मानिसहरू एकतमासले कतै गइरहेका थिए । कता गइरहेका थिए, त्यसको भने कुनै अत्तोपत्तो थिएन । कुनै गल्ली थियो शायद । गल्ली नै हुनुपर्छ । सपनाको दृश्य केही धूमिल थियो ।

त्यो धूमिल स्वप्नदृश्यमा देखा परेका छिपछिपे मानिसहरू जम्मै पुरुष थिए । पुरुषहरूको बोके बगालमा एउटै मात्र पनि स्त्री नहुनु विडम्बनापूर्ण थियो ।

एक वयस्क पुरुषको सपनामा कुनै स्त्री नडुल्नु भनेको ज्यादै खराब कुरा हो ।

गल्लीको दृश्य एकाएक बदलियो । यो स्वप्नदृश्यमा मैले आफूलाई एउटा सडकको किनारामा उभिएको देखेँ । सडक विशाल मरुभूमिमा लम्पसार सुतेको प्रतीत हुन्थ्यो । सडकको पल्लो किनारमा एउटा मान्छे गाडीको पाङ्ग्रा फेरिरहेको थियो ।

त्यो मान्छे को थियो ? कहाँबाट आएको थियो ? कता जाँदै थियो ? एक सुरले गाडीको पाङ्ग्रा मर्मत गरिरहेको ऊ निकै बुढो देखिन्थ्यो ।

थोत्रिएको कालो भक्सवागन र पाङ्ग्रा फेरिरहेको त्यो अपरिचित मनुवालाई मैले पहिल्यै कताकता देखेजस्तो, कहीँ कतै पढेजस्तो लाग्थ्यो । तर कता देखेको थिएँ ! कहाँ पढेको थिएँ ?

त्यसको बोध मलाई स्वप्नच्यूत भइसकेपछि प्रातः भ्रमणमा निस्कँदा मात्र भएको थियो । मेरो स्वप्नमा गाडीको पाङ्ग्रा फेर्ने त्यो मान्छे जर्मन कवि बर्ताेल्त ब्रेख्तको कवितामा थियो । मैले सम्भवतः उसलाई त्यही कवितामा देखेको थिएँ, पढेको थिएँ ।

म सडक किनारामा उभिएर
गाडीको पाङ्ग्रा फेरिरहेको ड्राइभरलाई हेरिरहेको छु ।

म जुन ठाउँबाट आएँ,
त्यो ठाँउ मलाई मन पर्दैन ।

र, कुन ठाउँतिर जाँदै छु ।
त्यो ठाउँ पनि मलाई मन पर्ने छैन ।

तैपनि,
गाडीको पाङ्ग्रा फेरिरहेको मान्छेलाई
म किन यतिविघ्न अधैर्यपूर्वक हेरिरहेको छु ?

यो कवितालाई मैले प्रातः रमणमा सम्झेको हुँ । तर अहिले सपनाकै कुरा गरौँ क्यारे !

गल्ली र मरुभूमिपछि बदलिएको स्वप्नदृश्यमा ट्रेन थियो । सिंगो ट्रेन र ट्रेनको सर्पिलो आकारको लिक होइन, केवल डिब्बा थियो । डिब्बामा पनि केवल पुरुषहरू थिए । ती सबैले एकुन्टा ललिपप चुसिरहेका थिए ।

ललिपप चुस्दै ती अधबैँसे पुरुषहरू ट्रेनमा कता जाँदै थिए ?

०००

सदाझैँ प्रातः रमणमा निस्केँ । झिसमिसे उज्यालोमा । सपनामा देखिएका कतै न कतै गइरहेका मानिस एवं ब्रेख्तको कविता सम्झँदै गल्लीमा हिँडेँ । गल्लीमा मानिस त के, चरोमुसो केही देखिएन । बरु एउटा चोकमा प्रहरीहरूको जमात देखें ।

एउटा सिपाहीले सातो झार्ने किसिमले थर्कायो,’कता हिँडि’रा ? कर्फ्यु लागेको था’ छैन ?’

कर्फ्यु ! ह्वाट नन्सेन्स ? कुन्नि के जाति नाम गरेको महामारी लागेको त थाहा थियो, यो कर्फ्युचाँहि कहिले लागेछ ? कसले लगाएछ ? यो कर्फ्यु रातारात कहाँबाट झरेछ ? म ग्वाँच बबुरोलाई कसरी थाहा हुनु ?

म अलमलिएको देखेर त्यही सिपाहीले भन्यो, ‘मच्छिन्द्रनाथको जात्राले पाटनमा कर्फ्यु ल्याएको हो । फर्किहाल्नुस्, कर्फ्यु लागेको बेला यसरी लखरलखर हिँड्नु राम्रो हुँदैन ।’

घर फर्कें र सपनामा कतै न कतै गइरहेका ती मानिसहरू बारे सोचेँ । अनि, एउटा हिन्दी कविता लेखेँ । लेख्न त लेखेँ, तर हिन्दी कविता सुनाउने पो कसलाई ?

किन हो कुन्नि ! भूषिता वशिष्ठलाई सम्झें ।

भूषितालाई फोन गर्दा उसले सुरुमै भनी, ‘कुमारजी, किन हो कुन्नि ! म तपाईंलाई नै सम्झिरहेकी थिएँ । फोन गर्नुभयो, गज्जब भयो । फोन चैँ बरु किन पो गर्नुभयो ?’

मैले भनें, ‘कविता सुनाउन।’

‘त्यसो भए सुनाउनुस् न त !’

‘लौ सुन्नुस् ।’

‘कविताको शीर्षक चैँ के हो नि ?’

‘शीर्षक छैन, अन्टाइटल्ड पोयम हो ।’

‘अच्छा–अच्छा, अनटाइटल्ड पेन्टिङजस्तै अनटाइटल्ड पोयम ?’

‘हो हो, त्यस्तै केही हो, सुनाऊँ त ?’

‘सुनाउनुस, सुनाउनुस् ।’

‘कविता चैँ हिन्दी हो नि !’

‘तब् तो बहुत खुब, सुनाइहाल्नुस् जनाब !’

लौ सुन्नुस्, है त ?

‘ओके ओके, इरशाद !’

