गायक अशोक दर्जीको जीवनकथामा बनेको फिल्म ‘मन बिनाको धन’ घरेलु बक्स अफिसमा लगातार सशक्त उपस्थितिसहित अगाडि बढिरहेको छ। प्रदर्शनको पहिलो सातामै १ करोड ६७ लाख जुटाएको फिल्मले शनिबार बिहान ८ बजेसम्म २ करोडभन्दा माथिको व्यापार गर्दै सफलता यात्रामा नयाँ मापदण्ड स्थापित गरेको छ। त्यस्तै ‘परान’ र ‘जारी २’ जस्ता चर्चित फिल्मसँगको प्रतिस्पर्धा तथा सीमित शोको चुनौतीका बीच पनि दर्शकको अप्रत्याशित रुचिले फिल्मलाई ‘स्लीपर हिट’को श्रेणीमा उकासेको देखिन्छ।
दोस्रो शनिबार देशभरको अकुपेन्सी करिब ७०% कायम रहँदा काठमाडौँ, भरतपुर, नेपालगञ्जलगायत लगाएत प्रमुख सहरका शोहरू बिहानैदेखि हाउसफुल भइरहेका छन्। सकारात्मक प्रतिक्रिया र बढ्दो भीडका कारण धेरै हलहरूले शो संख्या वृद्धि गरेका छन्। नेपालसँगै विदेशमा पनि फिल्मले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। कतारमा बिहीबार र शुक्रबार दुबै शो पूर्ण रूपमा हाउसफुल भएका थिए, जसले ‘मन बिनाको धन’लाई कतारमा दुई शो लगातार हाउसफुल हुने पहिलो नेपाली फिल्म बनाएको वितरक कम्पनी साथीभाई इन्टरटेन्मेन्टले जनाएको छ भने युएई र बहराइनमा पनि व्यापार सन्तोषजनक रहेको उल्लेख गरिएको छ।
‘कथा जिरोदेखि हिरोसम्म’ भन्ने ट्यागलाइन बोक्ने यस फिल्ममा अशोक दर्जी, सन्तोष पन्त, रमा थपलिया, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामाङ, रवीन्द्र झा, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत लगायतका कलाकारले अभिनय गरेका छन्।




































