कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले लकडाउनको घोषणा गरेपछि करिब ३ महिना नेपाली कलाकारहरुको दिनचर्या घरको चारकुनामा वित्यो । लकडाउन लुजडाउनमा परिणत भएपछि केही कलाकार काममा फर्किएका छन् । फिल्ममा मात्र सीमित रहेका कलाकारहरु भने अझै घरमै बस्न बाध्य छन् । किनकि, सरकारले फिल्म छायांकनका लागि अनुमति दिएको छैन ।

अभिनेत्री बेनिशा हमाल भने कामविहीन भएको लकडाउन हुनुभन्दा धेरै अगाडिदेखि हो । उनले फिल्ममा काम नगरेको एक वर्षभन्दा बढी भइसकेको छ । उनी अभिनीत पछिल्लो रिलिज फिल्म ‘घर’ हो, जुन गत वर्षको असारमा प्रदर्शन भएको थियो । यो फिल्मपछि उनले कुनै फिल्म साइन गरेको जानकारी प्राप्त छैन । न त कुनै फिल्मबाट अफर भएको खबर नै बाहिरिएको छ ।

भारतको मुम्बईमा बसेर फिल्म मेकिङ पढिरहेकी उनी लकडाउन हुनुभन्दा केही दिन अगाडि मात्र नेपाल आएकी थिइन् । त्यसपछि १४ दिन सेल्फ क्वारेन्टाइनमा बसिन् । लगत्तै उनी बस्ने अपार्टमेन्टमा कोरोना संक्रमित भेटिए । डरैडरमा घरभित्र एक महिनाभन्दा लामो समय विताएकी उनले फिल्म मेकिङ पढ्नका लागि साइन गरिसकेको फिल्म ‘टुल्की’ समेत छाडेकी थिइन् ।

एक दशक लामो फिल्म करिअरमा आधा दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी उनी पछिल्लो समय ‘कबड्डी’ निर्माता रौनक विक्रम कँडेलसँगको प्रेम सम्बन्धका कारण चर्चामा छिन् । तर, यस विषयमा उनले कुनै जानकारी दिएकी छैनन् । ‘घर’ पछि एक्सन-कटबाट टाढा रहेकी उनले अब फिल्म चाहिँ कहिले गर्ने हुन् कुन्नी ? धेरै ढिला गरे दर्शकले नै बिर्सेलान् है, बेनिशाजी

तपाईको प्रतिक्रिया