नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले सोमबार ‘रेड वाइन’ नामक चलचित्र साइन गरिन् । उनले, लकडाउनपछि साइन गरेको यो दोश्रो चलचित्र हो । यसअघि उनले नायक मनिष राउत, नायिका आना शर्माको पनि मुख्य भूमिका रहने एक चलचित्र साइन गरिसकेकी छिन् ।

नायिका शाहलाई चलचित्र ‘हुतुतु’का लागि पनि अफर गरिएको चर्चा चलचित्र बजारमा छ । गतबर्ष साम्राज्ञी अभिनित २ चलचित्र ‘मारुनी र रातो टिका निधारमा’ रिलिज भए । दुबै चलचित्र बक्स अफिसमा पछारिदा साम्राज्ञीको क्रेज कमजोर बनेको टिप्पणी भयो ।

यो बर्ष नायक भूवन केसीसँगको विवादपछि साम्राज्ञीलाई निर्माताले अब पत्याउँदैनन् भन्ने खालका विश्लेषण पनि भए । तर, साम्राज्ञीलाई चलचित्रको अफरमा भने कुनै कमी देखिएको छैन । उनले, सोमबार साइन गरेको चलचित्र ‘रेड वाइन’का लागि १२ लाख पारिश्रमिक लिएको वुझिएको छ । यो चलचित्रको सम्पूर्ण छायांकन अमेरिकामा हुनेछ ।

साम्राज्ञीले गत बर्ष काम गरेका दुई चलचित्र ‘मारुनी र रातो टिका निधारमा’मा पनि १० लाख माथि नै पारिश्रमिक लिएकी थिइन् । यसरीहेर्दा, निर्माताले अझै पनि उनीमाथि भरोसा गरेको देखिन्छ ।

साम्राज्ञीले चलचित्र ‘ड्रिम्स’मा काम गरेपछि क्रेज बनाएकी हुन् । पहिलो चलचित्र नै हिट भएपछि स्टार बनेकी साम्राज्ञीले अभिनय गरेको दोश्रो चलचित्र ‘ए मेरो हजुर २’ पनि चल्यो । तर, यसपछि उनले काम गरेका कुनै पनि चलचित्रले बक्स अफिसमा सुखद नतिजा दिएका छैनन् ।

तर, पनि साम्राज्ञीमाथि निर्माताले अझै पनि विश्वास र भरोसा मात्र राखेका छैनन् उनीमाथि महंगो रकम पनि लगानी गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया