काठमाडौँ । २०१५ सालमा राष्ट्रिय स्वास्थ्य तथा खेलकुद परिषद गठन भएपछि नेपालमा खेलकुदको संस्थागत विकासको हुन थालेको हो । पछि २०१७ सालमा यसको नामकरण राष्ट्रिय खेलकुद परिषद् हुन गयो ।

२०२१ सालमा राष्ट्रिय खेलकुद परिषद ऐन राष्ट्रिय पन्चायतबाट लालमोहर लाग्यो । ऐन संसोधित रूपमा अहिलेसम्म लागू छ । त्यसैको आधारमा मुलुकको खेलकुद थियो ।

अहिले २०७७ साल असार ११ गते राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को प्रमाणीकरणपछि नेपालमा खेलकुद सम्बन्धि नयाँ ऐन को लागू भएको छ ।

नयाँ ऐन प्रचलनमा आउनेबित्तिकै अस्तित्त्वमा रहेको राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवका साथ साथै सम्पूर्ण पदाधिकारीहरूको पदाधिकार स्वत: निष्क्रिय भएको छ ।

नयाँ ऐनमा आधारित राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव सिफारिस सम्बन्धि कार्यविधि २०७७ समेत बनेको छ ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३ बमोजिम स्थापना भएको राष्ट्रिय खेलकुद परिषदको सदस्य-सचिव नियुक्ति गर्नका लागि सोही ऐनको दफा १७ को उपदफा (३) बमोजिम गठन भएको सिफारिस समितिले सोही दफाको उपदफा (५) बमोजिम सिफारिसलाई व्यवस्थित, पारदर्शी बनाई खेलक्षेत्रको उन्नतिमा विशेष नेतृत्त्व गर्न सक्ने उपयुक्त उम्मेदवारको छनौट गर्न सहज होस् भन्ने उद्देश्यले सिफारिस समितिको पहिलो बैठकबाट यो कार्यविधि तयार गरिएको हो ।

सोही अनुसार राष्ट्रिय खेलकुद परिषदको सदस्य-सचिव नियुक्तिका लागि ऐनको दफा १७ को उपदफा (२) बमोजिम योग्यता पुगेका उम्मेदवारहरूबाट सूचना प्रकाशन भएको मितिले (प्रकाशित मिति: २०७७/०३/२६) ७ दिन भित्र मन्त्रालयमा निवेदन सहित संक्षिप्त कार्ययोजना पेश गर्न गरेको आह्वान अनुसार योग्य उम्मेदवारहरूले आ-आफ्नो दाबीका साथ आवेदनहरू बुझाउने प्रक्रिया सुरु भएको छ ।

राखेप सदस्यसचिवको यही दौडमा छन्, लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय रहेका रोशन महर्जन ।

खेलकुदमा २०५० सालदेखि नै सक्रिय रहेका महर्जन ललितपुर महानगरपालिका वडा नं १७ का स्थायी बासिन्दा हुन् ।

झण्डै ३ दशकको खेलकुदको अनुभव रहेका महर्जन, विगत २ दशकदेखि सूचना प्रविधि क्षेत्रको अनुभव रहेको छ ।

स्नात्तकोत्तरसम्म अध्ययन गरेका महर्जन राजनैतिक हस्तक्षेप नहुने हो भने राखेप सदस्य सचिवको लागि आवेदन दिनेहरूमध्ये आफू सम्पूर्ण रूपमा उपयुक्त उम्मेदवार भएको बताउँछन् ।

खेलकुदमा सानैदेखि मार्सल आर्टस् (सितेरियो) खेलेका महर्जनको रुचि शारीरिक सुगठन रहेको बताउँछन् ।

‘वि.सं. २०४८ सालदेखि आफ्नै टोल लुँखुसिको स्वाधीन वाचनालयमा फलाम उचाल्न थालेको हुँ । वि.सं. २०५० सालदेखि पाटनकै पहिलो जिम क्लब नाईन प्वाइन्ट हेल्थ क्लबमा औपचारिक रूपबाट व्यायाम सुरु गरेक‍ो थिएँ’, उनी सम्झन्छन्, ‘मैले सोही सालदेखि नै शारीरिक सुगठन खेलको प्रतियोगिताहरूमा सहभागीता जनाउन थालेका हुँ ।’

