नेपाली चलचित्र क्षेत्रमा एउटा गुनासो साझाजस्तै छ, ‘चलचित्र क्षेत्रलाई हेपाहा नजरले हेरियो ।’
यो सत्य पनि हो । चलचित्र क्षेत्रलाई कला संस्कृतिसँग जोडेरभन्दा पनि धेरैले मनोरञ्जनकै रूपमा मात्र हेर्ने गरेको पाइन्छ । धेरैले चलचित्र क्षेत्रलाई ‘नौटङ्की’ मान्दिन्छन् ।
किन ?
किनभने, यहाँ वौद्धिक बहस नै भएन । वौद्धिक बहस गर्ने कुनै ठाउँ नै भएन ।
चलचित्र क्षेत्रको विषयमा कसैले पढ्न पाएनन् । चलचित्र क्षेत्रको इतिहास, चलचित्र क्षेत्रमा अग्रजहरूले गरेको दुःखका विषयमा कसैले बुझेनन् । आफ्नो सतही बुझाइका कारण धेरैले चलचित्र क्षेत्रप्रति नाक खुम्च्याउन थाले ।
हालै मात्र चलचित्र विकास बोर्डमा अध्यक्ष नियुक्त भएका दयाराम दाहाल चलचित्र क्षेत्रको अध्ययन नभएका कारण दर्शकले नाक खुम्चाउने गरेको बताउँछन् । जसका लागि अब विद्यालयस्तरदेखि नै चलचित्र विषय समावेश गर्नुपर्ने भन्दै अध्यक्ष दाहालले विकास बोर्डबाट पहल सुरु गरेका छन् ।
केही समयअगाडि पाठ्यक्रममा चलचित्र विषय समावेश गरिने समाचार पनि सार्वजनिक भयो । समाचारमा आगमी वर्षदेखि लागू हुने गरी पाठ्यक्रम तयार भइरहेको उल्लेख गरिएको थियो । बोर्ड अध्यक्ष दाहाल पाठ्यक्रमको विषयमा छलफल भइरहेको बताउँछन् ।
‘पाठ्यक्रम विकास बोर्डसँग हाम्रो छलफल भइसकेको छ । उहाँहरू हाम्राे प्रस्तावप्रति सकरात्मक हुनुहुन्छ’, अध्यक्ष दाहाल भन्छन्, ‘पठ्यक्रममा के के विषयमा समावेश गर्ने, कस्ता कुरालाई प्रथमिकता दिने, अनिवार्य बनाउने वा ऐच्छिक विषय बनाउने, कति पूर्णङ्कको बनाउने भन्ने विषयमा निष्कर्ष निस्किएको छैन । सकेसम्म चाँडै हामी यसको पनि निष्कर्ष निकाल्ने छौँ ।’
चलचित्र क्षेत्रलाई मनोरञ्जनको रूपमा मात्र नहेरेर यसको सृजनात्मक, साहित्यिक र कलात्मक पक्षको ज्ञानका लागि पनि विद्यालस्तरदेखि नै चलचित्र पढाइ हुन जरुरी रहेको अध्यक्ष दाहालको बुझाइ छ ।
‘अहिलेसम्म हामीले चलचित्रलाई जोकको रूपमा मात्र लियौँ । यसको विविध पक्षमा हाम्रो ध्यान नै पुगेन । आजको दिनमा चलचित्र क्षेत्रले पारेको प्रभावको विषयमा पढाइ हुन पर्दैन त ?’, अध्यक्ष दाहाल प्रश्न गर्छन् ।
विद्यालय स्तरदेखि नै चलचित्रको विषयमा पढाइ भए हरेक विद्यार्थीले चलचित्रको विषयमा बुझ्ने र समाजमा परेको प्रभावको विषयमा वौद्धिक बहस गर्न सक्ने अध्यक्ष दाहालको विश्वास छ ।
उनी भन्छन्, ‘अहिले अन्य कुनै पनि विधाको व्यक्तिलाई चलचित्र क्षेत्रको अभिनेताको नाम सोध्यो भने राजेश हमालको नाम भन्ला । त्यो भनेको चाहिँ हाम्रो कमजोर पक्ष भयो । उसलाई चलचित्र क्षेत्रको विषयमा विद्यालयस्तरमा नै केही पढाइयो भने उसले चलचित्र क्षेत्रमा रुचि राख्नेछ । र, पक्कै केही चलचित्र हेरेर वौद्धिक बहस पनि गर्नेछ ।’
विद्यालयस्तरदेखि पाठ्यक्रममा समावेश गरदा नेपाली चलचित्रमा संस्कारको विकास हुने अध्यक्ष दाहाल बताउँछन् । जसकारण चलचित्र हेर्ने दर्शक बढ्ने र चलचित्र क्षेत्रको सिंगो श्रीवृद्धिमा पनि सहयोग पुग्ने उनको विश्वास छ ।
