हलिउडमा डिजिटल प्लेटफर्मले सिनेमा हललाई विस्थापित गर्ला कि भन्ने बहस छ । लकडाउनमा डिजिटल प्लेटफर्ममा रिलिज भएका चलचित्रले अनपेक्षित रूपमा आक्रामक व्यापार गरेपछि कोरोनाको जोखिमले लामो समय सिनेमा हल बन्द हुँदा यसलाई डिजिटल प्लेटफर्मले रिप्लेस त गर्ने होइन ? हलिउडमा बहस भइरहेको छ ।
भारतमा दैनिक ६० हजारसम्म कोरोना संक्रमित भेटिइरहेका छन् । प्रतिदिन हजारसम्म कोरोनाकै कारण मृत्यु भइरहेको छ । सिनेमा हल बन्द छन् । तर राज्य सरकारहरूले विभिन्न सर्त राखेर सिनेमा छायांकन गर्न अनुमति दिइसकेका छन् ।
विश्वभर कोरोना संक्रमणको जोखिम कायमै छ । विश्वमा दैनिक दुई लाखभन्दा धेरै कोरोना संक्रमित थपिइरहेका छन् । पाँच हजारभन्दा धेरैको मृत्यु भइरहेको छ । तर पनि बलिउड सिनेकर्मीहरू सिनेमामा दत्तचित्त भएर लागिरहेकै छन् । नयाँ–नयाँ सिनेमा घोषणा भइरहेका छन् । विभिन्न ब्यानरले नयाँ रिलिज डेट लिइरहेका छन् । आमिर खानले आफ्नो चलचित्र ‘लालसिंह चड्डा’ को नयाँ रिलिज डेट लिएका छन् । आमिरले यो चलचित्रका लागि आगामी वर्षको क्रिसमसका लागि रिलिज डेट लिएका हुन् ।
कोरोनाको जोखिमबीच हलिउड र बलिउड चलचित्रमै केन्द्रित भइरहेका बेला नेपाली चलचित्र क्षेत्र भने शून्यमा त छँदै छ । त्यस अलावा अनावश्यक बहस र विवादमा रुमल्लिरहेको छ ।
केही समयअगाडि नायिका साम्राज्ञी आरएल शाहले निर्माता, निर्देशक तथा कलाकार भुवन केसीबाट आफू पहिलो चलचित्रमा अपमानित हुनु परेको बताइन् । त्यसको प्रतिकारमा भुवनले बोले । सामाजिक सञ्जालमा आरोपप्रत्यारोप चल्यो । भुवन–साम्राज्ञीले आफ्नो मानमर्दन गरेको भन्दै कलाकार संघ पुगे । कलाकार संघमा कुरा टुङ्गिएन । अन्ततः भुवन अदालत पुगे । १० करोड क्षतिपूर्ति माग दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा साम्राज्ञीलाई विपक्षी बनाउँदै मुद्दा दायर गरे ।
यति मात्रै होइन महानायकको प्रसंगलाई लिएर दीपाश्री निरौलामाथि गाली–गलौज भए । अन्तर्वार्तामा कोरोनाका कारण चलचित्र प्राविधिकहरू बेरोजगार भएका बेला महानायकको भूमिका हुनुपथ्र्यो कि पर्दैन थियो भन्ने दीपाश्रीले अन्तर्वार्तामा दिएको अभिव्यक्तिलाई लिएर राजेश हमाल महानायक हुन् कि होइनन् भन्ने बहस सिर्जना भयो ।
यो बहस राम्रोसँग सेलाउन नपाउँदै सामान्य ज्ञान नजान्दा ट्रोलको सिकार बनेकी पूजा शर्मा फेरि अर्को विवादमा तानिइन् । पत्रकार प्रकाश सुवेदीले उनको बौद्धिकता र शारीरिक सुन्दरतामाथि प्रश्न उठाउँदै ‘दाह्रा निस्किएको अनुहार’ भनेपछि विवाद उत्कर्षमा पुगेको छ । पूजा न्याय खोज्दै निर्माता संघमा त पुगिन् नै त्यसअलावा उनी योपटक न्यायको ढोका ढक्ढक्याउँदै प्रेस काउन्सिल र महिला आयोग पनि पुगिन् ।
अब यो विवाद कलाकार संघमा पुगेर मात्रै नटुङ्गिने भयो । कलाकार संघले अब समन्वयकारी भूमिका मात्रै निर्वाह गर्ने जनाइसकेको छ । विवाद कहाँसम्म पुगेर साम्य हुने हो टुङ्गो छैन ।
अन्य चलचित्र उद्योग कोरोनाको जोखिम कम हुनबित्तिकै पुरानै अवस्थामा कसरी फर्किने भन्ने तयारीमा छन् । तर नेपाली चलचित्र क्षेत्र भने अनावश्यक बहसमा रुमलिएको छ । यसले नेपाली चलचित्र क्षेत्रलाई माथि नउकास्ने स्वयं चलचित्रकर्मीहरू नै बताउँछन् ।
निर्देशक विशाल भण्डारी यस्ता बहसले नेपाली चलचित्र उद्योगलाई अगाडि नबढाउने बताउँछन् । फुर्सदको समयमा सिर्जनशील विषयमा छलफल र बहस हुनुपर्नेमा को महानायक ? महानायक हो कि होइन भन्ने विषयको बहसलाई उनी ‘बेतुक बहस’ को संज्ञा दिन्छन् । चलचित्रकर्मी मात्रै होइन यस्ता विषयलाई प्रश्रय दिने सञ्चारमाध्यम पनि जिम्मेवार नरहेको उनको भनाइ छ ।
“हामी को महानायक हो र को होइन भन्ने बहसमा रुमल्लियौं । महानायक मान्ने र नमान्ने दुवैले चलचित्र उद्योगलाई केही पनि योगदान दिँदैनन् । हामी चलचित्र उद्योगलाई बचाउनतर्फ लागेका छैनौं । हामीकहाँ सीमा विवादमा के शब्द प्रयोग गरियो भनेर बहस गरिरहेका छौं । यस्तो विषयमा विवाद गरेर निकास निस्किँदैन,” विशाल भन्छन्, “लकडाउनले सिनेमालाई प्रत्यक्ष असर कति गर्यो । ती सिनेमालाई कसरी सम्बोधन गर्ने । सिनेमा हल कहिलेबाट कसरी कसको सिनेमा लगाएर खोल्ने भन्ने विषयमा बहस हुनु आवश्यक छ । तर अहिले बहस भइरहेका कुराले चलचित्र क्षेत्रलाई केही पनि दिँदैन ।”
अर्का निर्देशक दीपेन्द्र के. खनाल फुसर्दको समयलाई चलचित्रसँग सम्बन्धित विषयको अध्ययनमा केन्द्रित गर्नुपर्नेमा अनावश्यक विषय र प्रसंगमा नेपाली चलचित्र क्षेत्र अल्झिएको बताउँछन् । इन्टरनेटको जमानामा विश्वका सबै प्रविधि र तौर–तरिका त्यसमै उपलब्ध रहेको समय फुर्सदमा रहेकाबेला ज्ञान वृद्धिमा आफूलाई केन्द्रित गर्न सके अन्ततः त्यसको फाइदा चलचित्रकर्मीलाई नै हुने दीपेन्द्रको भनाइ छ ।
घरमै बसेको यो समयलाई सदुपयोग गर्न उनको सुझाव छ । पढ्न अनुरोध गर्छन् । अध्ययन गर्न नपाएको र नभ्याएको कुरा अध्ययन गर्न भन्छन् । कोरोनाको जोखिमका कारण घरमै बसेको समयलाई स्कुलमा परिणत गर्न सक्नुपर्नेमा उनी जोड दिन्छन् ।
“मलाई त स्कुलमा बसेजस्तो भइरहेको छ । कहिल्यै नपढेको कुरा पढेँ । चलचित्र मेकिङका नयाँ अभ्यासको अध्ययन गरेँ, चलचित्र हेरिरहेको छु,” दीपेन्द्र समयको सदुपयोग गर्ने तरिका सुनाउँछन्, “अपडेट आफैं हुने हो । अपग्रेड आफैं हुने हो । चिन्तन मनन गरेर आफैंले आफैंलाई सुधार गर्दै जाने हो । त्यो ज्ञान भोलि आफ्नै चलचित्रमा प्रयोग गर्ने त हो ।”
चलचित्र रिलिज र छायांकन बन्द हुँदा नेपाली चलचित्रको अवस्था नै बिग्रियो र अब यसलाई तङ्ग्रिन कठिन छ जस्तो उनलाई लागेको छैन । कारण ? ट्रमाबाट निस्किएपछि मान्छेले खोज्ने भनेको मनोरञ्जन नै हो । मनोरञ्जनको मुख्य माध्यम अहिले पनि चलचित्र नै हो । नेपालमा अझै पनि घुम्नका लागि राम्रो ठाउँ नरहेको भन्दै उनी घुमघामबाट मनोरञ्जन लिने पनि चलचित्र हेरेर मनोरञ्जन लिनुपर्ने अवस्था रहेको भन्दै यसको फाइदा चलचित्रकर्मीलाई रहेको उनी बताउँछन् ।
लकडाउनमा विश्वभरका मान्छेले चलचित्र हेरेको भन्दै उनी यसको अर्थ दुःख होस् अथवा सुख मान्छेले साथ खोज्ने चलचित्रको नै त हो । “त्यसैले चलचित्र मानव जीवनको एक अभिन्न अङ्ग बनिसक्यो । त्यसैले हामी आत्तिनुपर्ने अवस्था छैन । आत्तिनु भएन तर आफैं विश्व बजारसँगै अपडेट भएर अपग्रेटेडचाहिँ हुनुपर्यो ।”
लकडाउनलाई सदुपयोग गर्ने समय नचाहिने विवादमा फसेको चलचित्र क्षेत्रलाई कोरोनाको जोखिम सकिएपछि पुनः पहिलाकै अवस्थामा फर्किन लामो समय लाग्ने उनीहरूको भनाइ छ ।
दीपेन्द्र के. खनाल, सन्तोष सेनलगायत एकाध चलचित्रकर्मीले नयाँ चलचित्र घोषणा गरेका छन् । तर उनीहरू कथा लेखनकै चरणमा छन् । निर्माण सम्पन्न भएर बसेकाबाहेक चलचित्रकर्मी यो लामो समय आरोप–प्रत्यारोपमा रमाएर बसिरहेका छन् कि अवस्था सहज भएपछिको तयारीमा व्यस्त छन् ? यसले नेपाली चलचित्र क्षेत्र कहिले चलायमान हुने र यसको भविष्य राम्रो वा नराम्रो कस्तो हुने निर्धारण गर्नेछ । डिजिटल प्लेटफर्मबाट विश्वभरका चलचित्र विश्वले हेरर मूल्यांकन भइरहेको अवस्थामा अझै पनि टालटुले प्रवृत्तिमै बसेर चलचित्रकै मजाक उडाउने कि गम्भीर भएर विश्वबजारका लागि प्रतिस्पर्धी चलचित्र बनाउने यसले आगामी दिनमा कस्ता नेपाली चलचित्र बन्छन् बाटो देखाउनेछ ।
sorce :- https://baahrakhari.com/