विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजले सरकारले तोकेको भन्दा सस्तो मूल्यमा कोरोना भाइरसको पीसीआर परीक्षणा गरिरहेको भन्दै भ्रम छरेको पाइएको छ ।

सरकारले पीसीआर परीक्षणको शुल्क २००० रुपैयाँ तोकेको नोबेलले देशमै सबैभन्दा सस्तो १ हजार ५५० मा कोरोना परीक्षण थालेको प्रचार गरेको थियो । तर, सस्तोमा नोबेल अस्पतालमा पीसीआर परीक्षण गराउनेसँग उसले २ हजार रुपैयाँ असुलिरहेको पाइएको छ ।

नोबेलमा पीसीआर परीक्षण गर्न जानेलाई उसले पीसीआर परीक्षण भन्दै १ हजार ५५० रुपैयाँकै रसिद काट्न लगाउने गरेको छ । तर, त्यसबाहेक स्वाब संकलन शुल्क भन्दै थप ४५० रुपैयाँको रसिद काटेपछि मात्र पीसीआर परीक्षण गर्ने गरेको छ । यसरी सस्तो परीक्षण गरिरहेको प्रचार गरेर नोबेलले सरकारले तोके बराबरकै शुल्क लिएको पाइएको छ ।

सरकारले तोकेको पीसीआर परीक्षणको शुल्क स्वाब संकलनदेखि रिपोर्ट प्रिन्ट गर्दासम्मको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर, नोबेलले भने सस्तोमा परीक्षण गरिरहेको गलत प्रचार गरेर कोरोनाको महामारीको बेला पनि शंकास्पद विरामीलाई आफ्नो अस्पतालसम्म ल्याएर व्यापार बढाउने नियत राखेको पाइएको छ ।

सुनसरीको गढी गाउँपालिकाका ४७ वर्षीय एक पुरूषलाई पेटमा समस्या भएपछि नोबेल अस्पताल आएका थिए । आकस्मिक कक्षमा भर्ना भएका उनलाई पीसीआर परीक्षण गर्न अस्पतालले भन्यो । मंगलबार आकस्मिक कक्षछेउमा रहेको काउन्टरमा गएर उनका आफन्तले १५ सय ५० रुपैयाँ पीसीआर र ४ सय ५० रुपैयाँ स्वाब संकलन गरि २ हजार रुपैयाँ बुझाएपछि मात्र स्वाब संकलन भयो । सस्तोको भ्रम मात्र छरेको उनले त्यसबाट छर्लङ्ग भए ।

‘देशभरीमै सस्तोमा पीसीआर परीक्षण हुन्छ भनेको सुनेर नोबेल अस्पताल आएको थिए,’ आकस्मिक कक्ष बाहिर काउन्टरमा भेटिएका ती विरामीले भने, ‘यहाँ पनि स्वाब परीक्षणकोे रिपोर्ट लिन २ हजार रुपैयाँ नै तिर्नुपर्दो रहेछ । देशभरीमा सस्तोमा पीसीआर परीक्षण हुदैछ भनेर गरेको प्रचार त विरामी झुक्याउन गरिएको हल्ला मात्र रहेछ ।’ ती विरामीको रिपोर्ट रातिसम्ममा आउने अस्पतालले जनाएको छ ।

नोबेलले मुलुककै सस्तोमा पीसीआर परीक्षण गरिने भन्दै कोरोना परीक्षणका लागि दुई वटा अत्याधुनिक पीसीआर मेसिन ल्याएको जनाएको छ । दुई वटा पीसीआर मेसिन भएकाले एक दिनमा २ हजारसम्म स्वाब परीक्षण गर्ने नोबेलका वरिष्ठ ल्याब अधिकृत गणेशकुमार सिंहले बताउनुभयो । स्वाबको रिपोर्ट आउने ४ देखि ६ घण्टा लाग्ने उहाँको भनाइ छ ।

नोबेलका प्रबन्धक नारायण दाहालले दशेभरीमै सस्तो मूल्यमा पीसीआर परीक्षण गरिरहेको दावी गर्नुभयो । नोबेलले तोकेको परीक्षण शुल्क अन्य निजी प्रयोगशालाको भन्दा र सरकारले तोकेको भन्दा पनि कम रहेको उहाँको भनाइ छ । नोबेलले प्रयोगशाला सञ्चालन गरेको २ दिनमा ८० जनाको परीक्षण गरिसकेको जनाएको छ ।

विराटमा २६ देखि ४ हजार रुपैयाँ शुल्क
विराटनगरमै पीसीआर मेसिन ल्याएर परीक्षण थालेको मोरङको बुढीगंगा २ टंकीसिनवारीस्थित विराट मेडिकल कलेजले भने तीन तहको शुल्क निर्धारण गरेको छ । उसले पीसीआर परीक्षण शुल्क भन्दै १ हजार ९९९ रुपैयाँ लिएर त्यसमा अतिरिक्त ‘सुरक्षा सावधानी शुल्क’ लिने गरेको छ ।

बिराट मेडिकल कलेजका पीसीआर ल्याब प्रमुख प्रमेशराज देवकोटाले सरकारले तोकेको शुल्कमा पीसीआर भएपनि अन्य सुरक्षा सवाधनीको शुल्क छुट्टै लाग्ने बताउनुभयो । विराटले अस्पतालमा भर्ना भएका विरामीले पीसीआर परीक्षणको लागि १ हजार ९९९ रुपैयाँ र स्वाब संकलन तथा सुरक्षा सामाग्रीको शुल्क थप ६ सय रुपैयाँ बुझाउनुपर्छ ।

विराटले लक्षण नदेखिएइका र तुरुन्त रिपोर्ट दिनुपर्नेहरुसँग भने ४२ सय रुपैयाँ शुल्क लिने गरेको छ । जबकी विराटनगरकै कोशी अस्पतालले २ हजार रुपैयाँ शुल्क लिएर स्वेच्छिक कोरोना परीक्षण गरिरहेको छ ।

विराटनगरका न्यूरो अस्पताल, नोबेल र विराट मेडिकल कलेजले संघीय सरकारबाट पीसीआर प्रयोगशाला सञ्चालनको स्वीकति पाएका छन् । न्युरोले भने परीक्षण शुल्क तोकिसकेको छैन । निजी अस्पताल र प्रयोगशालाहरुसँगको समन्वयमा शुल्क तोक्ने न्युरो अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया