- नारायण अर्याल

माहिली आज निकै खुशी छे । खुशीले अनुहार धपक्कै बलेको छ । ओठमा मुस्कान छ । घरमा आउनेहरूसँग पनि मन फुकाएर बोलेकी छ । केही घण्टाअगाडि र अहिलेको उसको बोलीको शैली नै फेरिएको छ । मूल बाटोछेउको घर । बाटोबाटै उसलाई देख्नेहरू पनि छक्क छन् ।

माहिलीको अनुहारमा खुशी छ, पल्लो गाउँको धनेले साथीहरूलाई सुनायो । उसको अनुहारको खुशीको तरङ्ग वल्लो पल्लो तल्लो माथिल्लो सबै गाउँमा फैलियो । एक एक गरी मान्छेहरू जम्मा भए । आँगनमा नअटाएर मान्छेहरू बाटोसम्मै फैलिए ।

माहिली मात्रै होइन, माहिलाका बा आमा पनि खुशी छन् । माहिलो जन्मिँदा बरु उनीहरू त्यति खुशी थिएनन्, जति ४० वर्षपछि छन् । माहिलाकी आमाले ३ भाइ छोरा जन्माइन् । माहिलो जन्मिएको एक वर्ष पुग्दा नपुग्दै त्यसको भाइ जन्मियो । आमाको लाम्टासमेत बाँडेर चुस्नुपर्ने भयो । बाउले सम्पत्ति जोडे भने अंश बाँडेर खाने हुन्, मसँग भएको लाम्टा बाँडेर चुसाउँछु- माहिलाकी आमाले भन्थिन् ।

बिस्तारै दूध सुक्न थाल्यो । आमाको लाम्टा कान्छो एक्लै चुस्न थाल्यो । माहिलाको भाग खोसियो । गर्भे दूध चुसेको माहिलो डेढ वर्ष नपुग्दै आमाको लाम्टाबाट पनि लखेटियो । बाउले बटुलेर ल्याउने मकै पिठो जे हुन्थ्यो त्यही खाएर माहिलो हुर्कियो, जसरी उसका दाइ र दिदीहरू हुर्केका थिए ।

आमाको लाम्टोबाट पनि लखेटिएको माहिलो अहिले बा-आमाको एक्लो छोरो हो । माहिलाका दाजु र भाइ घाँसपात समेत गर्न नथाल्दै एक्लो बनाएर गए । जन्मिँदा माहिलो छोरो भए पनि ऊ अहिले एक्लो छोरो हो । जेठो र कान्छो पनि उही हो । बा-आमालाई नातिनातिनी देखाउने पनि माहिलो नै हो ।

…….

घरको नाममा एउटा झुप्रो । जग्गाको नाममा चार हात फराकिलो आँगन । तैपनि माहिलाका बा खुशी थिए । छोरा धेरै हुने मान्छे धनी हुन्छ भन्ने सुनेका थिए माहिलाका बाले । त्यसैले त ४ छोरी पछि भएपनि ३ छोरा जन्माएका थिए । ३ छोरा जन्मिएपछि बुढा बुढी खुशी भएका थिए । धनी भएको ठानेका थिए। तर, जेठो र कान्छोले बेलैमा संसार छोडेपछि उनीहरू एकाएक गरीब भए । खुशी हरायो । धित मरुन्जेल लाम्टो चुस्न समेत नपाएको माहिलो नै अब त्यो परिवारको आशा बन्यो । अब यसैले जे गर्छ गर्छ- माहिलाकी आमाले आफन्तसँग भन्थिन् ।

कपडा सिलाएर र निमेक गरेर ४ छोरी र १ छोरो हुर्काएको बलेले सबैको बिहे पनि गरिदियो । बिहे पनि के भन्नु र ? छोरीहरू भागेरै गए । माहिलाले पनि पल्लो गाउँबाट माहिलीलाई ल्यायो । बलेका बुढा बुढीले टीका फुकाइ दिए । सबैको घर बस्यो ।

……

‘ठूलो भएसी धनी बन्छु,’ माहिलाले सानैदेखि भन्थ्यो । माहिलाले यसो भन्दा बा आमा पनि मख्ख पर्थे । बाँचेको एउटै छोरोले यसो भन्दा उनीहरू अनेक सपना देख्थे र रामाउथे । घरिघरि भन्थे – धनी हुन धेरै छोरा होइन, हाम्रो माहिलो जस्तै छोरो हुनुपर्छ ।