अर्को कुरा, नेपाली चलचित्रले नेपाली दर्शकलाई नै आफ्नो बनाउन नसकेको कुरा सुनिन्छन् । सीमित भेगलाई मात्र समेट्दा बाहिरका दर्शकहरू छुटेको धेरैको गुनासो हुन्छ । नेपाली चलचित्र नेपालीहरूको नै हुन नसकेको अवस्थामा पाठ्यक्रमले नेपाली चलचित्र क्षेत्रमा आकर्षित गर्न ठूलो भूमिका निर्वाह गर्ने दाहाल बताउँछन् ।
उनी भन्छन्, ‘मध्यपहाडी लोकमार्गको पूर्वदेखि पश्चिमसम्म हेर्नुस्, त्योभन्दा बाहिर कतै पनि चलचित्र हलहरू छैनन् । तराईका भेगहरूमा त नेपाली कलाकारलाई चिन्दैनन् पनि । हो, त्यस्तो ठाउँमा पनि चलचित्र सम्बन्धी पढाइ भयो भने उनीहरूलाई नेपाली चलचित्रप्रति आकर्षित गर्न सकिन्छ । उनीहरूको माया पाउन सकिन्छ । हाम्रो दर्शक बनाउन सकिन्छ । यसको लागि पनि पाठ्यक्रमको विशेष महत्त्व रहन्छ ।’
हिमाल-पहाड-तराई जुनसुकै भेगको भए पनि त्यहाँको मौलिकतालाई ध्यानमा राखेर पाठ्यक्रम बनाउने हो भने जो कोहीमा पनि चलचित्र विषय पढ्न रुचि जाग्ने अध्यक्ष दाहालको भनाइ छ । पाठ्यक्रम निर्माणमा विकास बोर्ड तथा पाठ्यक्रम विकास केन्द्रले सातै प्रदेशसँग पनि समन्नव गर्नेछ ।
विद्यालयस्तरदेखि नै पाठ्यक्रम समावेश गर्नुको उद्देश्य दक्ष चलचित्रकर्मीको उत्पादन मात्र नभएर चलचित्र क्षेत्रको चेत सम्पूर्णमा जगाउनु नै भएको अध्यक्ष दाहाल बताउँछन् ।
‘अहिले साहित्यको विषयमा निकै बहस हुन्छ । भलै त्यो साहित्यकार होइन । यो किन थाहा छ ? सानै उमेरदेखि कथा, कविता, उपन्यास पढ्दै आएको मान्छेले त्यो विषयमा केही न केही ज्ञान राखेको हुन्छ’, अध्यक्ष दाहाल भन्छन्, ‘म पनि चलचित्र क्षेत्रमा त्यही चाहान्छु । चलचित्र क्षेत्रमा नै नरहे पनि उसले केही ज्ञान राखोस् र त्यस विषयमा बौद्धिक बहस गरोस् भन्ने नै हाम्रो मुख्य उद्येश्य हो ।’
पाठ्यक्रममा चलचित्र क्षेत्रमा इतिहास मात्र पढाइ नभएर चलचित्रको पूर्ण चक्र नै समावेश गरिएको हुनेछ । विश्व चलचित्रसँग जोडेर अहिलेसम्मको चलचित्र क्षेत्र र त्यसको सांस्कृतिक, कलात्मक तथा प्राविधिक विषयमा पनि पढाइ हुनेछ । त्योसँगै परिवेश सुहाउँदो कथा निर्माणको विषयमा पनि पाठ्यक्रममा समावेश गरिनेछ ।
अध्यक्ष दाहाल भन्छन्, ‘चलचित्र क्षेत्रमा नै रहेर काम गर्ने सोचले चलचित्र विषय पढ्ने कोही छ भने उसलाई पूर्णरूपमा सक्षम र व्यावहारिक बन्न सक्ने पाठ्यक्रम तयार गर्नेछौँ । पढाइ मात्र होइन, उच्च शिक्षामा प्रयाेगात्मक अभ्यास पनि गराउने छौँ ।’
०००
चलचित्र निर्देशक नविन सुब्बा चलचित्र विषय पढाइ हुनु सकारात्मक कुरा भएको बताउँछन् । तर, चलचित्रको पठ्यक्रम तयार गर्दा के पढाउने वा कसरी पढाउने भन्ने प्रष्ट हुनुपर्ने उनको भनाइ छ ।
‘पाठ्यक्रम बन्ने भन्ने समाचार मैले पनि सुनेँ । यस विषयमा केही छलफल भएको छजस्तो मलाई लागेको छैन’, निर्देशक सुब्बा भन्छन्, ‘यस विषयमा विभिन्न तहका व्यक्तिहरूसँग बसेर छलफल गरेर के पढाउने भन्ने अवधारणा बनाउन जरुरी देख्छु ।’
यस्तै विषय समेट्नुपर्छ भनेर एकिनका साथ भन्न निर्देशक सुब्बा पनि सक्दैनन् । तर, इतिहास र केही चलचित्रकर्मीको जिवनीलाई मात्रै समेटेर पढाउने हो भने त्यो खासै प्रभावकारी नहुने उनको भनाइ छ । सुब्बा भन्छन्, ‘यो समयमा यो चलचित्र बनेको थियो वा फलानो हिरोले यो यो चलचित्र बनायो भनेर त के होला र खै !’
