२ वर्ष अगाडि निर्माण भएको चलचित्र ‘प्रसाद’ निकै सफल रह्यो । व्यावसायिक तथा समीक्षात्मक रुपमा पनि यो चलचित्र अब्बल रह्यो । दिनेश राउतले निर्देशन गरेको चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका थियो ।

अहिले ‘प्रसाद’ चलचित्रका निर्माता सुवास थापा ‘प्रसाद २’ बनाउने तयारीमा जुटेका छन् । प्रसाद लेखक सुशील पौडेलले नै चलचित्रको पटकथा तथा संवाद लेखिरहेका छन् भने निर्देशकको रुपमा सौरभ चौधरी भित्रिएका भएका छन् ।

प्रसाद–२ का लागि निर्देशक परिवर्तन हुँदा कलाकार पनि फेरिने हुन् कि भन्ने धेरैको आशंका थियो । तर, प्रसाद २का लागि विपिन कार्की र नम्रता श्रेष्ठ दुवै तयार भएका छन् । निर्देशक चौधरीका अनुसार विपिन र नम्रतासँग लिखित सम्झौता नै भइसकेको छ ।

शिलापत्रसँग कुरा गर्दै निर्देशक चौधरीले भने, ‘चलचित्रका लागि विपिन र नम्रता दुवै पक्का भइसक्नु भएको छ । केही समय अगाडि नै उहाँहरुसँग लिखित सम्झौता पनि भइसकेको छ ।’

निर्देशक चौधरी अन्य कलाकारको छनोट बाकीं रहेको बताउँछन् । हाल चलचित्रको स्कृप्ट लेखन सकिएको छ ।

लेखक पौडेल अहिले चलचित्रको संवाद लेखिरहेका छन् । कोरोनाको अवस्था सामान्य हुनसाथ चलचित्रको छायांकन सुरु गरिने निर्देशक चौधरीले बताए ।

तपाईको प्रतिक्रिया