सुबह की ट्रेन से
कुछ यादेंँ चले गए है ।

ख्वाब सोया था कमरे मे
जाग कर गलियोँ से गुजर गया है ।

कुछ सपने भी थे मेरे
अब राहगिरो के हमसफर बन गए है ।

एक मन हुवा करता था
जो नदी मे अस्थियों के साथ बह गया हे ।

जिन्दगी
चन्द दिनोका मेहमान था
कब्र मे फिर से लौट गया है ।

सब–के–सब चले गए है ।

सोच्ता हुँ,
मै भी किसी
स्त्री की कोख मे चला जाउँ ।।

मलाई लाग्छ, त्यो दिन सपनामा कतै न कतै गइरहेका मानिसहरू हालसालै दिवंगत भएका मृतात्माहरू थिए । विपनामा मरेका ती मानिसहरू मेरो सपनामा आएका हुँदा हुन् । स्पष्ट अनुहार नदेखिएका ती मृतात्माहरूको भीडमा भर्खरै देहान्त भएका कविवर घिमिरे हुँदा हुन् । पिटर j हुँदा हुन्, रत्नशमशेर थापा हुँदा हुन् ।

डीपी भण्डारी हुँदा हुन । इरफान खान हुँदा हुन् ।

ललिपप चुस्दै ट्रेनमा कतै गइरहेका मृत यात्रीहरूमाझ माननु बालकुमारी मन्दिरको पुजारी हुँदा हुन् र हुँदा हुन् गुण सिनेमा हलको गेटकिपर ।

भूषिता वशिष्ठलाई सुनाएको हिन्दी कविता, जसलाई भर्खरै तपाईंले पनि पढ्नुभयो, त्यो कविता म तिनै मानिसहरूप्रति समर्पित गर्छु, जो यस धरतीबाट अलप भएर कुन्नि कता गए ।

ती जाने मानिसहरूबारे अब म केही लेख्नेछु । सोह्रश्राद्धको मौसम छ । यस्तो बेला मृतकहरूलाई सम्झनु बेसै होला । यो स्मृति–लेखलाई तपाईं श्राद्ध–अर्पण पनि भन्न सक्नुहुन्छ । आज मैले सम्झने ती मानिसहरू यस प्रकार छन् : मंगललाल महर्जन, रत्नशमशेर थापा, पिटर j कार्थक, इरफान खान र राजेश कर्माचार्य ।

मुनिका हरफहरूमा, केही समयअघि दिवंगत भएका यी पाँच मानिसहरूसित म कसरी जोडिएको थिएँ भन्नेबारे चर्चा गर्नेछु । उनीहरूलाई शब्द–याद गर्नेछु । शब्दहरूबीच देखिइने खाली स्पेसमा उनीहरूको सम्झना भर्नेछु । यादहरूको पोस्टमार्टम रिपोर्ट तयार पार्नेछु ।

ओभरकोट, भोड्का र सिनेमा हल
५० हाराहारीका मंगललाल महर्जन एक रात बाथरुम छिरे । दमका रोगी मिस्टर महर्जन बाथरुममै बिते । उनी बितेको परिवारका सदस्यहरूलाई थाहा सुइँको नै भएन । बिहान ढोका फोर्नुपर्‍यो । बाथरुममा उनको लास देख्नुपर्‍यो ।

उनको आकस्मिक मृत्युले म मर्माहत भएँ ।

बालकुमारी मन्दिर छेवैमा रहेको चियापसलमा उनले मलाई आइन्दा स्वागत गर्ने छैनन्, आफ्नै हातले बनाएको कडक चाय मलाई सर्भ गर्ने छैनन् भन्ने कल्पनाले म झस्किएँ ।

मंगललाल भला मानुष थिए । लोक भन्छः भला मानुष हामी बाँचेको यो जमानामा निकै असान्दर्भिक हुन्छ । तसर्थ उनीहरूको स्थान र आवश्यकता यो जगत्‌मा कम पराजगत्‌मा बढी हुन्छ ।

बहत्तरे महाभूकम्पको बेला यी भला मानुषले कमाल गरे । पसलमा आउने जोसुकैलाई उनले ‘फ्री’मा चिया बाँडे । को टोलवासी, को अपरिचित, सबैलाई कैयाैँ दिन मुफ्तमा चिया पिलाए । किन यसो गरेको साहुजी भनी सोद्धा उनले मलाई भने, ‘मजा आउँछ नि त ओभरकोट सर !’

मलाई उनी ‘ओभरकोट सर’ भनी सम्बोधन गर्थे ।

म भने उनलाई साहुजी भन्ने गर्थें । बालकुमारीमा म बस्न थालेको १७ वर्ष भयो । म उनलाई १७ वर्षदेखि चिन्थेँ । मेरो विडम्बनाचाहिँ के भने बाँचुन्जेल मैले उनको नाम जानिनँ । या भनुँ जान्ने चेष्टा–प्रयास नै गरिनँ ।

एउटा मानिसलाई मैले उसको नामबिना नै चिनेँ । ऊ बाँचुञ्जेल मैले उसको नाम काढिनँ । उसलाई केवल साहुजी भनेर बोलाएँ । मान्छे मरिसकेपछि मात्र मैले उसको नाम थाहा पाएँ ।

पत्नीले एक बिहान ‘मंगललाल बित्नुभएछ’ भन्दा मैले सोधेको थिएँ, ‘मंगललाल ? को मंगललाल ?’

‘मंगललाल क्या मंगललाल ।’

‘त्यही त ! को मंगललाल ?’

‘तपाईंको भोड्का राखिदिने मंगललाल क्या !’

भोड्काको प्रसंग चलेपछि बल्ल मैले चाल पाएँ, ‘अच्छा ? त्यसो भए उनको नाम मंगललाल पो रहेछ !’

