नेपाली फिल्मका गीतहरूले अपेक्षित सफलता नपाइरहेको अवस्थामा चलचित्र ‘वरिष्ठ बलराम’ को गीत ‘न्याउली वनैमा’ ले दर्शकमाझ असाधारण प्रभाव पारेको छ भने रिलिज भएको दुई सातामै यो गीत सामाजिक सञ्जालमा छाइरहेको छ र एक किसिमको सांगीतिक सनसनी बनाएको छ।
१४ दिनमै युट्युबमा ५७ लाखभन्दा बढी भ्यूज प्राप्त गरेको साथै यो गीतले २ लाख ३५ हजारभन्दा बढी टिकटकमा भिडियो सृजना गरि सकेको छ र टिकटक प्रयोगकर्ताले यो गीतका लय र भावनामा आफूलाई जोडेर भिडियो बनाएपछि यसको लोकप्रियता झन् उच्च स्थानमा पुगेको छ। टिकटकमा भाइरल भएपछि हजारौं दर्शकले युट्युबमा गीत खोजी हेरिरहेका छन्।
गीतको सफलतासँगै दर्शक र संगीतप्रेमीहरूले सामाजिक सञ्जालमा उत्साहजनक प्रतिक्रिया दिइरहेका छन् भने कतिपयले यो गीतमा लत बसेको भन्दै बारम्बार सुन्ने बताएका छन् र केहीले यसलाई ‘रुकुम मैकोट’ जतिक्कै मौलिक र उत्कृष्ट सिर्जनाका रूपमा प्रशंसा गरेका छन्।
गीतमा प्रशान्त शिवाकोटी र शान्तिश्री परियारको स्वर रहेको छ, जसले गितको भावनालाई बलियो रूपमा प्रस्तुत गरेका छन्। गीतले पाएको लोकप्रियताले चलचित्र ‘वरिष्ठ बलराम’प्रति नै दर्शकको आकर्षण बढाएको देखिन्छ, जसले फिल्मको व्यापारमा प्रत्यक्ष फाइदा पुग्ने अपेक्षा गरिएको छ।
गीतले बनाएको उत्साहसँगै चलचित्रको ट्रेलरले पनि सकारात्मक प्रतिक्रिया पाएको देखिन्छ । दयाहाङ राई र विजय बरालबीचको टकराव र संवादले दर्शकको ध्यान तानेको छ भने कतिपयले दुबै पात्र यति सबल रूपमा देखिएको बताए कि “मुख्य पात्र छुट्याउनै गाह्रो” भएको अनुभव गरेका छन्।
पौडेलको निर्देशनमा तयार भएको फिल्ममा दयाहाङ र विजयसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, रामबाबु रेग्मी र प्रदीप कुमार चौधरीको पनि दमदार अभिनय देख्न सकिन्छ। फिल्मको कथा र सम्पादन निर्देशक पौडेलकै हो भने मुख्य कथा महेश दवाडीले लेखेका हुन्।(भाइटीकाको दिन) अर्थात कात्तिक ६ गते प्रदर्शनमा आउँदै गरेको यो फिल्मका निर्माता आशिष तामाङ र श्रीराज कार्की हुन्।
गीत र ट्रेलरले देखाएको सफलता हेर्दा ‘वरिष्ठ बलराम’ले दर्शकमाझ यो वर्षको चर्चित फिल्म बन्ने संकेत स्पष्ट रुपमा देखाएको छ।