नेपाली फिल्ममा करिश्मा मानन्धर जति सफल अभिनेत्री सम्भवतः अरु छैनन् । ९० को दशकमा उनी निर्विकल्प अभिनेत्री झैँ थिइन् । उनको अनुहार पोस्टरमा राखे फिल्म सफल हुने विश्वास निर्माता तथा निर्देशकमा थियो । २०४२ सालमा बनेको फिल्म ‘सन्तान’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले हिन्दी फिल्म ‘दंगा फसाद’ मा समेत आफ्नो अभिनय कला प्रस्तुत गरिसकेकी छन् ।

पछिल्लो पटक फिल्म ‘हिरोज्’ मा देखिएकी करिश्मा मानन्धर केही वर्षयता अभिनयभन्दा अध्ययनमा बढी व्यस्त छिन् । १४ वर्षको उमेरमा कक्षा ८ मा पढ्दै गर्दा ‘सन्तान’ फिल्ममा अभिनय गरेपछि उनले अध्ययनलाई निरन्तरता दिन सकेकी थिइनन् । करिब तीन दशकपछि उनी आफ्नो पढ्ने इच्छालाई पूरा गरिरहेकी छन् । एसइई उत्तिर्ण भएर अहिले उनी कक्षा ११ मा भर्ना भएकी छन् ।

करिअरको उत्कर्षमा रहँदा करिश्मालाई फिल्ममा खेलाउन निर्माता-निर्देशक झैँ ठूला कम्पनीबीच पनि ब्रान्डको प्रवद्र्धनका लागि विज्ञापनमा उनलाई लिन हानाथाप गर्थे । यसको एउटा गतिलो प्रमाण हो, नेविको बिस्कुट । २०४२/४३ सालतिर एक स्टूडियोमा करिश्माको फोटोसुट भइरहेको थियो । खाजा खाने समयमा निर्माण नियन्त्रक गेहेन्द्र धिमालले उनलाई नेविको बिस्कुट दिए ।

करिश्मा मानन्धरले चियासँग बिस्कुट खाइरहेको बेला फोटोग्राफर भीम रानाले उनलाई पोज दिन आग्रह गरे । करिश्माले पनि नेविको बिस्कुट टोक्दै मन्द मुस्कानका साथ पोज दिइन् । यो फोटो सम्झनाका लागि खिचेको हुनसक्ने अनुमान उनले लगाएकी थिइन् । तर, केही समयपछि उनको अनुमति बिना नै नेविको बिस्कुटले उक्त तस्विर प्रयोग गरेर पत्रपत्रिकामा विज्ञापन नै छाप्यो ।

निर्देशक सुव्रत आचार्यले फेसबुकमा नेविको बिस्कुट अहिले पनि पाइन्छ ? भनेर सोधेको एक पोस्टमा करिश्माले यो बिस्कुटको विज्ञापनमा आफ्नो तस्विर आउनुको कारण खुलाउँदै लेखेकी छन्, ‘विज्ञापन आएपछि मैले धिमाल दाईको घरमै गएर दाई यो त विज्ञापन रहेछ खोइ मेरो पारिश्रमिक भनेर लिएरै छाडेँ ।’ नेविको बिस्कुटले उनको तस्विर वर्षौसम्म पनि प्रयोग गरेको थियो ।

तपाईको प्रतिक्रिया