माहिलाले बा बलेकै ‘लाइन’ पछ्यायो । स्कूल जानु भन्दा कपडा सिलाउने मेसिन घुमाउन थाल्यो । त्यो त्यही मेसिन थियो जुन बलेका बाले बलेलाई दिएर मरेका थिए। माहिलाले भने बले नमर्दै त्यही मेसिन चलाउन पायो । भाग्यमानी रैछ माहिलो । मेसिन भाग लगाउनै नपर्ने भो ।

बलेले भन्दा माहिलाले राम्रो सिलाउन थालेपछि गाउँमा नाम कमायो । पहिले मेसिन बोकेर अर्काको घर घरमा जाने माहिलाको अवस्था फेरियो । अब मान्छेहरू कपडा बोकेर माहिलाकै घरमा आउन थाले । बलेका बुढा बुढी दङ्ग पर्न थाले ।

कपडा सिलाएरै घर चलाउन थालेपछि माहिलाका बा आमा त खुशी हुन थाले । तर खोइ माहिलाको अनुहारमा चमक हरायो । बाको जस्तै धनी बन्ने उसको चाहना पूरा भएन । गोठमा पालेका भैंसी बाख्रा थारै रहे तर, माहिली भने वर्षैपिच्छे गर्ववती हुन थाली । छोराको आशामा ६ छोरी जन्मिए । छोरीले घर भरिए माहिलाको मन भरिएन । माहिलीलाई पनि छोरा जन्माउने चाहना थियो र त वर्षेनी सुत्केरी हुँदा पनि कुनै गुनासो गरिन । छोरा धेरै भए धनी भइन्छ भन्ने उसको मनमै घुसेको थियो । घरभरी छोरी मनभरी छोरा । तर के गर्नु ? माहिलीले छोरा जन्माउनै सकिन ।

………

‘म लाहुर जान्छु,’ बिहानै झोला तयार पारेपछि माहिलाले माहिलीलाई सुनायो ।

‘अचानक के भयो ? साना साना छोरीहरू छोडेर एक्लै किन जानु पर्‍यो लाहुर ?’ बेखुसी हुँदै माहिलीले सोधी ।

‘यहाँ भन्दा लाहुरमा बढी पैसा कमाइन्छ रे, छोरा नभए पनि अब पैसाको धनी बन्नु पर्‍यो,’ माहिलाले जवाफ दियो र झोला टिपेर टाप कस्यो ।

लाहुर गएपछि डाक्टरलाई सोध्छु, डाक्टरले त जानेको होला नि छोरा पाउने तरिका- माहिलाले उपाय सोच्यो ।

लाहुर पुगेपछि पनि माहिलाको समस्या समाधान भएन । गाउँकै एकजनाले भेटाएको डाक्टरले उसलाई झन निराश बनायो । पैसा कमाउने भन्दा छोरो जन्माउने उपाय खोज्न लाहुर पसेको माहिलो केही महिनामै घर फर्क्यो ।

‘आयौ ? निराश छौ त । थाकेर हो कि बिरामी पर्यौ ?’ देख्नासाथ माहिलीले सोधी ।

‘होइन केही भएको छैन,’ झर्किलो पारामा माहिलोले जवाफ दियो ।

………

माहिलो फर्केको थाहा पाएर गाउँले खुशी भए । नयाँ लुगा सिलाउन पल्लो गाउँ जानुपर्ने गाउँलेलाई सजिलो भयो । तर माहिलो भने खुशी छैन । पहिले लुगा लिएर मान्छे आउँदा खुशी हुने माहिलो अचेल झर्किन थालेको छ । पहिले जस्तो मिलाएर सिलाउन पनि छोडेको छ । के भएको छ माहिलालाई ? गाउँमा कुरा चल्न थाल्यो ।

‘गाउँले कुरा काट्छन्, घरमा पनि राम्रो बोल्दैनौ, होइन के भो तिमीलाई ?’ माहिलीले एक साँझ सोधी । जवाफ नदिई हिंडेको माहिलो मध्यरातमा रक्सीले मातेर आयो ।