माथि जुन चियापसलको चर्चा भयो, त्यो पसल उनले आफ्नो कान्छा पुत्र सुनील महर्जनका निम्ति खोलिदिएका थिए । उनको आफ्नै पसल त गुण सिनेमा हलमा थियो । फिल्मको मध्यान्तरमा उनी सिने दर्शकहरूलाई पानपराग–रजनीगन्धा, सिग्रेट–पानी, कोल्ड ड्रिंक्सलगायत अगडम–बकडम बिक्री गर्थे ।

मंगललाल महर्जन सिनेमा हलका गेटकिपर थिए ।

उनी मलाई टिकटबिना नै हलभित्र छिराइदिन्थे र भन्थे, ‘कुन फिल्म हेर्ने ओभरकोट सर ? जुन फिल्म हेर्न मन लाग्छ भन्नुस्, त्यही थिएटरमा घुसाइदिन्छु ।’

नभन्दै उनी त्यसै गर्थे । झुर फिल्म चल्दा, म एउटा थिएटरबाट अर्काे र अर्काेबाट अर्काेमा चहारिरहन्थेँ । राम्रा फिल्महरूको हकमा भने एकपछि अर्काे लगालग हेरिहाल्थेँ ।

म प्रायः ओभरकोटमा हुन्थेँ । त्यसैले उनी मलाई ‘ओभरकोट सर’ भन्थे ।

मैले आफ्नो जीवनको महत्त्वपूर्ण उमेर दारुमहल, घाट, पुस्तकपसल एवम् सिनेमा हलहरूमा बिताएको छु । सिनेमा हलको कुरा गर्दा ग्वार्काेमा रहेको गुण सिनेमा हलको प्रसंग स्वतः आइहाल्ने भयो, जहाँ म निराश हुँदा छिर्थें, जहाँ म खुसी हुँदा छिर्थें । वर्षात्‌मा मेरो ओत लाग्ने ठाउँ त्यही थियो, जाडोमा भोड्काको चुस्की लिने ठाउँ त्यही ।

ओभरकोटको भित्री खल्तीमा भोड्काको क्वार्टर बोकी म हलभित्र छिर्थें । फिल्म मन मर्ने खालको भए पूरै बोतल सिध्याउँथेँ, झुर भए बीचैमा निस्कन्थेँ । गेटकिपरलाई बोतल जिम्मा लगाउँदै भन्थेँ,’ साहुजी, यसलाई तपाईंको पसलमा जतनसित राखिदिनुस्, ल ! अर्काे फिल्म हेर्न आउँदा मलाई फिर्ता दिनुहोला ।’

अर्काे पटक पनि त्यस्तै हुन्थ्यो । उनलाई अर्काे बोतल दिन्थें र हलबाट निस्कन्थें । यो क्रम धेरै समय चल्यो । चलि नै रह्यो ।

ती दिनहरूमा म कुख्यात मदिराभोगी थिएँ । विवाहपश्चात् सम्भोगी भएँ । हलतिर लगभग जान छाडिदिएँ । मंगललाल महर्जनलाई ‘जतनसँग राख्न’ दिएको भोड्का पनि बिर्सें ।

एक दिन नवविवाहित दुलहीलाई फिल्म देखाउन लगें । फिल्म हेरेर निस्कन लाग्दा मंगललालसित जम्काभेट भयो । उनले मुस्कुराउँदै भने, ‘तपाईं त अचेल यता आउनै छाड्नुभयो ओभरकोट सर । आएको बेला म्याडमलाई अर्काे फिल्म पनि देखाउनुस् ।’ उनले हामीलाई अर्काे थिएटरभित्र छिराइदिए ।

चार–पाँच जना मात्र दर्शक भएको बाल्कोनीमा पत्नीले भनी, ‘गेटकिपर तपाईंको साथी हो ?’

मैले ‘हो’ भनें । त्यो फिल्म पनि अन्ततः समाप्तिपछि हामी बाहिरियौँ । पुनः गेटकिपरसित भेट भयो । यस पटकचाहिँ उनको हातमा एउटा झोला थियो । कपडाको हाते झोला मलाई सुम्पँदै उनी बोले, ‘तपाईंको सामान ओभरकोट सर, लानुस् ।’

मैले सामान लिएँ ।

झोलामा भोड्काका सिसीहरू रहेछन् । ती सिसीहरूलाई मैले त बिर्सिसकेको थिएँ । तिनीहरूलाई मंगललाल महर्जनले ‘जतनसँग’ राखेका रहेछन् । झोला बोकेर घर फर्कें । त्यो रात सुत्नुअघि नवदुलहीले भनी, ‘तपैँका सबै साथीहरू गेटकिपरजस्तै हुन्छन् ?’

त्यो प्रश्नको जवाफमा मैले के भनेँ, अहिले हेक्का भएन ।

सिनेमा हलका गेटकिपर उर्फ मंगललाल महर्जनसित म यसैगरी जोडिएको थिएँ । एक रात बाथरुम छिरेका उनी बाथरुमबाटै स्वर्गतिर प्रस्थान गरिसकेका छन् । यो लेखिरहँदा सम्भवतः उनी स्वर्गको कुनै मल्टिप्लेक्समा सिनेमाको टिकट चेक जाँच गरिरहेका छन् ।

सोच्ता हु,
मै भी किसी
स्त्री की कोख मे चला जाऊँ ।
गोरेटो त्यो गाउँको …।

२४ डिसेम्बर २०१८ को एक साँझ गीतकार रत्नशमशेर थापालाई वर्षौंपछि भेट्ने साइत जुर्‍यो । र, त्यो भेट नै अन्तिम हुन गयो ।

उक्त मजलिस–ए–शामको साइत जुराएका थिए साथी निर्मल थापाले ।

रसियन कल्चर सेन्टरमा निर्मल उर्फ स्वामीजीको नवीन कथासंग्रह एकालापको विमोचन कार्यक्रम थियो । रत्नशमशेर थापा र मैले किताबको विमोचन गरेका थियौँ ।

हामी दुवै जना एउटै फ्रेमभित्र अटाएको फोटो स्वामीजीसित कतै होला । गीतकारको काया पञ्चतत्त्वमा विलीन भए पनि देहको छायाँ उक्त फोटोमा अवश्य पनि कैद भएको होला ।

रत्नशमशेर थापालाई सम्झँदा म प्रायः उनले पटक–पटक सल्काउने चुरोटको ठुटो सम्झन्छु । उनी आफ्नो कोटको खल्तीमा चुरोटका ठुटाहरू राख्थे । कुराकानीका क्रममा उनी ती ठुटाहरू सल्काउन रुचाउँथे । मैले उनलाई ज्यादै कम भेटेँ, तर जति भेटेँ, चुरोटका ठुटाहरूसितै भेटेँ ।

