जोडेर प्रोपोगन्डा चलाईरहेका छन् । जुन शैली आपत्तिजनक र निन्दनीय त छदैछ, यो व्यक्तित्व र अस्मितामाथिको प्रहार पनि हो ।

यसले नेपाल र भारत बीचको सम्बन्धमा दरार ल्याउने काम गरेको छ भने दुई देशका जनता बीचमा पनि दुश्प्रचार गरेको छ । यो कार्य गम्भीर अपराध हो । ओलीमाथि बिषबमन गरिरहेका भारतीय सञ्चारमाध्यम अहिले नेपाल विरुद्ध अनेक प्रोपोगन्डा चलाउदै एककोहोरो प्रलाप गरिरहेका छन् । पत्रकारिताको विश्वब्यापी मान्यता र धर्म विपरीत प्रधानमन्त्री ओली र सिङ्गो नेपालमाथी घृणित आरोप कुनै पनि स्वाभिमानी नेपालीका लागी स्वीकार्य छैन ।

यसर्थ भारतीय सञ्चारमाध्यमको यस्तो घिनलाग्दो, गैरजिम्मेवार र आपत्तिजनक कार्यको विरुद्ध सबै नेपाली एकजुट भएर प्रतिबाद गर्न जरुरी छ। एकातिर भारतीय मिडिया द पायोनियरले भारतको संस्थापनले नरुचाएको भनिएका हाम्रा प्रधानमन्त्री ओलीलाई सत्ताच्युत गर्न अर्थात ओलीको सत्ताको भविष्य निर्धारण गर्न भारतीय गुप्तचर सस्थाका उच्चस्तरीय अधिकारीहरु काठमाडौमा राजनीतिक भेटघाट ब्यस्त रहेको समाचार सार्वजनिक गर्नु र अरु केही मिडियाले ओली सरकार ढल्दैछ भनेर एकोहोरो ढङ्गले प्रचार गर्नुलाई केवल संयोग मात्र मान्न सकिदैन । त्यससँगै ओली माथी चरीत्र हत्या गर्ने तहमा उत्रनु निकै गम्भीर र सोचनीय बिषय हो । नेपाल र नेपालीको राष्ट्रिय स्वाभिमान माथि यो हर्कत गर्ने यस्ता भारतीय च्यानल नेपालीले पैसा तिरितिरी किन हेर्ने ? अहंम् प्रश्न उठेको छ ।

त्यस्ता च्यानलमाथि प्रतिबन्ध लगाउनु पर्छ भन्ने नागरिक आवाज पनि उठेको छ। यस बिषयमा नेपालमा रहेका ती मिडियाका प्रतिनिधिलाई बोलाएर सोध्नु पर्‍यो । त्यसैगरी परराष्ट्र र सञ्चार मन्त्रालय , भारतस्थित नेपाली दूतावासले यस बिषयमा परिणाममुखी पहलकदमी लिन ढिलाई गर्नु हुन्न। त्यस्तै यहाँ स्थित भारतीय राजदुतलाई बोलाएर भन्नुपर्यो । किनकि संसारकै सबैभन्दा ठुलो लोकतान्त्रिक देश भएको दाबी गर्ने भारतको यो पीतपत्रकारिताले दुई देशको सम्बन्धलाई कता लैजादै छ । भारतको यो बिकृत पत्रकारितालाई त्यहाँको सत्ताले नै संरक्षण गरिरहेको छ कि भन्ने आसंका पनि नेपालीले गरेका छन् ।

त्यहाँको सत्ताको चरित्र मिडियामार्फत प्रतिबिम्बित र प्रतिध्वनित त भएको होईन भन्ने बिषय पनि उठ्न थालेको छ । यस्तो परिस्थितिमा यसरी फेक न्युज उत्पादन गरि प्रसारण गर्ने भारतीय मिडियालाई नेपालमा रोक लगाउनुपर्ने माग नागरिक तहबाटै आईरहेका छ। यो बेला उत्तेजित हुनेभन्दा पनि केही न केही एक्सनमा जान जरुरी देखिन्छ नत्र भने भारतीय मिडिया नेपाल विरुद्ध जे बोलेलेखे पनि हुन्छ भनेर भोलि झन् झन् छाडा ढंगले प्रस्तुत हुनेछन् । यश बिषयमा विश्व प्रेस काउन्सिल छ । जस्को नेतृत्वमा प्रेस काउन्सिल नेपाल छ ।

यस मार्फत भारतीय प्रेस काउन्सिललाई सोध्न सकिन्छ । जे होस यो बेला नेपाल र नेपालीको स्वाभिमान माथी दुषित ढंगले प्रचार र प्रहार गर्ने भारतीय मिडियामाथि सरकारले केही न केही एक्सन नलिए भोलि झन् उनिहरुको मनोबल बढ्ने छ भन्ने कुरा बुझ्दै आवश्यक कदम चाल्नुको विकल्प छैन ।भारतीय मिडियाको हर्कत प्रधानमन्त्री ओली र नेपाल–चीन सम्बन्ध बिरुद्ध मात्र हैन, नेकपा, नेपालको राजनीतिक प्रणाली, नेपालको राष्ट्रिय अस्मिता एबम् नेपाली जनताको आत्मसम्मान दृष्टिले समेत घोर आपत्तिजनक, निन्दनीय र खेदजनक छ ।

यो बेला आन्तरिक मतभेद थाती राखेर हाम्रो आत्मस्वाभिमान र सार्बभौमसत्ताको खातिर एकजुट हुनु अहिलेको आवश्यकता हो । एक अर्काको कमजोरी होईन हाम्रो पौरख र पहिचान देखाउनेतिर लागौ ।

(लेखक न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष हुनुहुन्छ)

साभार : चक्रपथ डट कम

तपाईको प्रतिक्रिया