चलचित्र पढाउने नै हो भने विभिन्न विधा छुट्याएर प्रयोगात्मक रूपमा पढाउन सकिने सुब्बा बताउँछन् । ‘हामीले विद्यालयस्तरदेखि नै ऐच्छिक विषय बनाएर छायाङ्कन पढ्नेलाई छायाङ्कन, निर्देशनमा रुचि हो भने निर्देशन वा कलाकार हुने हो भने कलाकारिता पढाउने शैली बनाउनुपर्छ’, सुब्बाले भने ।
अहिलेको आवश्यकता भनेको विभिन्न विषयमा चलचित्रको पाठ समावेश गरेर अध्यापन गराउनु पर्ने भएको सुब्बाको बुझाइ छ । यो त कला-साहित्य तथा संस्कृति बुझाउने माध्यम भएकाले यसमा गम्भीर रहेर सोच्नुपर्ने सुब्बाले बताए ।
बाहिरी देशमा भने प्रयोगात्मक नै पढाइ हुने र त्यहाँको पढाइ प्रभावकारी नै भएको सुब्बाले देखेका छन् । उनले भने, ‘हङकङको स्कुल लेभलमा दीपक रौनियारको चलचित्र अक्षरमा पढाइ हुन्छ । यसको मतलब हामीले पनि त्यही गर्नुपर्छ भन्ने हैन, तर कसरी पढाउने भन्ने प्रष्ट हुनुपर्छ ।’
इतिहास नै पढाउने भए त समाजले हेर्ने नजर वा विद्यार्थीले चलचित्र क्षेत्रमा बुझ्ने चेतमा कुनै परिवर्तन नहुने सुब्बाको भनाइ छ ।
त्यस्तै, निर्देशक दीपेन्द्र लामा विद्यालय स्तरमा पाठ्यक्रम समावेश गर्दा समाजमा रहेको ‘हेय’को दृष्टिलाई फेर्न सकिने बताउँछन् । उनले भने, ‘अहिलेसम्म पनि चलचित्र हेर्नुलाई आफ्नो अभिभावकले राम्रो मानेको पाइँदैन। विद्यालयस्तरबाट नै पढाइ हुने हो भने यो मानसिकता पनि परिवर्तन हुनेछ ।’
पाठ्यक्रम बनाएर चलचित्र पढ्ने विषय भन्ने विश्वास विद्यार्थी तथा अभिभावकलाई दिलाउन सके त्यो चलचित्र क्षेत्रको लागि साच्चिकै प्रभावकारी बन्न सक्ने निर्देशक लामा बताउँछन् ।
अझ निर्देशक लामा त विद्यालयस्तरमा चलचित्र मात्र नपढाएर ‘कला’ पढाउनु उत्तम हुने बताउँछन् । ‘एउटा पुस्तकमा चलचित्र मात्र होइन, नाटक, संगीत, पेन्टिङजस्ता सम्पूर्ण कुरालाई समेट्नुपर्छ र त्यो पुस्तक अनिवार्य गर्नुपर्छ’, निर्देशक लामा भन्छन्, ‘त्यसो गर्न सकिएको खण्डमा भने यो अझै प्रभावकारी बन्नेछ ।’