एउटा मशहुर गीतकारलाई मैले चुरोटका खिरिला खिल्लीहरूमा भेटेँ ।

एउटै चुरोटलाई मैले पनि कैयौँ पटक, पटक–पटक सल्काएर पिएको छु । यस्तो बेला मलाई रत्नशमशेर थापाको याद आउँछ । जब–जब मैले ठुटो चुरोट सल्काएको छु, तब–तब मैले ‘गोरेटो त्यो गाउँको लौन आज, खोजी–खोजी थाकें’ गीत लेख्ने गीतकारलाई सम्झेको छु । मैले आफूलाई चुरोटको ठुटो पिउँदै त्यही एकलास गोरेटोमा हिँडेको कल्पना गरेको छु ।

आफ्ना लेख–रचनाहरूमा म चुरोट लेख्न कमै रुचाउँछु । प्रायः सिग्रेटले काम चलाउँछु । जब भुलचुक कहीँकतै ‘चुरोट’ लेख्छु, म रत्नशमशेर थापाको उज्यालो मुहार सम्झन्छु ।

रसियन कल्चर सेन्टरको कोर्टयार्डमा मैले त्यो साँझ उनलाई सोधेको थिएँ, क्याजुअल्ली, ‘गोरेटो त्यो गाउँको खोजी–खोजी थाक्नुभएको थियो । त्यो गीत लेखिएको पनि अब त किवंदन्तीजस्तै भइसक्यो । त्यतिखेर पहिल्याउन नसकेको गोरेटो आज आएर पहिल्याउनुभयो त दाइ ?’

मेरो अनुहार हेरेर दाइ केही सोचमग्न भए ।

‘पहिल्याउनु अझै सकिन कुमार बाबु,’ उनले भने । क्षणभरको मौनता चपाएर उनी पुनः बोले, ‘त्यो वास्तवमा साहित्यको जटिल गोरेटो थियो, जसलाई मैले अझै पहिल्याउन सकिनँ ।’

यति भनेर उनी मुस्कुराए । उनको त्यो प्रसिद्ध थोते मुस्कानमा मैले बालसुलभताको भाव पोखिएको महसुस गरेँ । लगत्तै उनले भने, ‘कुमार बाबु ! त्यो गोरेटो पहिल्याउने अब तपाईंको पुस्ताले हो ।’

यी पङ्क्तिहरू लेखिरहँदा मेरो कानमा उनले रचेको त्यही मनप्रिय गीत गुन्जिरहेको छ। टाइपको क्लेश कुरा त गर्दिनँ, तर सत्य के हो भने, अँ साँच्चि सत्य के हो ?

उनी गएको कुरा सत्य हो । जन्म त एक संयोग हो, मृत्यु नै सत्य भएको कुरा सत्य हो । अन्ततः जीवनभरि खोज्दाखोज्दा थाकेका उनले आफ्नो गाउँ फेला पारेका छन् । गोरेटो पहिल्याएका छन् । र, त्यही गोरेटोमा चुरोटका ठुटाहरू सल्काउँदै आफ्नो स्वप्निल गाउँ गएका छन् ।

सोच्ता हुँ
मै भी किसी
स्त्री की कोख मे चला जाउँ ।

दस्तखत र स्मल j ।
पिटर j कार्थक । कस्तो आकर्षक नाम !

कुनै नाम यस्तो हुन्छ, जो किताबको कभरमा खुब सुहाउँछ । नामले नै किताबको गुरुत्व बढेझैँ लाग्ने । पिटर वकार्थक मलाई त्यस्तै नाम लाग्ने ।

वास्तवमा प्रत्येक ठाउँ, प्रत्येक मान्छे मैले पिटर j कार्थक भन्ने नामकै आकर्षणले पढेको थिएँ । स्कुलको लाइब्रेरीमा । २७ वर्ष अघि ।

किताबको नाम र लेखकको नाम, यी दुवैसित कुनै समय मेरो विचित्रको लगाव थियो । जसलाई तपाईं मेरो अल्ट्रा पागलपन भन्न सक्नुहुन्छ । किताबको नामबारे केही बेरमा चर्चा गरौँला । अहिलेलाई भने म लेखकको नाममै अल्झेर मर्न चाहन्छु । किनभने हामी TOM, DICK&HARRY जस्तो कुनै ऐरे–गैरे–नत्थु खेरै टाइपको लेखकको नाम होइन, बरु पिटर वकार्थक जस्तो चित्ताकर्षक नामबारे कुरा गर्दछौँ ।

यो नाम त्यति साह्रो मन परे पनि, जब म यो नाम किताबको गातामा या उनका नेपाली लेख तथा कथाहरूमा देख्थेँ, तब मलाई कहीँ–कतै के–के नमिलेको जस्तो लाग्थ्यो । यस्तो सुन्दर एवम् रोचक नाममा TYPOGRAPHIC MISTAKE जस्तो केही देख्थें ।

पिटर तथा कार्थकको बीचमा ‘जे’ होइन, j हुनुपर्थ्याे । पिटर जे. कार्थक होइन, पिटर j कार्थक हुनुपर्थ्याे । त्यसो हुन्थ्यो त क्या गज्जब हुन्थ्यो ! नाम र थरबीच देखिइने j भव्य देखिन्थ्यो । TYPOGRAPHICALLYARTISTIC & GRACEFUL हुन्थ्यो ।

क्यापिटलJ होइन, स्मल j हुनुपर्थ्याे । स्मल j स्मल ! किनभने स्मल j मा थोप्ला हुन्छ, जसलाई किताबको गातामा प्रिन्ट गर्दा एम्बुस या डि–एम्बुस गरेर हाइलाइट गर्न सकिन्थ्यो । यस्तो हुन्थ्यो त कस्तो काइदा हुन्थ्यो !

j को प्रसंगलाई केही बेर थाँती राखी अब उपन्यासको नाम प्रत्येक ठाउँ, प्रत्येक मान्छेप्रतिको मेरो लगाव–ए–चर्चा गराैँ, जुन लगावले पागलपनको हद नाघेको थियो, मेरो जवानीका दिनहरूमा ।

