काठमाडौं- बेलायतका पूर्वराजकुमार ह्यारीले नेपालीको तारिफ गरेका छन् । कोरोनाभाइरसको महामारीका बावजुद् पनि नेपालीहरूको आत्मबल बलियो रहेको भन्दै उनले तारिफ गरेका गरेका हुन् ।

ट्रेलवाकर युकेले १०० किलोमिटर लामो परोपकारी रिले दौडबारे जारी गरेको एक भिडिओमा ३६ वर्षीय ह्यारीले नेपालीहरूको तारिफ गरेका छन् । यो रिले दौडबाट उठेको रकम अक्सफाम र द गोर्खा वेलफेयर ट्रस्टलाई दिइनेछ। ह्यारीले कोरोना महामारी र सन् २०१५ को भूकम्पलाई जोडेर नेपालीहरू एकअर्काको दुःखलाई आत्मसात् गर्ने स्वभावका भएको भन्दै तारिफ गरेका हुन्।

तारिफ गर्दै उनले भने, ‘करिब ५ वर्षअघि मैले नेपालका विभिन्न समुदायमा भ्रमण गर्न, परिवारहरूलाई भेट्न र राज्यले भूकम्पपछि कसरी पुनर्निर्माणको काम गरिरहेको छ भन्ने आफ्नै आँखाले देखेको थिएँ। भवन, मन्दिर, घर र सम्पूर्ण गाउँ पूर्ण रूपमा ध्वस्त भएको थियो। तर, यो स्पष्ट थियो कि नेपालीहरूले सामना गर्नु परेको विपद्का बावजुद् पनि उनीहरूको आत्मबल र फेरि पुरानै लयमा फर्किने शक्ति कहिले कमजोर भएन।’

सन् २०१५ को भूकम्पमा आठ हजार बढी नेपालीले ज्यान गुमाएका थिए भने कयौं घरविहीन भएका थिए। यी दुई संस्थाले विश्वव्यापी स्वास्थ्य संकटको बेला संघर्ष गरिरहेका नेपालीहरूको लागि सहयोग गर्न मिसन जारी गरेको हो। उनीहरू एकअर्काको हेरचाह गर्थे र आपसमा दयाको भाव थियो, भिडिओमा ह्यारीले भनेका छन्।

अहिले विश्वलाई नै कोरोना भाइरसको महामारी चुनौती बनिरहेको बेला नेपालीहरूले फेरि एक पटक आत्मबल उच्च बनाएको आफूले हेर्न चाहेको उनको भनाई छ । अक्सफाम र द गोर्खा वेलफेयर ट्रस्टले नेपालीमा पिपिई, हात धुने सामग्री र सार्वजनिक शिक्षामा सहयोग गर्नको लागि आर्थिक सहयोग जुटाइरहेका छन्।उनले उक्त भिडिओमा ट्रेल वाकर रिले दौडमा सहभागी हुनेलाई धन्यवादसमेत दिएका थिए। यो रिले दौड कोरोनाभाइरस महामारीको बीच भर्चुअल रूपमै हुने बताइएको छ।

तपाईको प्रतिक्रिया