कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको बहुप्रतीक्षित फिल्म ‘परान’ ले दर्शकलाई फिल्मसँग भावनात्मक रूपमा जोड्न नयाँ र फरक प्रचार प्रसार अभियान सुरू गरेको छ। निर्माण पक्षले ‘मेरो परान’ नामक अनौठो प्रतियोगिताको घोषणा गर्दै दर्शकको सहभागिता आमन्त्रित गरेको छ र यस अभियानअन्तर्गत सहभागी हुन इच्छुकले आफूले ‘परान’ ठानेको व्यक्तिसँगको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ। सो तस्बिरको क्याप्सनमा आफ्ना मनका कुरा लेखी ‘#मेरोपरान’ लेख्दै फिल्मको आधिकारिक फेसबुक पेज ट्याग गर्नुपर्ने जनाइएको छ।

निर्माण टिमका अनुसार, प्रतियोगितामा सहभागी भएकामध्ये एक जनालाई लक्की ड्रमार्फत १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने एक सय जनालाई फिल्मको विशेष शोको टिकट दिइनेछ।त्यसैगरी, प्रचारलाई अझ व्यापक बनाउने उद्देश्यले फिल्मका स्वयंसवकहरूलाई क्यूआर कोडसहित देशका विभिन्न स्थानमा पठाइएको छ भने क्यूआर स्क्यान गरी फिल्मको ट्रेलर वा गीत सेयर गर्ने ५० जनालाई कलाकारसँग बसेर फिल्म हेर्ने विशेष अवसर प्रदान गरिनेछ। प्रतियोगितामा कात्तिक २० गतेसम्म मात्र सहभागिता जनाउन पाइनेछ।

दीपक प्रसाद आचार्य (काकु)को निर्देशनमा बनेको ‘परान’मा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविण खतिवडा, बुद्धि तामाङ, बबिन राई, दमन रुपाखेती र यमन श्रेष्ठ लगायतका कलाकारको दमदार अभिनय रहेको छ भने शेखर गोल्छा र रञ्जित आचार्यको निर्माणमा तयार यो फिल्मले बाबु–छोराको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको छ र दर्शकसँग आत्मीय सम्बन्ध गाँस्ने प्रयासमा रहेको ‘परान’को यो अभियानले फिल्मप्रेमीबीच उत्साहको लहर थपेको छ।

तपाईको प्रतिक्रिया