नशामा मान्छे साँचो बोल्छ रे ! के भएको हो आज नरिसाई सोधेर पत्ता लागाउँछु, माहिलीले उपाय निकाली ।

छोरीहरू निदाएपछि माहिलीले सोध्न थाली । अनि बल्ल ‘मेरो भाग्यमा छोरा छैन रे ! डाक्टरले भनेको,’ माहिलाले पीडाको पोको फुकायो ।

माहिलाको जवाफले माहिली खुशी त भइन, तर फेरि बच्चा बोक्नुपर्ने समस्या हट्यो भन्दै लामो सास फेरी ।

‘अब के गर्छौ त कर्ममा नभाको कुरा खोजेर भो त ? छोरी छन् तिनैको मुख हेरेर चित्त बुझाम्ला,’ माहिलालाई सान्त्वना दिन खोजी । ‘तँ पनि यसै भन्छेस् भने भैगो त’ भनेर माहिलो निदायो ।

………

‘सामात् सामात्, माहिलालाई सामात् !’ एक साँझ गाउँभरका मान्छेले चिच्याए । माहिलो हातमा नाम्लो लिएर भाग्दै थियो । माहिली पनि रुँदै पछ्याउँदै थिई । झण्डै एक किलोमिटर पर केटाहरूले घेरा हालेर माहिलालाई रोके । कुनैबेला सिकेको करातेको कला त्यसैबेला देखायो माहिलाले । दुईजनालाई ढाले पनि अरुले जसोतसो समाते र घर फर्काए । निकैबेर बर्बरायो । माहिली सहित सबैलाई भन्नु नभन्नु भन्यो । बिरक्तिएर हिंडेको मान्छेले अरुलाई किन पो भाउ दिन्थ्यो र ! आफ्नै जिन्दगीदेखि भाग्न खोजेको मान्छे अर्काको जिन्दगीको बारेमा किन पो चासो राख्थ्यो र ! आफ्नै संसार अँध्यारो देखेको मान्छेले अर्काको उज्यालो संसारको किन वास्ता गर्थ्यो र ! आखिर ऊ अरुसँग नभई आँफैसँग भागेको न थियो । अर्काको कुरा सुन्दै नसुनी बर्बराइ मात्र रह्यो । माहिली रोइरही ।

माहिलीको आँशु सुक्न पाएकै थिएन, माहिलो फेरि मच्चियो । घरको नाममा रहेको झुप्रोको छानोमा चढेर आफ्नो अन्तिम दिन रहेको घोषणा गर्‍यो । माहिलाको हातमा केही थिएन । ऊ हाम फाल्ने तयारीमा थियो । माहिली आँगनमा उभिई । गाउँलेलाई बोलाई । गाउँले नआउँदै आँगनमा हाम फालेको माहिलो अझै रोकिएन । आँगनबाट बारीमा हाम फाल्यो । धन्न, गाउँले आइपुगे र छोपे । दोश्रो पटकमा पनि आफ्नो इच्छा पूरा नभएपछि माहिली र गाउँले सबैमाथि खनियो माहिलाे ।

‘पटकपटक किन यसो गर्छन् मेरो बुढा ? लौन केही खोजी गरिदिनु पर्‍यो,’ माहिलीले गाउँले सामु बिलौना गरी । रुने र बिलौना पोख्ने बाहेक उस्को अरु उपाय पनि त थिएन । माहिलालाई चाहिएको छोरो, उसले जन्माएको छोरी । के म एक्लै छोरो जन्माउन सक्छु ? सबैका सामु दुखेसो गरी । भगवानले नै नदिएपछि बल गरेर हुँदो रहेनछ ।

माहिलो त्यसरी मच्चिनुको कारण गाउँलेले बल्ल चाल पाए । बलेका बुढाबुढी सुँक्क-सुँक्क गर्न थाले । नाति खेलाउने चाहना उनीहरूको पनि नभएको होइन । तर दैवले नदिएपछि हुँदैन, छोरा बुहारीलाई सम्झाउन थाले । नभएको कुरामा चित्त दुखाउनु भन्दा भएको कुरामा खुशी हुनुपर्छ भन्छन्, बले बोल्यो – नातिको आशमा छोरो गुमाउनु मुर्ख्याइ हुन्छ । बुढीले सही थामी ।