स्मरण के भइजाओस् भने म फगत प्रत्येक ठाउँ, प्रत्येक मान्छे नामको शीर्षकबारे कुरा गर्दै छु, नकि उपन्यासको । २७ वर्षअघि पढेको उपन्यासको कथा एवं पात्रहरूलाई त मैले बिर्सिसकेको छु । उपन्यासको नाम भने मेरो मनमा यसरी गढेर बसेको छ कि त्यसलाई ब्लेडले खुर्केर निकाल्न पनि असम्भवप्राय: छ ।

किन यस्तो भयो, म जान्दिनँ । तर, एक समय यस्तो थियो प्रत्येक ठाउँ, प्रत्येक मान्छे, यी चार शब्दलाई मैले नोटबुकमा नलेखेको दिन हुँदैन थियो । नोटबुकको गातामा, पहिलो पाना र अन्तिम पानामा म प्रत्येक ठाउँ, प्रत्येक मान्छे लेख्थेँ । किनिएका हरेक किताबमा म प्रत्येक ठाउँ, प्रत्येक मान्छे लेख्थेँ ।

शौचालयको भित्ता होस् या मन्दिरको, मौका मिल्नासाथ प्रत्येक ठाउँ, प्रत्येक मान्छे लेखिहाल्थेँ । वज्रबाराही जंगलमा खोज्ने हो भने कुनै रुखमा तपाईं अझै पनि प्रत्येक ठाउँ, प्रत्येक मान्छे लेखिएको मेरो हस्ताक्षर भेट्नुहुँदो हो ।

प्रत्येक ठाउँ, प्रत्येक मान्छे नजानिदो किसिमले मेरो दस्तखतजस्तै भएको थियो । दस्तखत–ए– नगरकोटी ! बैंकमा खाता थिएन, नत्र त म चेकमा समेत प्रत्येक ठाउँ, प्रत्येक मान्छे लेखिटोपल्दो हुँ ।

पिटर j कार्थकसित सम्बन्धित यो स्मृति तपाईंलाई केही TECHNOTYPE प्रतीत भयो होला । TECHNICALMEMOIR झैँ लाग्यो होला । अब यसमा के नै पो गर्न सकिन्छ र ! यी लेखकसित म यसै गरी जोडिएको छु ।

मनप्रिय मानिसहरूसित म यस्तै अजीव ओ गरिब ढङ्गले जोडिन्छु । मेरो सम्बन्धमा आएका मित्र, प्रेमिका, शुभचिन्तक एवं दुष्मनहरूसित मेरो आफ्नै ‘नगरकोटियन ढङ्ग’ को स्मृति होस् भन्ने चाहन्छु, जसलाई म मृत्युपर्यन्त जोगाउन सकूँ । प्रत्येक सम्बन्धमा मौलिक एवम् ‘जरा हट्के टाइप’ को सम्झना रहोस् भन्ने ईच्छ्याउँछु ।

यस्तो ढङ्गलाई तपाईं ‘बेढङ्गको ढोँग’ पनि भन्न सक्नुहुन्छ । हु केयर्स, आफ्टर अल ?

खैर, पिटर j कार्थकसित मेरो यस्तै TECHNO यादहरू छन् । उनीसित जीवनमा एकचोटl मात्र भेट भयो । उनको अन्तिम अंज्रेजी उपन्यास KATHMANDRUIDS: MONOMYTHSMEANYMYTHS काे विमोचन समारोहमा । झम्सिखेलको मोक्ष क्याफेमा ।

क्याफेको बगैँचामा ब्ल्याक कफी पिउँदै हामीले केही ऐकान्तिक फल–क्षण बिताएका थियौँ । मैले उनलाई सम्झने दुई कारणबारे सक्षिप्त चर्चा गरेँ । मेरो कुरा ध्यानपूर्वक सुनेर उनले भने, ‘मिस्टर नगरकोटी ! तपाईं आफ्ना लेखहरूजस्तै विल्कुल UNWOLDLY हुनुहुँदो रहेछ । तपाईंसित निकै ढिलो चिनापर्ची भयो । अफसोचको कुरा होइन र यो ? हामी एकार्कालाई बरोबर भेट्नुपर्ने मान्छे रहेछौँ ।’

उनले बरोबर भेट्नुपर्छ त भने, तर कहाँ कता भन्नेबारे केही भनेनन् । मैले पनि सोधिनँ ? उनलाई लाग्यो होला, UNWORLDLY मान्छे हो, थाहा पाइहाल्ला ।

त्यो दिन छुट्टिनुअघि उनले भनेका थिए, ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे कुनै समय तपाईंको दस्तखतजस्तै भएको सुन्दा खुसी लाग्यो । त्यो उपन्यासबारे यस्तो अनौठो कुरा मलाई आजसम्म कसैले सुनाएको थिएन ।’

उनको कुरा सुनेर म पनि खुसी भएँ । उनले थप आगे भने, ‘But you know mister Nagarkoti ! Your idea of small j placing in–between my names is worth contemplating !’

म मुस्कुराएँ । लगत्तै उनी बोले, ‘तपाईंको j प्रसंग मलाई अझ बढी रोचक लाग्यो । भर्खरै अंग्रेजी उपन्यास लेखियो, अब नेपाली उपन्यास लेख्ने छाँट त छैन, तर लेखी हालिएछ भने तपाईंको स्मल j बारे आवश्यक विचार गरूँला । पिटर अनि कार्थकबीच स्मल j दामी नै होला ।’

मेरा बुक सेल्फहरूमा अचेल प्रत्येक ठाउँ, प्रत्येक मान्छेको एक प्रति पनि छैन । अब मलाई त्यसको आवश्यकता पनि छैन । किनभने आजकल मेरो दस्तखत फेरिइसकेको छ । तर जब–जब म पुरानो दस्तखत सम्झन्छु, तब–तब म पिटर j कार्थकलाई सम्झन्छु ।

जहाँसम्म स्मल j को कुरा छ, मलाई लाग्छ, मेरो सल्लाह खेर गएको छैन । उनले यसबारे विचार गर्छु भनेका थिए । यता म यो लेखिरहँदा, उता उनी स्मल j बारे सोचिरहेका होलान् । यता बसी नेपाली उपन्यास लेख्दा समय र जिन्दगी बर्बाद हुने ठानी उनी उता गएका होलान् ।