महर्जनले सुरुवाती प्रतियोगिताहरूदेखि नै उत्कृष्ट स्थान प्राप्त गर्दै आइरहेको बताए । उनी भन्छन्, ‘विगत १० वर्ष देखि नेपालको सबैभन्दा पुरानो खेल संस्था नेपाल व्यायाम मन्दिरको कार्यसमितिको सदस्य समेत रही खेल र खेलाडीको लागि विभिन्न कामहरू गर्दै आइरहेको छु ।’

वि.सं. २०७० सालमा शारीरिक सुगठन तथा फिटनेसको राष्ट्रिय स्तरको निर्णायकको लाइसेन्स प्राप्त गरेका महर्जनले नेपालमा खेलकुद र खेलाडीहरूको विकासको लागि पहिलेदेखि नै योजना गर्दै आएको बताउँछन् ।

निर्णायकको लाइसेन्स प्राप्त गरिसकेपछि थुप्रै राष्ट्रिय स्तरका प्रतियोगिताका साथै २०७५ सालमा पुनर्गठित अन्तर्गतको नेपलिज फेडेरेसन अफ शारीरिक बडीबिल्डिङ एण्ड फिटनेसले आयोजना गरेको दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा निर्णायकको भूमिका समेत निभाइसकेका छन् ।

उनी सम्झन्छन्, उक्त प्रतियोगितामा नेपालका खेलाडी उमेश राईले प्रथम स्थान हासिल गरेका थिए । द्वितीय स्थान भने बंगलादेशका खेलाडीले हासिल गरेका थिए ।

महर्जन दक्षिण एशियाली शारीरिक सुगठन संघको निर्णायक कमिटीको अध्यक्ष समेत रहे । लामो समयसम्म आफै खेलाडीका रूपमा समेत रहेका महर्जन आफूलाई खेल र खेलाडीसँग भिजेको अनुभव हुने गरेको बताउँछन् ।

खेलकुदलाई राष्ट्रको प्रतिष्ठाका साथै आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको स्वास्थ्य र विकाससँग समेत जोड्ने उनको कार्ययोजना छ ।

राष्ट्रिय जीवनको सर्वाङ्गीण विकास र त्यसको पूर्वाधारको रूपमा मानसिक, बौद्धि एवं नैतिक क्षमतावान जनशक्ति निर्माणका साथै शारीरिक रूपमा पनि सबल र सक्षम नागरिक आवश्यक पर्ने उनको ठम्याइ छ ।

अनुशासित, देशभक्त नागरिकको निर्माण गर्ने कार्य पनि खेलकुदले गर्ने आफ्नो विश्वास रहीआएको महर्जनले बताए ।

राखेपका माध्यमले सीमित स्रोतसाधन र अपार प्राकृतिक स्रोत भएको हाम्रोजस्तो मुलुकमा खेलकुदलाई दैनिक जीवनको अभिन्न अंगको रूपमा विस्तार गर्दै सबै क्षेत्र र वर्गको सहभागितालाई सुनिश्चित गर्दै मानव पूँजी र खेल उर्जालाई परिचालन गर्नेमा आफू दृढ संकल्पित रहेको उनको भनाइ छ ।

उनी भन्छन्, ‘उत्पादकत्व क्षमता विकास गरेर मुलुकलाई आर्थिक सम्मुनति र विकासतर्फ उन्मुख गराउन दीर्घकालिन दृष्टिकोण बनाउन आवश्यक भएको छ भने अर्को तर्फ खेलकुद शैक्षिक, प्राज्ञिक, प्राविधिक र वैज्ञानिक क्षेत्र भएकोले सामाजिक मान्यता प्राप्त गर्न र खेल विज्ञान र प्रविधिलाई अन्य मुलुकको दाँजोमा पुर्याउन ठोस नीति, कार्यक्रम निर्माण गर्न आवश्यक छ ।’

खेलकुद क्षेत्रका वर्तमान चुनौती:

महर्जन अहिले खेलकुद क्षेत्रमा मुख्यत: आन्तरिक प्रशासनिक एवं सांगठनिक रूपमा पुन:संरचना गर्दै पर्ने र संस्थागत क्षमता विकास गर्न आफू लागि पर्ने बताउँछन् ।

विश्वमा खेलकुद बिशिस्ट सामाजिक संस्थाको रूपमा स्थापित भइसकेको अवस्थामा नेपालमा करिब ६ दशकको इतिहास बोकेको खेलकुद क्षेत्र अझै सामाजिक पहिचान र सरकारी मान्यता एवं प्रतिबद्धताको खोजीमा रहेको भन्दै यसका लागि आफू कटिबद्ध रहने बताउँछन् ।