………

पाइन्ट सिलाएको एक हजार, सर्टको ५ सय… । माहिलाले कपडा सिलाउँदा लाग्ने खर्चको सूची बनाएर भित्तामा टाँस्यो । महिला-पुरुष दुवैको लुगा सिलाउन पोख्त माहिलो अब फेरि लयमा फर्कियो ।

तीज लाग्दै गर्दा कपडा सिलाउन ल्याउनेको भीड बढ्न थाल्यो । लकडाउनले गर्दा हो, नत्र त यहाँ एक छिन फुर्सद हुँदैन, सिलाएको लुगामा आइरन दल्दै बोल्यो । माहिली तयारी लुगामा टाकसाक लगाउनै व्यस्त । यत्तिको काम आए त छोरी पाल्न गाह्रो हुँदैन, भविष्य सुनाई ।

रक्सी खान छोडेर माहिलो बिहानैदेखि काममा लागेको देख्दा गाउँले पनि छक्क छन् ।

‘आज काम छैन, दिनभर घरमा बस्ने हो,’ माहिलाले बिहानै योजना सुनायो ।

‘त्यसो भए मासु ल्याएर पकाउँछु,’ माहिलीले केटाकेटी खुशी पार्न खोजी ।

ड्याम्म आवाजले माहिली तर्सी । गोठको पल्लो छेउ जुठेल्नामा भाँडा मस्काउँदै गरेकी माहिली जुरुक्कै उठी र घरतिर आई । कसले ढोका लगायो ? माहिलाले केही उपद्रो पो गर्न लागेको हो कि ? आँगन नटेक्दै उसको मन भारी भो । ढोका खोल्न खोजी, माहिलालाई बोलाई । न माहिलो बोल्छ, न ढोका खुल्छ ।

ढोकाको सानो चरबाट चिहाई । माहिलीको सातो उड्यो । गाउँलेलाई चिच्याउँदै ढोका हान्न थाली । गाउँले आउनु र ढोका फुट्नु सँगै भयो । कसैले पुलिस बोलाउन थाले, कसैले दाजुभाइ ।

गाउँलेलाई पन्छाउँदै माहिलोसामु पुगेकी माहिलीले अरु केही देखिन । देखोस् पनि कसरी ? उसको संसार नै त्यही थियो, जीवन नै त्यही । एक हातले माहिलालाई समाती र अर्को हातले दलिनमा बांधेको डोरी । जोडले तानी । डोरी चुँड्यो । माहिलो माहिलीको काखमा लड्यो । डोरी नचुँडेको भए माहिलीको जिन्दगी चुँड्ने थियो । आवेशमा माहिलीले चुँडाएको डोरीले माहिलो त बाँच्यो नै माहिलीको जीवनको आशा पनि जोगियो ।

एकै छिनमा माहिलाले दोहोरो सास फेर्न थालेपछि माहिलीको बढेको सासको रफ्तार पनि कम हुँदै गयो ।

यो त तेश्रो पटक हो, अब त यस्तो नगर्लान् नि ? भविष्यप्रति ढुक्क हुन खोजी ।

तीन पटक बल गर्दा पनि भएन भने कहिल्यै हुँदैन रे ! उसले सुनेकी थिई । गाउँले बुढापाका पनि त्यसै भन्छन् । अरुबेला गाउँलेले बचाए, यसपाली ऊ आँफै ।

माहिलो फेरि बाँच्यो । गाउँलेले तत्कालै अस्पातल पुर्याए ।

‘हल्का मानसिक रोग देखियो, औषधि खुवाउनु निको हुन्छ,’ डाक्टरले माहिलीलाई सान्त्वना दियो ।

जाँदा सुतेर गएको माहिलो फर्कंदा ठमठम हिँडेर फर्कियो । अरुलाई देख्दा माहिलो लजायो तर माहिलीको अनुहार उज्यालो थियो । युद्ध जित्दा भन्दा जिन्दगी जित्दा बढी खुशी हुने रहेछ । माहिलीको अनुहारले भनिरहेको थियो ।

माहिलो अस्पतालबाट फर्केपछि घरमा आउनेहरूले एकातिर माहिलीको अनुहार नियाल्थे त अर्कातिर माहिलाको घाँटीको नीलडाम ।

तपाईको प्रतिक्रिया