पिटर j कार्थक
तो चले गए है ।

सोच्ता हुँ
मे भी किसी
स्त्री की कोख मे चला जाउँ ।

मकबुल मियाँ, स्क्रिनप्लेर ह्यान्डिक्याम
१७ वर्षअघि एउटा फिल्म रिलिज भयो, जसको नाम थियो, हासिल । तिग्मांशु धुलियाद्वारा निर्देशित यो फिल्मको भिलेनमा देखा परेको कलाकारले सिने पारखीहरूलाई चकित–आ–चकित पारिदियो ।

सिने म्यागेजिनहरूमा A NEW VILLAIN IN TOWN टाइपको शीर्षकले एकछत्र राज गर्‍यो । उक्त भिलेनले फिल्म फेयर अवार्ड पनि हासिल गर्‍यो । त्यो भिलेनको नाम थियो- इरफान खान ।

इरफान खानलाई हासिलमा देखेर मेरो मनले मानेको थियो- मेरो अलटाइम फेभरेट एक्टर नाना पाटेकरको अब देहान्त भइहालेमा मलाई कुनै अफसोच हुने छैन । इरफान खानले मिस्टर पाटेकरको ठाउँ ‘हासिल’ गर्नेछ ।

काल–विडम्बना हेर्नुस् । मिस्टर पाटेकर अझै जीवित छन् । इरफान खान भने ‘खुदा के प्यारे’ भइसके ।

हासिल तिग्मांशु धुलियाको पहिलो फिल्म थियो । उनैले पछि पान सिंह तोमर निर्देशन गरे, जसबाट हासिलकै भिलेन इरफान खानले राष्ट्रिय पुरस्कार प्राप्त गरे ।

१७ वर्षअघि एउटा अर्काे फिल्म पनि रिलिज भएको थियो- मकबुल ।

विशाल भारद्वाजद्वारा निर्देशन भएकाे मकबुल उनको शेक्सपियरियन ट्रिलोजीको पहिलो हिन्दी एडप्टेसन थियो, जसमा पंकज कपुर, ओम पूरी, पियुष मिश्रा तथा नसिरुद्धिन शाहजस्ता भारतीय फिल्म उद्योगका एक–से–एक दिग्गज कलाकारहरूले अभिनय गरेका थिए । त्यसमाथि तब्बु ! मजस्तो सिने–दैंत्यलाई अरु के चाहियो ?

तर, फिल्ममा मलाई इरफान खानले मन्त्रमुग्ध पारिदिए ।

मकबुलपश्चात् इरफान खान मेरा निम्ति इरफान खान रहेनन् । उनी त मकबुल मियाँ बने । यिनै मकबुल मियाँ हाम्रा सुनील पोखरेलका अभिन्न मित्र रहेछन् । यी दुई मित्रहरूको भेट नयाँ दिल्लीस्थित NSD अर्थात् नेसनल स्कुल अफ ड्रामामा भएको रहेछ । मकबुल मियाँ अभिनयका विद्यार्थी र सुनील पोखरेल निर्देशनका । सन् १९८४ देखि १९८७ सम्म यी दुई जना साथ–साथ रहे । NSD काे होस्टलमा ।

तीनवर्षे तालिम सकिएपछि यी दुई आत्मीय मित्रहरू आ-आफ्नो यात्रामा एक्लैएक्लै जानुपर्ने भयो । छुट्टिनुअघि मकबुल मियाँले सुनील पोखरेललाई भने, ‘नेपाल किन फर्कन्छौ सुनील ? यतिका वर्ष दुःखसुखपूर्वक साथसाथ रह्यौँ । अब यतै साथसाथ संघर्ष गरौँ । यतैका थिएटर या फिल्ममा आ-आफ्नो नाम र पहिचान खोजौँ ।’

सुनील पोखरेललाई आफ्नो नाम र पहिचान नेपालमा खोज्नु थियो शायद । तसर्थ उनी देश फर्के र नेपाली आधुनिक रंगमञ्चको विकासमा अहोरात्र खटे । यता नेपाली थिएटरमा उनले आफ्नो नाम र पहिचान बनाए । उता हिन्दी सिनेमामा मकबुल मियाँले आफ्नो नाम र पहिचान बनाए ।

म स्वयम् पनि थिएटरमा फसेपछि तथा नाटक लेखन र मञ्चनमा फसेपछि यदाकदा सोच्ने गर्थें- यी दुई बिछडिएका मित्रहरूलाई एउटै मञ्चमा ल्याउन पाए क्या गज्जब हुन्थ्यो ! मैले नाटक लेख्ने, सुनील पोखरेलले निर्देशन गर्ने र मकबुल मियाँले अभिनय गर्ने । सोच्दा नै –है दैव– कस्तो मख्खानुभूति हुने !

‘लु कुमार ! सोच्ने मात्र होइन, एउटा नाटक लेखिहाल,’ मिस्टर पोखरेल मसित प्रायः भन्ने गर्थे, ‘त्यो नाटकमा मकबुल मियाँलाई खेलाउने जिम्मा मेरो भयो ।’

तीन या साढे तीन वर्षअघिको कुरा हो । म एउटा फिचर फिल्म निर्देशन गर्ने मुड र मोडमा पुगेको थिएँ । त्यसको औपचारिक घोषणा पनि भइसकेको थियो । अखबार एवम् टेलिभिजनमा समाचार पनि आइसकेको थियो- फिक्सन डिजाइनर नगरकोटी फिल्म निर्देशन गर्दै ।

फिल्मको स्क्रिनप्ले लेख्न पोखरा गएँ । लेकसाइडको होटल स्नोल्यान्डमा बसें ।
ओपनिङ–दृश्य लेखेँ, जहाँ मृत्युले POETRY RECITATION पश्चात् भन्छः I AM DEATH AND I’M THE NARRATOR OF THIS FILM !

उक्त डाइलग (वास्तवमा न्यारेसन) लगायत पाँच मिनेटको दृश्य (मेरो क्याल्कुलेसन) लेखेपछि त्यसलाई डेलिभर गर्ने अभिनेताको मुहार मेरो दिमागमा बिजुलीझैँ चम्क्यो : मकबुल मियाँ, मलाई लाग्यो मात्र होइन, म स्पष्ट भएँ- मेरो फिल्मको NARRATOR (जो DEATH हो ) मैले भेटेँ ।

आत्ममुग्धतामा दङ्ग पर्दै सिग्रेट सल्काएँ ।

तर सिग्रेटको अन्त्य हुँदा–नहुँदै कता–कता सन्देह जाग्यो । एक मनले भन्यो- मकबुल मियाँले नेपाली चलचित्रमा अभिनय गर्लान् ? अर्काे मनले भन्यो- मकबुल मियाँले नगरे अरु कसले गर्लान् ?

यहीँनेर मलाई सुनील पोखरेलको याद आयो ।

उनलाई पनि मैले फिल्ममा कास्ट गरेको थिएँ, एउटा महत्त्वपूर्ण भूमिकामा, जसलाई उनले निकै रुचाएका थिए । उनलाई फोन गरें र भनें, ‘मलाई मकबुल मियाँ चाहियो ।’

उनले सोधे,’ किन चाहियो ?’

मैले आफ्नो कुरा बिचतिर के पुर्‍याएको थिएँ, उनले बीचैमा मलाई भने, ‘मेरो रोल तिमीले मकबुल मियाँलाई दिन लाग्या त होइन नि कुमार ?’

मैले ‘होइन’ भनें र थपें, ‘तपाईंहरू दुई जना पुराना दिनका साथीहरूलाई नेपाली दर्शकहरूले एउटै फिल्ममा देख्न पाएजस्तो हुन्थ्यो ?’

‘गज्जब हुन्थ्यो,’ उनले हौसिँदै भने, ‘लु कुमार ! मकबुल मियाँलाई म फोन गरिहाल्छु । फिल्मको स्क्रिप्ट लेख्दै गर । दामी कुरा सुनायौँ । यसै खुसियालीमा एक पेग खाऊँ कि क्या हो !’

‘खानुस्, खानुस्,’ मैले भने,’ मकबुल मियाँसित कुरा गर्न चैँ नबिर्सनुस् ।’

पोखराको एकमहिने बसाइमा स्क्रिनप्लेको पहिलो ड्राफ्ट लेखिसिध्याएर म काठमाण्डू फर्कें । सुनील पोखरेललाई भेट्न जाँदा उनले दिलखुश पारिदिए, ‘मकबुल मियाँसित मेरो कुरा भइसक्या’छ । हामी एउटै फिल्ममा सँगै काम गर्ने भएपछि ऊ निकै खुसी भा’छ । बरु कुमार, फिल्मको कुनै दृश्यमा हामी दुवैलाई एउटै फ्रेममा राख्न मिल्दैन ?’

मैले भने, ‘मिल्दैन ।’

‘सो ब्याड, कुमार !,’ उनी थकथकाए । र लगत्तै भने, ‘खैर, ठीकै छ । तिम्रो फिल्मको सुटिङ कहिलेदेखि हुन्छ ? म त्यहीअनुसारको चाँजोपाँजो मिलाउँछु ।’

त्यो फिल्मको सुटिङ कहिल्यै भएन ।

किन भएन ? हाललाई त्यता नजाऔँ । सुनील पोखरेलले केही काल मसित सोधिरहे, ‘मकबुल मियाँलाई म काठमाण्डू कहिले बोलाऊँ ?’

एक दिन मैले उनलाई फिल्मको असामयिक निधनबारे बताएँ । मेरो फिल्मको दास्तान–ए–मौत सुनेर उनी केही खिन्न भए ।

सान्त्वनाको लवजमा उनले भने, ‘अफसोच नमान कुमार । मकबुल मियाँलाई म फ्यामिली गेट–टु–गेदरमा काठमाण्डू बोलाउँछु। ऊसित भेट नभएको पनि वर्षौं भयो । ऊ यहाँ आएको बेला तिमीसँग भेट गराइदिन्छु । त्यसै बेला उसले बोल्ने तिम्रो फिल्मको डाइलग उसैलाई दिनू । आधा घण्टाभित्रै उसले सबै डाइलग कण्ठ गरिसक्नेछ । तिमी त्यसलाई ह्यान्डिक्यामले खिचेर राख्नू, भैगो नि !’

नट अ ब्याड आइडिया !

‘एक दिन तिम्रो लागि छुट्याउँला,’ उनी आशावादी देखिए, ‘तिमी सुटिङ बरु कहाँ गर्न चाहन्छौ भन । अनि तिमीसँग ह्यान्डिक्याम त छ नि ?’

‘छ । जाबो एउटा ह्यान्डिक्याम पनि किन नहुनु !,’ मैले झुटाे बोलेँ ।

अब एउटा ह्यान्डिक्याम किन्नुपर्ने भयो । पत्नीसित पैसा सापटी माग्दा उसले भनी, ‘भाइले विदेशबाट पठाइहाल्छ नि ! भाइलाई भन्नुस् ।’

भाइलाई भनें । उसैले पठाइदियो ।

त्यसपछि सुनील पोखरेलको फोनको प्रतीक्षा गर्न थालें । नभन्दै एक दिन उनको फोन आयो । फोनमा उनले काँतर आवाजमा भने, ‘मकबुल मियाँको स्वास्थ्य खराब भएछ कुमार । उसलाई अस्पताल भर्ना गर्नुपर्लाजस्तो छ रे ! केही दिनअघि सुतपा (मकबुल पत्नी) सित कुरा भएको थियो । मेरो साथीको हेल्थ निकै नै क्रिटिकल भएजस्तो छ कुमार !’