खेलकुदमा उच्च विज्ञान, प्रविधि र अनुसन्धानको क्षेत्र भएकोले यसका विविध प्राविधिक विकास एवं उन्नयन पनि महर्जन खेलकुदको चुनौतीका रूपमा अर्थ्याउँछन् ।

हाम्रोमा खेलकुदलाई पदकको हार र जितसँग मात्रै जोड्ने परम्परा रहेकोले यसलाई नागरिकहरुको स्वास्थ्य र जीवनशैलीसँग जोड्ने कार्यक्रम र योजना नहुनु उनका नजरमा सबैभन्दा ठूलो चुनौती हो ।

त्यस्तै मुलुकको आर्थिक विकाससँग खेलकुदको उर्जा जोड्न नसकिनु, विश्वको खेलकुद शैक्षिक, वैज्ञानिक उद्योग व्यवसाय, रोजगारी मुलक प्राथमिक क्षेत्रको रुपमा स्थापित हुँदा राज्यले यो क्षेत्रलाई अनुत्पादक क्षेत्रका रूपमा मान्नु पनि चुनौतीका रूपमा रहेको उनको ठम्याइ छ ।

खेलकुदको भौतिक पूर्वाधार मर्मत सम्भार र संरक्षण हुन नसकेर जीर्ण हुनु, उच्च खेलकुद निकायहरू बीच समय समयमा उत्पन्न हुने विवाद तथा असमझदारीले खेलकुद संकटमा पर्ने गरेको उनको अनुभव छ ।

– खेलकुद विज्ञान र प्रविधि बिकास तथा प्रयोगको अभावका कारण अन्तराष्ट्रिय प्रतिस्पर्धामा पदक जित्ने आशा झन् झिनो हुदै गईरहेको छ |

खेलकुदमा लगानी गर्न चाहने नीजि क्षेत्रहरू सरकारको दुरगामी दृष्टिकोण र स्पष्ट नीति नभएका कारण तिनलाई समेट्न गाह्रो भएको समेत उनी बताउँछन् ।

खेलाडीहरूको सुरक्षित भविष्यको ग्यारेन्टी नहुनु, खेलकुद शिक्षालाई संस्थागत रूपमा विकास गर्न नसक्नु, खेलकुदका प्रशिक्षण, प्रतियोगिता तथा अन्य कार्यक्रमहरुलाई निरन्तरता दिन नसक्नु, अपांग, अशक्त तथा विशेष खेलकुदलाई महत्त्व नदिइनु पनि खेलकुद क्षेत्रका ठूला चुनौती रहेको महर्जन बताउँछन् ।

महर्जनको भिजन/मिसन र प्रतिबद्धता

खेलकुदमा व्यापक सहभागिता गराई स्वस्थ र तन्दुरुस्त नागरिक निर्माण गर्ने र अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेर नेपालीको प्रतिष्ठा अभिवृद्धि गर्नेमा आफ्नो मुख्य लक्ष्य रहेको महर्जनले बताए ।

उनले भने, ‘दक्षिण एशियाली मुलुकमा नेपाललाई शसक्त खेलकुद राष्ट्रको रूपमा स्थापित गर्दै राष्ट्रिय प्रतिष्ठा बढाउने मेरो सपना हो ।’

स्वास्थ्य र तन्दुरुस्तीको लागि खेलकुद नागरिकको दैनिक जीवनशैलीका अंगको रुपमा स्थापित गर्न सबै उमेरका नागरिकहरुलाई खेलकुदमा सहभागिताका लागि प्रोत्साहित गर्ने बताउँदै उनले स्थानीय, प्रादेशिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव प्राप्त गर्न स्थानीय देखि अन्तर्राष्ट्रिय स्तरको खेलकुद कार्यक्रमको ब्यबस्थित रूपमा सञ्चालन र आयोजना गर्ने लक्ष्य रहेको समेत बताए ।

महर्जन राष्ट्रिय, अन्तर्राष्ट्रिय विकासक्रम, ज्ञान र अनुभवको आधारमा चार वर्षीय कार्यकालमा नेपालको खेलकुदलाई समय सापेक्षिक, आधुनिकीकरण र वैज्ञानिकीकरण गर्नका लागि खेलकुदको परम्परागत संरचनालाई आमुल परिवर्तन गरि समय सापेक्षरूपमा पुन:संरचना गर्ने र यसको क्षमता अभिवृद्धि गर्ने उनको प्रतिबद्धता रहेको बताउँछन् ।

‘विकास र संवृद्धिका लागि विकसित मुलुकहरूले खेल क्षेत्रका माध्यमबाट नागरिकहरुको स्वास्थ्य र तन्दुरुस्तलाई प्राथमिक रूपमा सम्बोधन गरेर सामाजिक रूपान्तरण, आर्थिक समुन्नति प्राप्त गरेका उदाहरणहरू प्रशस्त रहेको पाइन्छ । तसर्थ यस्तो अभ्यासलाई मुलुकको खेलकुदको गुरुयोजना निर्माण गरेर बिशेष प्राथमिकता दिने मेरो प्रतिबद्धता छ’, उनले भने ।

राखेपले सञ्चालनमा गरेका राम्रा कार्यक्रम र योजनाहरूलाई निरन्तरता दिने बताउँदै उनले खेलकुद क्षेत्रलाई शैक्षिक एवं प्राज्ञिक रूपमा विकास र विस्तार नगरेसम्म सामाजिक मान्यता, आर्थिक विकास, रोजगारीको अवसर प्राप्त मान्यता आफ्नो रहेको उनले बताए ।

‘यस क्षेत्रको डिग्री, उपाधि, प्रमाण पत्र अन्य विधा विषय सरह मान्यता प्राप्त हुन आवश्यक छ’, उनले भने, ‘त्यसका लागि खेलकुद विद्यालय, विश्वविद्यालय मुलुकमा स्थापना अपरिहार्यका लागि विशेष पहली कदम गर्छु ।’

निर्माण भइरहेको भौतिक पूर्वाधारहरूको मापदण्ड र गुणस्तरीय बनाउन विशेष पहल गर्नेमा ध्यान दिनुपर्ने बताउँदै उनले प्रान्त र स्थानीय तहसम्म खेलकुद पूर्वाधार मापदण्ड अनुरूप निर्माण र विकासको पहल समेत आफ्नो ध्येय रहको महर्जनको दाबी रहेको छ ।

साहसी र पर्यटकीय खेलकुदको विकास उनको रूचिको क्षेत्र हो । यसको विकासले मुलत: राष्ट्रको आर्थिक विकासमा र समृद्धिमा टेवा पुग्ने हुँदा दत्तचित्त भएर ती क्षेत्रको निरन्तर विकास गरिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पदक जित्ने आशा साँघुरिँदै गएको परिपेक्ष्यमा मुलुकमा खेल विज्ञान र प्रविधि विकासमा तत्परताका साथ लाग्नुपर्ने आवश्यक छ ।’

इलेक्ट्रोनिक्स डीभाईस, ग्याजेट, मोबाइल आदिको कुलतमा फसिरहेको युवाशाक्तिहरूलाई बचाउन र नैतिक आचरण, व्यवहार, अमन चयन कायम गर्न सबै-भन्दा मितव्ययी र उपयुक्त साधन खेलकुद भएकाले प्रतिभाको खानी बिद्यालयहरूमा खेलकुदलाई अनिवार्य विषयको रूपमा पठन-पाठन गराउन सके भविष्यका सन्ततिको सुरक्षा र मुलुकमा भविष्य सुनिश्चित हुने भन्दै उनले यसतर्फ विशेष ध्यान दिन सरकारलाई ‘कन्भेन्स’ गर्ने समेत आफ्नो योजना रहेको महर्जनले बताए ।

महर्जनले खेलकुदमा महिला सहभागिता, खेल विधाहरुलाई प्राथमिकता अनुसार वर्गीकरण र विकास विस्तार, खेलाडीको भविष्य सुरक्षाको लागि प्राथमिकताको आधारमा छुट्टै ठोस नीति र कार्यक्रम निर्माण गरि सहयोग र सुविधा उपलब्ध गराउने दूरगामी लक्ष्य रहेको बताए ।

‘यी सबैका लागि तदारुक, जिम्मेवार, अनुभवी र इच्छाशक्ति भएको नेतृत्व चाहिन्छ’, उनले भने, ‘अब नेपालले खेलप्रतिभाबाट राष्ट्रिय प्रतिष्ठा र आर्थिक समृद्धि हासिल गर्ने समय हो ।’

तपाईको प्रतिक्रिया