नीर शाहको मुख्य अभिनय रहेको फिल्म ‘परान’ले घरेलु बक्सअफिसमा अपेक्षाभन्दा धेरै बलियो प्रदर्शन गरिरहेको छ। पहिलो सातापछि पनि यसको व्यापार झन् आक्रामक बन्दै गएको छ। सिनेपाः बक्सअफिसका अनुसार, दोस्रो साताको बिहिबार राति १२ बजेसम्म फिल्मले ७ करोड ४३ लाख रुपैयाँ ग्रस व्यापार पूरा गरिसकेको छ भने दर्शकबाट मिलिरहेको मजबुत ‘वर्ड अफ माउथ’ले फिल्मको गति रोकिएको छैन।
आज शुक्रबार अपरान्ह ३ बजेसम्म मात्रै चलचित्र विकास बोर्डको बक्सअफिसमा ५३ लाख रुपैयाँ ग्रस जोडिएको छ, जसले गर्दा फिल्मले आधिकारिक रूपमा ८ करोडको रेखा छोएको पुष्टि गरेको छ । रातिका अधिकांश शो ‘हाउसफुल’ नजिकको अकुपेन्सीसहित चलिरहेको भएकाले शुक्रबारकै कमाइ ७०–८० लाख हाराहारी पुग्ने अनुमान छ।
फिल्मले भोलि शनिबार कूल २३३ शो पाएको छ, जसमा दुई तिहाइभन्दा बढी शो ८० देखि १०० प्रतिशत अकुपेन्सीसहित चल्ने सम्भावना छ। यी सूचकहरूका आधारमा ‘परान’ले तेस्रो सप्ताहन्तमै ९ करोड हाराहारी कमाइ पार गर्ने र १० करोडको आँकडा सहजै नछुने दुरि छैन। दिपक आचार्य ‘काकु’ निर्देशित फिल्मको लागि यो उपलब्धि ऐतिहासिक बन्ने संकेतहरू बलिया हुँदै गएका छन्।




































