कोरोनाको त्रासका कारण चलचित्र क्षेत्र ‘पज’ भएको छ । छायांकन भइरहेका चलचित्रको छायांकन रोकियो, रिलिजको संघारमा रहेका चलचित्रको रिलिज रोकियो । चलचित्र क्षेत्रका सबै काम ठप्प रहे ।
यस्तो अवस्थामा चलचित्र क्षेत्रले ठूलो घाटा ब्यहोर्नुपरेको छ । निर्मातादेखि हलवालासम्म यस घाटाको भागिदार भएका छन् । चलचित्र क्षेत्रले करोडौँ घाटा ब्यहोर्नुपरेको धेरै चलचित्रकर्मीहरूले गुनासो गरिरहेका छन् ।
यस्तैमा केही समय अगाडि चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दयाराम दाहालले कोरोनाका कारण प्रभावित चलचित्रहरूको सूची मागे । कोरोनाकै कारण रिलिज, छायांकन तथा पोस्ट-प्रोडक्सन रोकिएका चलचित्रलाई केही राहत दिने भन्दै उनले प्रभावित चलचित्रको सूची माग गरेका थिए ।
तर, प्रभावित चलचित्रको सूची निकै लामो बन्यो । वर्षाैंदेखि रिलिज नभएका वा वर्षाैंअगाडि निर्माणकाे घोषणा गरेर निर्माण नभएका ६५ वटै चलचित्र उक्त सूचीमा आए । आर्थिक सहयोग हुने आसमा निर्माता-निर्देशकहरूले आफ्नो चलचित्रको नाम त्यहाँ दर्ता गराएका थिए ।
के प्रभावित चलचित्रले नगद सहयोग पाउने हो त ?
चलचित्र विकास बोर्ड अध्यक्ष आफूहरूले कसैलाई पनि नगद सहयोग नगर्ने बताउँछन् । उनले भने, ‘हामीले तपाईंको चलचित्र प्रभावित भएको रहेछ, लु यो २ लाख रुपैयाँ लिनुस् भनेर पैसा दिन मिल्दैन । हामीले गर्न सक्ने सहयोग हामीले गर्ने हो ।’
छायांकनमा रहेका चलचित्रहरूको छायांकन आवधिक बीमा र छायांकन स्थल सहज रूपमा उपलब्ध गाइदिनेजस्ता सहयोग विकास बोर्डले गरिदिने अध्यक्ष दाहालले बताए ।
उनले भने, ‘१५ दिनको सेड्युल बाँकी रहेका चलचित्रको छायांकन विविध कारणले ढिला भएर २० दिन लाग्ने भयो भने त्यसको बीमा चलचित्र विकास बोर्डले गरिदिन्छ । र, ५ दिनको पैसा बीमाबाट उपलब्ध गराइदिन्छ ।’
त्यस्तै, रिलिजका लागि तयार रहेका चलचित्रलाई पोस्टर छाप्न, इन्कोड गर्न तथा प्रचारप्रसारमा विकास बोर्डले सहयोग गर्ने अध्यक्ष दाहालले जानकारी दिए ।
‘रिलिजको तयारीमा रहेको चलचित्रलाई पोस्टर छाप्ने पैसा भएन वा इन्कोड गर्ने नै पैसा भएन भने त्यसमा विकास बोर्डले सहजिकरण गर्छ’, उनी भन्छन्, ‘विज्ञापनका लागि पनि सरकारी मिडियाहरूमा सस्तो रेटमा मिलाइदिने विकास बोर्डको पहल रहनेछ ।’
यो सहयोग पनि सीमित अवधिका लागि मात्र रहने अध्यक्ष दाहालले प्रष्ट पारे । ‘याे सहयाेग यति समयकै लागि भनेर किटान नगरिए पनि हल खुलेको ६ महिनासम्म हुने भन्ने एक किसिमको सल्लाह भइरहेको छ ।’
चलचित्र क्षेत्रलाई चाँडै चलायमान बनाउन यसले सहयोग पुग्ने अध्यक्ष दाहालको विश्वास छ ।