गलबहादुर गुरुङलाई बच्चादेखि चित्र कोर्ने सोख थियो । विद्यालय जीवनदेखि नै उनले चित्र कोर्न थाले । तनहुँको भानु नगरपालिका–१३ मा जन्मिएका उनलाई चित्र कोर्न खुब मन पथ्र्यो । व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा अध्ययन गर्दाताका पनि उमले चित्र कोरिरहन्थे ।

ad
समय, परिस्थिति र व्यस्तताका कारण आजभोलि उनलाई चित्र कोर्ने समय मिल्दैन । जिल्ला समन्वय समिति तनहुँको सदस्य एवं प्रवक्ता रहेका उनलाई यतिबेला सामाजिक कामको जिम्मेवारी छ । गत स्थानीय तहको निर्वाचनमा भानु नगरपालिका–१३ बाट वडा सदस्यमा निर्वाचित भएका गुरुङ यतिबेला जिल्ला समन्वय समितिको सदस्य हुन् ।

कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि नेपालमा गरिएको लकडाउनले धेरैलाई फुर्सदिलो बनायो । करिब चार महिना धेरै जना घरभित्रै थुनिए पनि गुरुङलाई लकडाउनले घरभित्र त राख्यो तर चित्र बनाउने कलालाई बाहिर निकाल्ने अवसर जुरायो । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले गत चैत ११ गतेदेखि नेपालमा लकडाउन (बन्दाबन्दी) जारी गरेको थियो । करीब चार महिनापछि सरकारले लकडाउनलाई खुकुलो बनायो । जिल्लास्तरमा पनि कोरोना सङ्क्रमित बढ्न थालेपछि जिल्लाका विभिन्न पालिकाले निषेधाज्ञा, लकडाउनलाई निरन्तरता दिए । तनहुँका सबैजसो स्थानीय तह पनि लामो समयसम्म बन्द रहे ।

सोही कारण फुर्सद मिलेर आफ्नो चित्र बनाउने कलालाई थप निखार्न सहयोग पुगेको बताउछन् गुरुङ । “लकडाउन अरुको लागि घरमै बसेर दिन कटाउने माध्यम बन्यो होला तर मलाई चित्र कोर्ने कला निखार्न सदुपयोग गर्ने अवसर मिल्यो”, गुरुङले भने, “लकडाउन नभइदिएको भए मैले यस्तो अवसर कहिले पाउँथे आफैलाई थाहा थिएन ।” उनले समस्यालाई समस्याकैरुपमा मात्र नभई अवसरमा पनि बदल्ने प्रयास गर्नुपर्ने बताए ।

लकडाउन नभएको भए गुरुङ कार्यालयकै काममा व्यस्त हुनुपर्दथ्र्यो । प्रवक्ता पनि भएको कारण विभिन्न कार्यक्रम, स्थानीय तहमा भएका कामको अनुगमन लगायत कामले फुर्सद मिल्दैनथ्यो । “लकडाउनमा त्यत्तिकै बस्नुभन्दा के गर्ने त भनेर सोच्दा मेरै पुरानो कला अब निखार्छु भन्ने सोच आयो, चित्र बनाउन सबै सामग्री जुटाए अनि चित्र कोर्न थालेँ”, उनले भने । यसबीचमा कहिलेकाँही चित्र कोर्ने गरेपनि एकोहोरोरुपमा चित्र बनाएर बस्ने फुर्सद गुरुङलाई मिलेको थिएन । करीब १५ वर्षपछि एकोहोरो रुपमा चित्र बनाएर बस्ने अवसर लकडाउनले जुराएको गुरुङले बताए ।

उनका अनुसार सामान्य चित्र बनाउन चार/पाँच घण्टा लाग्छ, रङ्गीन चित्र बनाउन त पूरै एक दिन पनि लाग्न सक्छ । “तर मैले आठ/नौ घण्टाको अवधिमा पनि रङ्गीन चित्रहरु कोरेको छु,” उनले भने, “चित्र कोर्न बसेपछि छुट्टै आनन्द आउँछ ।” चित्र कोरिसकेपछि आहा कस्तो राम्रो भनिए पनि चित्र बनाउन मिहिनेत लाग्ने गरेको गुरुङ सुनाउछन् । “सँधैभरि यस्तो अवसर त नमिल्ला, तर चित्र बनाउने मेरो कलालाई कागजमा चाँही उतारिरहन प्रयास गर्नेछु”, गुरुङले भने ।

गुरुङले लकडाउन अवधिमै भिमराज गुरुङसँग मिलेर तमुसार क्होवे भवनको सङ्ग्रहालयमा राख्नका लागि १५ वटा सांस्कृतिक तस्वीर बनाएका छन् । संस्कार र संस्कृति झल्कने चित्रहरु बनाएर सङ्ग्रहालयलाई उपलब्ध गराएको गुरुङले बताए । “कला संस्कृति झल्कने चित्र बनाउन संस्कृतिमा जानकार भएको पनि हुनुपर्छ, संस्कृतिविद्ले पनि उक्त सङ्ग्रहालय अवलोकन गर्ने भएकाले एकदमै चनाखो भएर चित्र कोरेका छौँ”, उनले भने ।

विसं २०४९ सालमा भानु नगरपालिका–१३ ठूल्ढुङ्गास्थित अरनिको माध्यमिक विद्यालयमा पढाएका उनी १२/१३ वर्ष विदेश बसे । विदेशबाट फर्किएर काठमाडौँमा व्यवसाय गरेर बसेका उनी स्थानीय निर्वाचनमा गाउँ फर्किएका थिए ।

तपाईको प्रतिक्रिया