विराटनगर । विराटनगर– ११ स्थित गोल्डेन हस्पिटल प्रा.लि.ले प्रसुति सेवा सहितका १२ वटा शल्यक्रिया सेवामा बिशेष छुट सहितको शुल्क निर्धारण गरेको छ ।

विगतको भन्दा झण्डै पचास प्रतिशत कम मात्र शुल्क लिएर ति सेवाहरु प्रदान गरिने हस्पिटलले जनाएको छ । आज पत्रकार सम्मेलन गर्दै हस्पिटलले दिन लागेको विशेष सेवाहरुको लाग्ने शुल्क समेत सार्वजनिक गरेको छ ।

‘अर्ली ट्रिटमेन्ट, अर्ली डिस्चार्ज’ अर्थात समयमै उपचार समयमै डिस्चार्ज भन्ने नीति लिएर हस्पिटलले सेवा प्रवाह गर्न लागेको निर्देशक सनातन मण्डलले बताउनुभयो । स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार हो भन्ने भावनाका साथ गोल्डेन हस्पिटललाई सामाजिक सेवाको प्रतीकको रुपमा स्थापित गर्न यो नीति अवलम्बन गरिएको उहाँले बताउनुभयो ।

यस्तै अस्पतालका प्रबन्ध निर्देशक डा. श्याम रौनियारले समाज प्रतिको दायित्वबोध गर्दै केहि सेवाहरूलाई छिटो, गुणस्तरीय र सर्वसुलभ बनाउने प्रयासको आरम्भ गरेको बताउनुभयो । उहाँले बिस्तारै क्षेत्र फराकिलो बनाउँदै लगिने समेत बताउनुभयो ।

सुलभ दरमा दिइने स्वास्थ्य सेवाका लागि १० देखि १५ वर्षको अनुभव भएका एमएस र एमसिएच डिग्री प्राप्त वरिष्ठ विशेषज्ञ चिकित्सकहरुको टीमले काम गर्ने डा. रौनियारले बताउनुभयो । उहाँले भन्नुभयो,‘हामी चाहन्छौं १० दिन अस्पताल बस्नुपर्ने विरामीलाई सकेसम्म एक दुई दिनमै डिस्चार्ज दिन सक्ने गरि उपचारको व्यवस्था होस् जसले लामो समय अस्पताल बस्दा हुने खर्चमा न्यूनिकरण होस् ।’ यसका लागि सोहि अनुसारको उपचार र वातावरण बनाइने उहाँले बताउनुभयो ।

गोल्डेनले सार्वजनिक गरेको स्वास्थ्य सेवा शुल्क आफ्नै पहिलाको शुल्क भन्दा ५० प्रतिशत कम रहेको र सरकारी वीमाले निर्धारण गरेको शुल्क भन्दा पनि न्यून रहेको दावी हस्पिटलको छ । सरकारले सबै जनताको लागि ठूलो स्केलमा निर्धारण गरेको शुल्क हो भन्दै प्रबन्ध निर्देशक रौनियारले गोल्डेनले खर्च न्यूनिकरण गराएर शुल्क कम गराउने उद्देश्यमा रहेको बताउनुभयो ।

अस्पतालका निर्देशक रौनियारले उपचारका लागि लामो समय अस्पताल बस्नु पर्दाको खर्च, तथा औषधि खरिद गर्दा लाग्ने शुल्क समेत कम गराउने तयारी गरिएको बताउनुभयो । उहाँका अनुसार यी सेवाका लागि लाग्ने औषधि समेत नाफा रहित ढङ्गले उपलब्ध गराउने तयारी गरिएको बताउनुभयो । पत्रकार सम्मेलनमा हस्पिटलका प्रबन्धक सुधिरसिंह राठौर, प्रमुख कार्यकारी अधिकृत मोहम्मद जियाउल हकलगायतका पदाधिकारीहरुको उपस्थिति थियो ।

गोल्डेन अस्पतालले किफायती दरमा उपलब्ध गराउने सेवा र लाग्ने शुल्कहरु

हाइड्रोशिल शल्यक्रिया रु १९९९९।–
अपेन्डीसाइटिस शल्यक्रिया रु १९९९९।–
पाठेघरको शल्यक्रिया रु २४९९९।–
शल्यक्रियाबाट प्रसुति रु १५०००।–
सामान्य प्रसुति रु ४९९९।–
अनुहारको शल्यक्रिया रु ३४९९९।–
कानको जाली फुटेको शल्यक्रिया रु २४९९९।–
मुत्रनलीमा भएको पत्थरीको शल्यक्रिया रु २४९९९।–
टन्सीलको शल्यक्रिया रु २९९९९।–
नाक बाङ्गो भएको शल्यक्रिया रु २९९९९।–
किड्नीको पत्थरीको शल्यक्रिया रु ३४९९९।–
पित्त थैलीको पत्थरीको शल्यक्रिया प्याकेजमा रु ३९४९९।–

तपाईको प्रतिक्रिया