समय आफ्नै गतिमा चल्यो । मकबुल मियाँको रोग र अवस्थाबारे समाचाहरू पढिरहेँ । उनी घर –अस्पताल, घर–अस्पताल भइरहे । उनलाई प्रेम गर्ने विश्वका सम्पूर्ण शुभचिन्तकहरूले उनको स्वास्थ्यको कामना गरे । तर उनी निको भएनन् । अन्ततः २९ अप्रिल २०२० का दिन, त्रिपन्न वर्षको उमेरमा COLONIN FECTION का कारण उनको देहान्त भयो ।

संयोग नै मान्नुपर्छ । त्यो दिन म पोखरामा थिएँ । उनको निधन भएको दृश्य– समाचार लेखक साथी गनेस ‘पैताला’ पौडेलको टीभी स्क्रिनमा देखेर म स्तब्ध भएँ । यसरी पोखराबाट सुरु भएको मकबुल मियाँ र मेरो कथाको अन्त्य पोखरामै भयो ।

सुनील पोखरेल र मकबुल मियाँको पारिवारिक गेट–टु–गेदर हुन पाएन । उक्त ग्यादरिङमा ह्यान्डिक्याम लिई उपस्थित हुने मेरो सपना फगत सपना नै रह्यो ।

ह्यान्डिक्याम र स्क्रिनप्ले मसितै छन् । केवल मकबुल मियाँ छैनन् । कहिलेकाहीं स्क्रिनप्लेको त्यो ओपनिङ–दृश्य म आफैँ पढ्ने गर्छु र जोडजोडले उच्चारण गर्छु, ‘I AM DEATH AND I’M THE NARRATOR OF THIS FILM !’

मेरो फिल्मको न्यारेटर जीवनको रंगमञ्चबाट बिदावारी भई गइसकेको छ ।

सुबह की ट्रेन से
कुछ यादे चले गए है ।

सोच्ता हुँ,
मे भी किसी
स्त्री की कोख मे चला जाउँ ।

साइकलको ट्रिङ–ट्रिङ घण्टी
म बस्ने घरको छतबाट तपाईंले गुलेली ताकेर हान्नुभयो भने बालकुमारी मन्दिरको गजुरमा घाम तापेर बस्ने परेवाहरूमाथि मट्याङ्ग्रा खस्नेछ । निशाना चुकेको खण्डमा त्यो मट्याङ्ग्रा त्यही मन्दिरमा पूजाआजा गर्ने पुजारीउपर बज्रनेछ ।

बज्रनेछ होइन–क्षमा गर्नुस्–बज्रने थियो । किनभने केही दिनअघि मात्र पूजारीकाे मृत्यु भइसकेको छ ।
धन्दा नमान्नुस् । उनको मृत्यु तपाईंको मट्याङ्ग्रा प्रहारबाट भएको होइन । उनको प्राण हरेको हो हृदयाघातले । जगजाहेर छ, कसैकसैको हृदय निकै घाती हुन्छ । राति अच्छा खासा सुतेको मान्छे निद्रामै चट हुन्छ ।

राजेश कर्माचार्य पनि निद्रामै चट भए ।

उनी अन्दाजी ५३ वर्षका हुँदा हुन् । मोटाघाटा, फर्सिलो ज्यान भा’का । उनलाई मैले लालवस्त्रबाहेक अरु रङको परिधानमा कहिल्यै देखिनँ । पैतालादेखि टुप्पीसम्म उनी लाल थिए । कमिज र प्यान्ट या धोती त लाल भइहाले, उनले घाँटीमा लगाउने गम्छा पनि लाल हुन्थ्यो । उनको जुत्ता त लाल हुन्थ्यो नै, टोपीसमेत लाल हुन्थ्यो । काँसम्म भने पछिल्लो समय उनले नाक मुखमा धारण गर्ने मास्क पनि लाल हुन्थ्यो ।

तपाईंलाई लाग्न सक्छ, यति विघ्न लाल भएको मान्छे त अवश्य पनि लाल कमरेड हुनुपर्छ, जो लाल क्रान्ति गर्न हिँडेको छ ।

लाल कमरेड होइन, तिनी त बालकुमारी मन्दिरका पूजारी थिए, जसलाई मैले विगत १३ वर्षदेखि देख्दै आएको थिएँ, पाटनका गल्लीहरूमा । उनकै मातहतमा मैले बालकुमारी मन्दिरमा विवाह गरेको थिएँ ।
मजस्तो खानाबदोस टाइपको हरफनमौला जोगीको विवाहमा आशीर्वाद दिने ती पुजारी एक रात हलुवा-पुरी खाएर सुते र सुतेका सुत्यै भए ।

उनको एउटा साइकल थियो । ह्यान्डलमा बास्केट जडान गरिएको । त्यो बास्केटमा उनी पूजाका सामग्रीहरू राख्थे । कहिलेकाहीँ त्यो बास्केटबाट फूल निकालेर उनी मलाई दिन्थे । प्रातः रमणमा निस्कँदा उनीसित कहीँ–न–कतै जम्काभेट भइहाल्थ्यो ।

मुस्कुराएर हामी अभिवादन गर्थ्याैं:

– तारेमाम !
– तारेमाम, तारेमाम !!

मेरो पोशाकका कारण उनी मलाई टाढैबाट चिन्थे । नजिक आएपछि उनी साइकलको घन्टी बजाउथे, ट्रिङ–ट्रिङ । त्यो घण्टीको आवाज मलाई खुब मन पर्थ्याे । मलाई देखेपछि घण्टी बजाउने आइडिया वास्तवमा उनलाई मैले नै दिएको थिएँ ।

भनेको थिएँ, ‘मलाई जहाँ–कहीं देखे पनि साइकलको घण्टी बजाउनुहोला ल ! तपाईंको घण्टीले मलाई परमात्माको याद दिलाउँछ ।’

अब म हिँड्ने बाटाहरूमा, पाटनका तान्त्रिक गल्लीहरूमा साइकलको त्यो घण्टी बज्ने छैन । मलाई आइन्दा परमात्माको याद पनि आउने छैन । किनभने परमात्मा स्वयम् साइकलको ट्रिङ ट्रिङ घण्टी बजाउँदै पराजगत्‌तिर प्रस्थान गरिसकेका छन् । म मात्र यतै–कतै नर्कमा छुटेको छु ।

जिन्दगी
चन्द दिनोका मेहमान था
कब्र मे फिर से लौट गया है ।

कुछ सपने भी थे मेरे
अब राहगिरो के हमसफर बन गए है ।

सब–के–शव चले गए है

सोच्ता हुँ, मै भी किसी
स्त्री की कोख मे चला जाउँ ।

तपाईको प्रतिक्रिया