परिक्षेद सेनको निर्देशनमा बन्न लागेको बहुप्रतिक्षित फिल्म ‘महाराजधिराज’ले आफ्नो कलाकार टिमलाई अझ सशक्त बनाएको छ। नयाँ र पुराना पुस्ताका चर्चित कलाकारहरूको प्रभावशाली उपस्थितिले फिल्म सुरुदेखि नै चर्चामा छ, र अब अभिनेत्री केकी अधिकारी को प्रवेशले यो चर्चा थप चुलिएको छ।
निर्माण टिमले बुधबार औपचारिक रूपमा केकीलाई ‘महारानी’ पात्रमा अनुबन्धित गरेको हो। यसअघि उक्त भूमिकामा वर्षा सिवाकोटी रहने चर्चा थियो, तर अन्ततः केकीलाई चयन गरिएको बुझिएको छ। कागजी सम्झौतापछि प्रस्तुतकर्ता विराज विष्ट ले सामाजिक सञ्जालमार्फत स्वागत गर्दै लेखेका छन् “महाराजधिराजकी महारानीलाई सु-स्वागतम्। यहाँको उपस्थिति र हौसलाका निम्ति म हृदयदेखि नै कृतज्ञ छु।”
फिल्ममा केकीको जोडी अभिनेता पुष्प खड्का सँग बाँधिनेछ। साथै, कलाकारहरूको लामो सूचीमा नीर शाह, रमेश उप्रेती, आर्यन सिग्देल, वर्षा राउत, गजित विष्ट, उषा रजक, हिउँवाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी र आशा पौडेल लगायत झण्डै ८० कलाकारहरूको सहभागिता रहने बताइएको छ।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा बन्ने यस फिल्मका निर्माता रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट हुन् भने छायांकन नवराज थापा ले गर्नेछन्।
वैशाख अन्तिमबाट छायांकन सुरु गर्ने तयारी गरिएको फिल्मको पहिलो चरण सुनसरीको श्रीलंका टापुबाट सुरु हुनेछ। त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरमा पनि सुटिङ गरिनेछ। निर्माण टिमले फिल्मलाई यस वर्षको दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ।
ठूलो कलाकार समूह, फरक सेटिङ र बलियो प्रस्तुतिका कारण ‘महाराजधिराज’ अहिलेबाटै नेपाली फिल्म बजारको बहुप्रतिक्षित प्रोजेक्टको रूपमा उभिएको देखिन्छ।










